Comments Add Comment

नाटक चर्चा : नतालियाले स्वीकार्लिन् ‘विवाहको प्रस्ताव’ ?

पृष्ठभूमिमा सुमधुर संगीतको धुनसँगै आधा दर्जन जति कलाकारहरु छमछम नाचिरहेका छन् । अन्धकारलाई मधुरो चिर्दै जाँदा उनीहरु आ–आफ्नो भूमिकामा बाँडिन्छन् ।

एउटा बैठक कक्षमा बसिरहेका छन् स्टेपान स्टेपानोभिच (सुवास सुवेदी) । उनी आफ्नो २५ वर्षिय छोरी नतालिया (स्नेहा पौडेल)को विवाह गर्न चाहन्छन् । विवाहको सल्लाह गर्न स्टेपानले वकिल, व्यापारीदेखि नेतासम्मलाई आफ्नो घरमा डाकेका छन् । सबै बैठक कोठामा प्रवेश गरेसँगै विवाहको चर्चा चल्न थाल्छ ।

तर, सौहार्दपूर्ण वातावरणमा भइरहेको कुराकानीलाई एकाएक राजनीतिक मुद्दाले बिथोल्छ । त्यहाँ पुगेका नेताले स्टेपानलाई चुनावमा हराएका थिए । त्यही विषयमा उनीहरुको विवाद उब्जिन्छ । चुनाव जितेको दम्भ र हारको पीडामा रहेकाहरु एकले अर्काेलाई आरोप–प्रत्यारोप गर्नमा व्यस्त हुँदै जाँदा हात हालाहालको स्थितिसम्म पुग्छ ।

पछि सरकारबाट आएको बजेट बाँडिचुँडी पचाउने सहमतिमा उनीहरु मिल्छन् र बाहिरिन्छन् । छोरीको बिबाहको सल्लाह गर्न बोलाएका साथीहरुसँग स्टेपानले बिबाहको सल्लाह नै गर्न बिर्सिन्छन् । यहीँबाट हुन्छ, शैली थिएटरमा मञ्चन भइरहेको ‘विवाहको प्रस्ताव’ नामक नाटक ।

एकैछिन पर्दा बन्द हुन्छ । एकाएक सन्नाटा छाउँछ । नयाँ किसिमको कौतुहलताले मन बेचैन हुन्छन् ।

यत्तिकैमा मञ्चको भित्तामा कसैको सेतो पञ्जा लगाएको हात देखिन्छ । हातपछि खुट्टा । अनुहारमा मुकुट, रातो कोट माथि रातो टोपी र टिलिक्क टल्किएको रातो जुत्तामा ठाँटिएका उनी स्टेपानका छिमेकी इभान (सशांक बोहोरा) हुन् ।

इभान त्यहाँ स्टेपानकी छोरीको हात माग्न आइपुगेका छन् । उमेरले ३० कटेका उनलाई मनमा शंशय छ, ‘के स्टेपानले मलाई छोरी देलान् त ?’

इभान स्टेपानको बैठक कोठामा पुगेर नतालियाको हात कसरी माग्ने भन्ने अलमलमा छन् । उनको मनमा डरले ढ्याङ्ग्रो ठोकिरहेको छ । यस्तैमा मञ्चमा झुल्किन्छन्, स्टेपान ।

स्टेपानलाई देख्नसाथ इभानको सात्तो जान्छ । डरले लुगलुग काम्न थाल्छन् । बल्ल तल्ल हिम्मत जुटाएर उनले आफू यहाँ नतालियाको हात माग्न आएको कुरा सुनाउँछन् ।

छोरीको विवाहको लागि तड्पिएका स्टेपान कुल घरानका व्यवसायी इभानले विवाहको प्रस्ताव राख्दा खुसी हुन्छन् र प्रस्तावलाई स्वीकार्छन् । नतालियालाई कुरा गर्न पठाउने भन्दै स्टेपानले भित्र छिर्छन् ।

इभान र नतालिया बीच कस्तो कुराकानी हुन्छ ? के नातालियाले छिमेकी इभानको विवाह प्रस्तावलाई स्विकार्छिन् त ? इभानसँग विवाहको लागि उनी राजी हुन्छिन् त ? यी र यस्तै प्रश्नको उत्तर खोज्न तपाई शैली थिएटर पुग्नुपर्छ ।

****

यस नाटक रुसी नाटककार एन्टोन चेखबले लेखेका हुन् । ‘द म्यारिज पर्पोजल’ नामक नाटकलाई नेपालीमा अनुवाद गरेर शैलीले मञ्चन गरेको हो ।

नाटकको सुरुवातमा नै विशिष्ट श्रेणीमा रहेका व्यक्तिहरु माथि व्यङ्ग्य प्रहार हुन्छ । बाहिरी रुपमा उस्तै देखिए पनि भित्रि रुपमा मान्छे फरक हुन्छन् भन्ने कु तथ्यलाई चित्रण गरिएको छ । नाटकले मान्छेहरुमा हुने अहम्ता र आफू मात्रै राम्रो बन्न खोज्ने प्रवृत्तिमाथि पनि तिखो प्रहार गरेको छ ।

नाटकमा इभानको भूमिकामा रहेका छन्, शशांक बोहोरा । उनी एकै छिनमा धुरुधुरु रुन्छन् र एकै छिनमा हाँसोको फोहोरा छुटाउछन् । उनको अभिनय राम्रो हुँदाहुँदै पनि हाँसोबाट एकाएक रोदनमा पुग्दा अभिनयमा केही कमजोरी देख्न सकिन्छ ।

स्टेपानलाई देख्नसाथ इभानको सात्तो जानु । डरले लुगलुग काम्न थाल्नु । बल्ल तल्ल हिम्मत जुटाएर उसले आफू नतालियाको हात माग्न आएको कुरा सुनाउँदासम्म सशांकको अभिनय समृद्ध देखिन्छ । त्यसपछिको कथामा प्रसंग परिवर्तन गर्ने समयमा उनीहरुको अभिनय केही भद्दा प्रतित हुन्छ ।

इभानको बिनाकारण स्टेपानको घर फिर्ती, नतालियासँग भेटेपछि जमिनको विषयमा गरेको विवाद आदिमा भने त्यति जम्न सकेको छैन ।

त्यस्तै, स्टेपान बनेका सुवास सुवेदी लामो आसकोट, फुलेको दारीमाथि टोपीमा सजिएका छन् । नाटकमा उनको भूमिका मार्फत् एउटा अभागी राजनीतिज्ञ र समयमा विवाह हुन नसकेका बाबुको मनोदशा देखाइएको छ । यो भूमिकामा सुबेदीले न्याय गरेका छन् ।

छोरी नतालियाको भूमिकामा रहेकी स्नेहा पौडेल पनि विवाहको लागि राम्रो वरको अभावमा विक्षिप्त भएकी छिन् । इभानसँग कुरा नमिलेर घरबाट बाहिरिएपछि मुटु फुट्ला जसरी रुने गर्छिन् । उमेर छिप्पिदासम्म बिहे नभएकी महिलाले भोग्नु पर्ने पीडा र एउटा परिपक्व महिलाको मनोवैज्ञानिक चरित्र उनको अभिनयमा देख्न सकिन्छ ।

धेरै जनाले पढिसकेको नाटक हुनाले यसमा नयाँपन दिन निर्देशक नवराज बुढाथोकीका लागि चुनौती नै थियो । तर, उनले नाटकको मर्म मर्न दिएका छैनन् ।

नाटकमा एउटा मात्र सेटमा सकिन्छ । प्रकाशको व्यवस्थापन पूरा नाटक अवधिभरी नै एउटै छ । यो दर्शकहरुको लागि दिक्क लाग्दो हुनसक्छ । तर, समग्रमा भन्नुपर्दा ‘विवाहको प्रस्ताव’ हेर्न लायक नाटक बनेको छ ।

नाटक : विवाहको प्रस्ताव

निर्देशक : नवराज बुढाथोकी

संगीत : देवेन्द्र बल्लु

लेखक : एन्तोन चेखब

नेपाली अनुवाद : सविन न्यौपाने

नाटक अवधि : १ घण्टा १० मिनेट

नाटक चल्ने : माघ १० गतेसम्म

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment