Comments Add Comment

ए डिभिजन लिगमा आज दुई खेल, आर्मीलाई शीर्ष स्थानमा उक्लने मौका

२४ पुस, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी शहीद स्मारक ए डिभिजन लिगको उपाधि दाबेदारमध्ये एक टोली हो । पहिलो तीन खेलमा आर्मीले सोचे जस्तो प्रदर्शन गर्न सकेन । तर निलम्बन अवधी सकाएर मिडफिल्डर सन्तोष तामाङले पुनरागमन गरेको खेलमा आर्मीले थ्री स्टारमाथि २-० को जित हातसिल गर्‍यो । यसले आर्मीको मनोबल पनि बढाएको छ ।

पहिलो खेलमा फ्रेण्ड्सविरुद्ध २-१ को संघर्षपूर्ण जित हात पारेको आर्मी दोस्रो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो । तेस्रो खेलमा हिमालयन शेर्पालाई २-० ले हराएको थियो । आर्मीले चार खेलबाट ९ अंक जोडेको छ । अहिले चौथो स्थानमा रहेको आर्मी यस सिजन शीर्ष स्थानमा पुग्न सकेको छैन । अब आर्मीलाई त्यो मौका छ ।

अर्कोतर्फ लगातार चार खेल हारेर अंकविहीन रहेको सरस्वती युथ क्लबसँग आर्मीले बिहीबार खेल्नेछ । खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । उक्त खेलमा विजयी भए आर्मी १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लेछ । ५ खेल खेलिसकेको मनाङ ११ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलबाट १०-१० अङ्क जोडेका मछिन्द्र क्लब र थ्री स्टार क्लब क्रमश: दोस्रो र तेस्रोमा छ ।

सरस्वतीलाई हराए आर्मी एक अंकको अग्रतासहित शीर्ष स्थानमा पुग्नेछ ।

बिहीबारै दिउँसो १२ बजे शुरु हुने खेलमा संकटा क्लब र एपीएफ भिड्दैछन् । गत सिजन उपविजेता भएको सङ्कटाले यस सिजन सोहीअनुसार प्रदर्शन गर्न सकेको छैन । उता एपीएफले पनि चौथो चरणमा पुगेर बल्ल पहिलो जित हात पारेको थियो । यस सिजन दुवैले एक-एक खल मात्र जितेका छन् । दुवैको समान ४ अंक छ । त्यसैले आजको खेलमा राम्रो नतिजा ल्याउ अंक तालिकामा सुधार गर्ने लक्ष्यमा दुवै टिम छ । गोल अन्तरमा अघि रहेको एपीएफ १०औं स्थानमा छ भने संङ्कटा ११औं स्थानमा छ ।

आजको खेल जित्ने क्लब सातौं स्थानमा उक्लनेछ । बराबरीले भने अंक तालिकामा फेरबदल हुने छैन ।

आजका दुई खेलपछि लिगमा पाँचौ राउण्डसम्मको खेल सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment