फ्रान्सको औद्योगिक क्रान्ति र रुसी क्रान्तिको पृष्ठभूमि सुरु भइरहेको थियो । साहित्यमा आलोचनात्मक यथार्थवादको क्रान्तिकारी राप र व्यापकता अब मुख्यतः स्थानान्तरित भएर रुस पुग्दै थियो । त्यही रापले रापिएका एक चिकित्सकमा साहित्यको मुल फुट्यो । जो चिकित्सकका रुपमा नभएर साहित्यकारका रुपमा संसारभरि चर्चित भए ।
आफ्नो जीवनको अन्तिम समयसम्म पनि रुसी साहित्यकार आन्टोन चेखवले आफ्नो चिकित्सा पेसा छाडेनन् । तर, रुसी क्रान्तिको समय र त्यसको अघि-पछि रुसका मानिसले भोगेको पीडा र चरित्रलाई भने उनले साहित्यको माध्यमबाट विश्वभरि नै प्रसार गरे । त्यसैले यो जीवन्त साहित्यको रुपमा चर्चामा छ ।
तिनै नाटककार एन्टोन चेखवको साहित्यिक सिर्जना यतिबेला काठमाडौंमा रहेको शैली थिएटरमा रसियाली नाटककार एन्टोन चेखोबको नाटक ‘द म्यारिज प्रपोजल’ को नेपाली शैली चलिरहेको छ ।
यही एउटा नाटकले मात्रै त चेखवको व्यक्तित्व झल्काउन सक्दैन । यद्यपि यही साहित्यमा मात्रै पनि चेखव केवल नाटककार बनेर आएका छैनन् । उनले सिंगो १९ औं शताब्दीको रुसी जीवनको यथार्थ चित्रण बोकेर आएका छन् ।
जति कलाकारहरुको प्रस्तुतिले केवल कलाकारको कला र त्यसको प्रस्तुतीकरण देखाउँछ । त्यसको भाव र वैशिष्ठ्य पत्ता लगाउनको लागि चेखोबको सामाजिक यथार्थवादी रचनाहरु नै हेर्नुपर्ने हुन्छ ।
एउटा सुविधासम्पन्न बैठक कक्ष, स्टेपान स्टेपानोभिचकी छोरीको हात माग्न आउनेहरुको मानसिकता, सौहार्दपूर्ण वातावरणमा रहेको बैठक कक्षलाई राजनीतिक मुद्दाले बिथोलेको घटना, चुनाव जितेको दम्भ र हारको पीडाले एकले अर्कोलाई लगाएको आरोप प्रत्यारोप, त्यसको चरमोत्कर्ष, केटा माग्न आएकाहरुको उमेर, छिप्पिइसक्दा पनि छोरीको विवाह गराउन नसकेका एक बाबु विक्षिप्त अवस्था आदिले तत्कालीन समाजको यथार्थ पक्षको चित्रण गरेको छ ।
राजनीतिको दुश्चक्रमा फसेको समाजको यथार्थ चित्रण र पैसाको दम्भका कारण बिगि्रएको सम्बन्धको चित्रण यही नाटकमा पाइन्छ । यो रसियाली साहित्यकार एन्टोन चेखवद्वारा लिखित नाटक ‘द म्यारिज प्रपोजल’को विषयवस्तु हो ।
२०७५ सालको जेठ महिनातिर चेखवकै अर्को नाटक ‘थ्री सिस्टर’ ले काठमाडौंका दर्शकहरुलाई लोभ्यायो । यो नाटक चेखवले सन् १९०० मा लेखेका थिए । त्यसको एक वर्षपछि मस्को आर्ट थिएटरमा उनको यो नाटक पटक मञ्चन भएको थियो ।
धनाढ्य परिवारकी तीन दिदीबहिनीको एउटा पीडालाई नाटकीय रुपमा प्रस्तुत गरेका चेखोबले यिनै तीन दिदीबहिनी र एक दाजुलाई केन्द्रमा राखेर कथा लेखेका छन् । यही नाटकमा उनले बाबुको मृत्युपछि सन्तानहरुमा छाएको निस्सार जीवनको यथार्थ चित्रणसमेत गरेका छन् ।
चेखव काठमाडौंका लागि धेरै पहिलेदेखिका प्रिय साहित्यकार हुन् । भनिन्छ, वीपी कोइरालादेखि राजा महेन्द्रसम्म पनि चेखवका अत्यन्त ठूला समर्थक थिए । त्यतिबेलाका साहित्यकारहरु कमै होलान्, जो चेखवप्रति जानकार छैनन् ।
१९ औं शताब्दीका चेखव अहिलेसम्म पनि केवल काठमाडौंमा मात्रै नभएर दुनियाँकै लागि पि्रय छन् । ४४ वर्ष बाँचेका चेखवले मुस्किलले तीन दशकको हाराहारी उमेर मात्रै साहित्य लेखे । उनी जति हाँसो ठट्टा गर्ने स्वभावका थिए, त्यत्ति नै उनको साहित्यमा समेत त्यसको प्रभाव पाइन्छ ।
पेसाले मेडिकल डाक्टर रहेका एन्टोन चेखव एक कुशल कथाकार र नाटककार हुन् । उनका सबै साहित्यिक कृतिहरुमा यथार्थवादको गाढा छाया पाइन्छ । यसैले उनलाई संसारभरि नै चर्चित गरायो ।
उनका कृतिहरु मध्ये अधिकांशमा राजनीतिप्रतिको वितृष्णा, समाजका मानिसहरुले भोग्नुपरेका पीडा, धनी वर्गको बाहिर देखिने आडम्बर र भित्रको समस्या जस्ता यथार्थ विषय वस्तुलाई उनका कृतिहरुले समेट्ने गरेको पाइन्छ । झण्डै एक दशक अघि पनि चेखवद्वारा रचित कथा ‘छेपारो’ को देव ‘अञ्जान शाह’ ले अनुवाद गरेका थिए । यसमार्फत् पनि उनको यथार्थवादी चरित्रले काठमाडौंमा पाइला टेकिसकेको ज्ञात हुन्छ ।
चेखवको जीवनी आफैंमा ज्ञानवर्द्धक छ । उनको जीवनी नै आफैंमा एउटा विश्वविद्यालय हो । उनी भन्थे, ‘तपाईंले आफैंलाई प्रशिक्षण दिनुपर्छ ।’