Comments Add Comment

विप्लव समूह छाडेका कार्की भन्छन् : विप्लवमा राजनीतिक इमान्दारिता देखिनँ

२६ पुस, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्व समूहका नेता मोहन कार्की नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । पोलिटब्यूरो सदस्य कार्कीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

नेकपा मुख्यालय धुम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता कार्कीले विप्लवमा राजनीतिक साहस, नैतिकता र इमानदारिता नदेखेको बताए । ‘सहजै विप्लव छोडेर आउने पक्षमा म थिएन, तर विप्लवमा राजनीतिक साहस, नैतिकता र इमानदारिता देख्न सकिनँ’ उनले भने ।

कार्कीकाअनुसार उनी पार्टीले दिएको वार्ताकै जिम्मेवारीका क्रममा चैत १ मा पक्राउ परेका थिए । त्यसयता विभिन्न जेलमा ८ महिना विताएका उनी साउनमा छुटे । तर विप्लव वार्ता गर्ने आफ्नै निर्णयमा अड्न नसकेको भन्दै भन्छन्, ‘उहाँले आफूले गरेका कुरा र कामको ओनरसिप लिन सक्ने अवस्था देखिएन ।’

विप्लवले वैज्ञानिक समाजवादमा जाने कुरा गरेको र नेकपाले त्यही भनेको भन्दै उनले यसमा छलफल गर्ने प्रस्ताव आफूले विप्लव समूहमा हुँदा राखेको सुनाए । ‘तपाईको क्रान्तिका मोडल र सैन्य रणनीति के हो भनेर मैले भनेको हुँ’ उनी भन्छन्, ‘उहाँहरुको शंकास्पद खालका गतिविधिहरु चाहिँ मन परेन ।’

चुनावलाई लिएर पनि विप्लव समूहमा आफ्नो विमती भएको सुनाए । ‘यो बम किन हानिरहनु भएको छ भन्दा हैन, छैन छैन भन्नुहुन्थ्यो तर साथीहरु रुकुम रोल्पाको डाँडाबाट फोन गर्नुहुुन्थ्यो’ कार्की भन्छन्, ‘चुनाव सैद्धान्तिक रुपमा खारेज गर्ने हो, फौजीरुपमा किन जानुहुन्छ ? नेकपा प्रमुख दुश्मन हो विश्लेषण गरौं भने ।’

पार्टीका अधिकांश नेताहरुसँग आफ्नो राम्रो सम्बन्ध भएको तर कुनै माग नभएको कार्कीले बताए । विगतमा आफूले बाटो विराएको नभई रुपान्तरणको बहसमा रहेको र र नेकपा प्रवेश गर्दा पुनर्मिर्लनको अनुभव भएको कार्कीले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment