Comments Add Comment

एक अर्ब खर्चिएर यस्तो बनाइँदैछ दानापुर ताल

२६ पुस, बुटवल । रूपन्देहीको दानापुरस्थित पोखरी कुनै समय गाईवस्तु र चराचुरुङ्गीलाई पानी खुवाउन संरक्षण गरिएको थियो । काँडे लहरा अनि अजम्बरीले ढाकिएको झाडीको बीचमा बनाइएको त्यो पोखरी अहिले १९.५ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ ।

कञ्चन गाउँपालिका-१ मा रहेको पर्ने यो ताल संरक्षणमा समयमाई सामुदायिक वन उपभोक्ता समूहले अग्रसरता देखायो र २०६८ सालमा राष्ट्रिय ताल संरक्षण समितिले दिएको ४ लाख बजेटबाट त्यहाँसम्म पुग्ने बाटोका साथै वनभोज स्थल बनाइएको छ ।

तालमा आन्तरिक र वाह्य पर्यटकको आगमन बढ्न थालेपछि अब १० वर्षे गुरुयोजना बनाइएको छ । र, सिमसार क्षेत्रमा समेत सूचीकृत ताललाई नमूना पर्यटकीय स्थल बनाउन एक अर्ब रुपैयाँ खर्चिने योजना छ । तालको क्षेत्रफल विस्तार गरी २२ हेक्टर पुर्‍याएर पोखराको फेवा जस्तै ताल बनाइने वनका अध्यक्ष मिनबहादुर थापाले बताए ।

गुरुयोजनाअनुसार दानापुर तालको पर्यटकीय आकर्षणलाई बढाउन करिब १० करोड लागतमा ६० मिटर अग्लो १५ तले भ्यू टावर बनाइनेछ । भ्यू टावरको छेउमा करिब ६ करोड लागतमा दुई वटा स्वीमिङ पूलसहित सुविधासम्पन्न वाटर पार्क बन्नेछ ।

तालको बीचमा आइल्यान्ड जलभूमि निर्माण गरिनेछ । भ्यू टावरको पूर्वतर्फ करिब एक हजार क्षमताको ध्यान/योगा केन्द्र (मेडिटेसन सेन्टर) र उत्तर-पूर्वतर्फ चिडियाखाना बनाउने योजना रहेको सामुदायिक वनका अध्यक्ष मिनबहादुर थापाले बताए ।

ताल प्रवेशका लागि आकर्षक प्रवेशद्वार, बोटानिकल गार्डेन, सेमिनार हल, खेल मैदान, संग्रहालय पनि बनाइने छ । दुईसय चार पाङ्ग्रे र एक हजार दुई पाङग्रे सवारी राख्न मिल्ने पार्किङ स्थल बनाइने छ । ताल वारपार गर्न आकाशे पुल पनि बनाइने छ ।

तालको वरिपरी हरियाली वातावरणलाई यथावत राख्न वृक्षारोपण, पर्यटक तथा स्थानीयका लागि मर्निङवाक र जगिङ गर्न मिल्ने गरी अपांगमैत्री फुटट्रेक बनाउने पनि गुरुयोजनामा उल्लेख छ ।

यस्तै स्थानीयकै लगानीमा ताल नजिकका वस्तीमा होम स्टे सञ्चालन गर्ने योजना छ । ‘दानापुरलाई पोखराको प्रसिद्ध फेवा ताल जस्तै बनाउने लक्ष्य छ’-अध्यक्ष थापाले भने, ‘गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारबाट गुरुयोजनाअनुसार पुर्वाधार बनाउन वजेट अभाव हुन नदिने प्रतिवद्धता आएको छ ।’

आउँदो पाँच वर्षभित्र गुरुयोजना अनुसारका पुर्वाधारका काम पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए ।

ताल क्षेत्रमा पुरानो मन्दिर समयमाई मन्दिर पनि छ । वनको नाम यही मन्दिरको नामबाट नामाकरण गरिएको हो ।

तालको बीचमा बुद्धको मुर्ति राखिएको छ भने शिव मन्दिर बन्दैछ । तालमा हिउँदमा पानी कम हुने भएकाले कन्चन गाउँपालिका वडा नं. १ कै पहिला नदीको पानीलाई लिफि्टङ प्रणालीबाट ल्याइने योजना बनाइएको वनका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद घर्तीमगरलेे बताए ।

तालको प्रचार प्रचासका लागि २०६४ सालदेखि प्रत्येक वर्ष ताल महोत्सव समेत गर्ने गरिएको छ । यो वर्ष पनि माघ १५ गतेदेखि २६ गतेसम्म ताल महोत्सव गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment