Comments Add Comment
आजका पत्रपत्रिका :

बालुवाटार जग्गा हिनामिना प्रकरणबारेको छानबिनमा मन्त्रालयकै असहयोग

२५ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूको प्राथमिकतामा विविध विषय परेका छन् ।

नागरिकले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणबारे भइरहेको छानबिनमा मन्त्रालयले नै असहयोग गरेको लेखेको छ । यसबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णयको फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग मागेको थियो । तर, यो फाइल नदिएर मन्त्रालयका उच्च अधिकारीले असहयोग गरेको नागरिकले लेखेको छ ।

नागरिक लेख्छ– सीआईबीले सो निर्णयको प्रतिलिपि र उक्त कार्यमा संलग्न कर्मचारीको विवरणसहितको फाइल उपलब्ध गराउन पटकपटक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ताकेता गरेको छ । तर मन्त्राललयका उच्च पदाधिकारीले अटेर गर्दै आएका छन् ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवार अधिकारीहरू फाइल आफूहरूसँग नभएको भन्दै पन्छिने गरेको समाचारमा उल्लेख छ ।

नागरिकका अनुसार, यही कारण सीआईबीले अनुसन्धानको अन्तिम प्रतिवेदन तयार गर्न सकेको छैन ।

छाता ओढेर कक्षामा

छाता ओढेर कक्षा लिन बाध्य विद्यार्थीको कथा पनि आजकाे नागरिकले छापेको छ ।

रोल्पा नगरपालिकासँग सिमाना जोडिएको रुटीगढी गाउँपालिका–१, जेदवाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रिट्ठाबोटका विद्यार्थी छाता ओढेर कक्षा लिन बाध्य भएका हुन् । विद्यालय कक्षाकोठा चुहिने भएपछि विद्यार्थीले छाता ओढेर कक्षा लिने गरेको नागरिक समाचारमा उल्लेख छ ।

तनहुँ हाइड्रोमा एडीबीको हस्तक्षेप

तनहुँ हाइड्रोको ठेक्काबारे अन्नपूर्णले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार निर्माण सुरु भइसकेको जलाशययुक्त यो आयोजनाको पुनः ठेक्का प्रक्रियामा एसिलायी विकास बैंकले हस्तक्षेप गरी रद्द गरेको छ ।

अघिल्लो वर्ष निर्माण सुरु भएको आयोजनाको पहिलो प्याकेजको ठेक्का रद्द भएपछि लागत र निर्माण सम्पन्न हुने तालिका प्रभावित भएको समाचारमा उल्लेख छ ।

नेकपामा संविधान संशोधन बहस सुरु भएको, खाडी द्वन्द्वबारे नेपालले धारणा सार्वजनिक गरेको लगायत विषय पनि अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

कान्तिपुरले आफ्नै आयोजनामा बिहीबार भएको इकोनोमिक समिटबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार सत्तारूढ दलका नेता र सरकारका उच्च अधिकारीले निजी क्षेत्रको मनोबल टुट्न नदिने प्रतिबद्धता जनाएका छन् ।

र, यो पनि– कस्तूरी पाल्नुस्, बिना बेच्नुस्

बिना बेच्नका लागि अब कस्तूरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेका बेला अब जंगली जनावर कस्तूरीलाई नै पालेर त्यसबाट फाइदा लिन सकिने भएको छ ।

कारोबारका अनुसार कस्तूरी पाल्नका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आह्वान गरेको छ । आफ्नो संरक्षण क्षेत्रभित्र कस्तूरी पाल्न चाहनेलाई उसले कस्तूरी नै उपलब्ध गराउने भएको छ ।

कस्तूरीको मूल्य लाखौं रुपैयाँ पर्ने भएकाले यसको चोरी तथा सिकारी हुने गरेको छ । एउटा कस्तूरीले वर्षमा २० तोलासम्म बिना उत्पादन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment