
२३ पुस, इनरुवा । सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई फराकिलो रन अन्तरले पारजित गरेको छ ।
प्रतियोगिता अन्तर्गत बुधवारदेखि शुरु भएको समुह बि को पहिलो खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई २ सय ६७ रनको अन्तरले हरायो ।
नेपाल पुलिस क्लबले दिएको ३ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशले २७.१ ओभरमा सबै विकेट गुमाएर ७९ रनमा अलआउट भयो ।
कर्णाली प्रदेशको लागि राज शाहले सर्वाधिक २३ रन बनाए भने टेक सलामीले १४, हेमन्त ओली र दिवान पुनले समान १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीलाई अलआउट गर्न पुलिसका लागि ललित भण्डारी, मन्जित श्रेष्ठ र सागर ढकालले २/२ विकेट लिए । यस्तै दिपेन्द्र ऐरी, पवन सर्राफ, ललित राजबंशी र कुशल भुर्तेलले समान १ विकेट लिए ।
त्यसयस अघि टस जितेर कर्णाली प्रदेशले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४९.३ ओभरमा सबै विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो।
पुलिसको लागि कुशल भुर्तेलले सर्वाधिक ७८ रन बनाए । उनले ४९ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै सुनिल धमलाले ७० रन बनाए । उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे । दिपेन्द्र ऐरीले २५, अनिल साहले ३६, दिलिप नाथ र पवन सर्राफ समान १५ रन, मन्जित श्रेष्ठ १८ रन बनाए ।
कर्णाली प्रदेशका लागि रविन्द्र जंग शाहीले सर्वाधिक ३ विकेट लिए । यस्तै युनिष सिंह र राज शाहले २/२ विकेट लिए।
पुलिसका कुशल भुर्तेल खेलको प्लेयर अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत बिहिबार कर्णाली प्रदेश र प्रदेश नम्बर-२ बीच खेल हुनेछ ।
प्रतियोगिता अन्तर्गत यस अघि सम्पन्न समुह ‘ए’ र ‘सी’ को खेलहरुबाट त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर-३ टिम सेमीफाइनल प्रवेश गरिसकेका छन् ।
प्रतिक्रिया 4