+
+
Shares

बालबालिकाको रिस, अभिभावकको द्विविधा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते ११:३१

हिजोआजका बालबालिकाहरुलाई कुनै कुरा सम्झाउँदा अथवा उनीहरुले कुनै कुरा बिगारे भनेर हल्का कराउँदा उनीहरु धेरै दिनसम्म आफ्नो अभिभावकहरुसँग नबोल्ने, खाना नखाने, आफ्नो कोठामा ढोका लगाएर बस्ने र यहाँसम्म कि कसैले गाली सहन नसकेर आत्महत्या नै गर्ने गरेको समेत पाइएको छ ।

केही समय अगाडि एक १० वर्षीय बालकले आफ्नो स्कूलमा शिक्षिकाले आफूलाई आफ्ना साथीहरुलाई जस्तै माया नगर्ने र घरमा पनि आमाबुबाले आफूलाई त्यति माया नगर्ने भनेर चिठ्ठी लेखेर नै आत्महत्या गरेका थिए । त्यस्ता धेरै घटनाहरु हिजोआज समाचारहरुको हेडलाइन बन्ने गरेका छन् । बालबालिकालाई आफूले भनेको कुरा नपुग्दा, साथीभाइहरुका अगाडि आफ्नो बेइज्जत भएको अनुभव गर्दा, घरपरिवारमा सानो मनमुटाव हुँदा गरिएको गालीका कारण आत्महत्या जस्तो जघन्य अपराधलाई रोज्ने गर्छन् ।

यस प्रकारको घटनाहरुले आजका युवा र किशोर बालबालिकाहरुको मनमा चलेको आँधीबेरी र अभिभावकप्रतिको बिद्रोहको भावनाहरुको खुलासा गर्छ । यस्ता घटनाहरु केवल एक दिनको रिस, गाली अथवा तनावका कारण हुँदैन । यस्ता घटना त धेरै दिनदेखि मनमा उत्पन्न भएका हुन्छन् । आफ्नो अभिभावकप्रतिको लामो समयदेखिको रिसको भावनाहरु र विभिन्न किसिमका तनावहरुलाई एक दिनको गालीले त्यसमा आगो लगाउने काम गर्छ ।

केही महिनाअघि एक दश वर्षीय बालकले आत्महत्या गर्नुको पछाडि उनलाई उनका बुबाले गाली गर्नु मात्र प्रमुख कारण नहुनसक्छ । बरु, उनको मनमा धेरै दिनदेखि चलिरहेको अन्र्तद्वन्द्वले मुख्य भूमिका निर्वाह गरेको हुनुपर्छ । बुबाको व्यवहारप्रति लामो समयदेखिको चित्त दुखाईको भावना पनि हुनुपर्छ । परिणाम के भयो भने बुबाको एउटा सानो गालीले नै उनलाई आत्महत्या जस्ता जघन्य अपराध गर्न बाध्य बनायो ।

बालबालिकाहरु आफ्ना अभिभावकसँग रुष्ट हुनुमा अभिभावकहरुको मात्र दोष हुन्न न त बालबालिकाहरुकै दोष हुन्छ । एउटा पिताले जबसम्म आफ्नो बच्चाको जिन्दगी उसैको हो भन्ने कुरा स्वीकार गर्दैनन् । भविष्यको जिम्मेदारी पनि उसैको भन्ने कुरामा बुझ्दैनन् । तबसम्म यो समस्या समाधान नै हुँदैन । अभिभावक हुनुका नाताले बुबा अथवा आमाले बच्चाहरुलाई सही दिशा देखाउन सक्छन्, उनीहरुलाई सम्झाउन सक्छन् । तर, उनीहरुको जिन्दगीमा आफ्नो नियन्त्रणमा राख्न सक्दैनन् ।

त्यसैले बालबालिकाहरुलाई आफ्नो जिन्दगी उनीहरुकै हिसाबले बाँच्न दिनुपर्छ । उनीहरुलाई एउटा अभिभावकको रुपमा आफ्नो हिसाबले चलाउने प्रयास नगर्दा नै राम्रो हुन्छ । उनीहरुलाई आफ्नो निर्णय आफैंले लिने मौका प्रदान गर्नुपर्छ । उनीहरुमाथि कठोर अनुशासन थोपर्नुको साटो कहिलेकाहीँ धक्का-मुक्का खान दिनुपर्छ । ताकि उनीहरु आफ्नो गल्तीबाट आफैंले केही कुरा सिकून् ।

कहिलेकाहीँ उनीहरुको भावनालाई बुझ्ने प्रयास गर्नुपर्छ । उनीहरु आजको समयका हुन् । उनीहरुको सोचलाई प्रारम्भमै नकार्नु हुँदैन । बरु समयसँगै अगाडि बढ्न दिनुपर्छ । सही-गलतको सामान्य अन्तरलाई भने बुझाउनुपर्छ । तर, उनीहरुलाई उनीहरुकै तरिकाले बाँच्नबाट रोक्नु हुँदैन । अन्यथा, एउटा असन्तुष्टिको भावनामा गहिरिँदै जान्छ ।

अमेरिकामा गरिएको एउटा अध्ययन अनुसार ११ देखि १२ वर्ष उमेरका बच्चाहरुका अभिभावकहरु सबैभन्दा एक्ला तथा चिन्तित पाइएका छन् । त्यो उमेरमा अर्थात् टिनएजको प्रारम्भमा आमाले आफ्ना सन्तानका कारण सबैभन्दा बढी तनावले गुज्रनु परेको छ । एउटी आमालाई त्यो बेला धेरै दुःख लाग्दैन, जब बच्चाहरुले आफ्नो अलग्गै घर बनाउँछन् । दुःख त त्यो बेला हुन्छ जब उनीहरुले मानसिक तथा भावनात्मक दुरी नै महसुस गराउँछन् ।

किशोरावस्थाको क्रममा बच्चा तथा आमा-बुवाको बीचको सम्बन्ध निकै नै नाजुक तरिकाले अघि बढिरहेको हुन्छ । त्यो समयमा जहाँ बच्चाहरुले नयाँ-नयाँ कुराहरुको अनुभव हाँसिल गरिरहेका हुन्छन् । त्यहीँ भावनात्मक उथलपुथल समेत हाबी भइरहेको हुन्छ । उक्त उमेरमा बच्चाहरुमा हजारौं प्रकारका हार्मोनहरु परिवर्तन भइरहेका मात्र हुँदैनन् । उनीहरु उग्र तथा आफ्नो निर्णय आफैं गर्न समेत थालिसकेका हुन्छन् ।

उनीहरुमा स्वयंलाई प्रमाणित गर्ने तथा आफ्नो व्यक्तित्वलाई निखार्ने जिद्दीपना हाबी भएको हुन्छ । विपरित लिंगीप्रतिको आकर्षण पनि समानान्तर रुपले बढिरहेको हुन्छ । त्यस्तो बेलामा आफ्ना बच्चाहरुको दिमागमा के चलिरहेको छ भन्ने कुरा बुझ्नु भयो भने मात्र स्थितिलाई समाधान गर्न सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?