Comments Add Comment

माछा मारेर कापी किताबको जोहो गर्दै चौखानका विद्यार्थी

भन्छन्-भाग्य बिग्रिएको बेला माछै मर्दैन

२७ पुस, डोटी । दिपायल सिलगढी नगरपालिका-८ को चौखान माबिमा कक्षा ६ मा अध्ययनरत बिक्रम नेपाली बिहानै नारीदाङस्थित सेती नदीको किनारमा भेटिए । मुटु कमाउने चिसोको कुनै परवाह छैन बिक्रमलाई । उनी सर्लक्क लुगा खोल्छन्, सेती नदीमा पस्छन् ।

बिक्रम नुहाउनका लागि सेती नदीमा पसेका भने होइनन्, अघिल्लो साँझ माछा मार्ने ‘पासो’ उनले सेती नदीमा फिट गरेर आएका थिए । उक्त पासोमा परेका माछा निकाल्न उनी नदीमा हाम फाल्छन् । उनले प्लाष्टिकको डोरी (पासा) मा अल्झिएका दुई माछा ताने । खुशी हुँदै माछासहितको पासा बोकेर बाहिर निस्के ।

बिक्रम मात्रै होइन्, यस क्षेत्रका अधिकांश विद्यार्थीहरुको दैनिकी यसरीनै बित्ने गरेको छ । विद्यालयबाट फर्किने बित्तिकै नदीमा पासा थाप्न जान्छन्, भोलिपल्ट बिहान झिसमिसे उज्योलोमै पासो झिक्छन् । पासोमा परेका माछा बोकेर घर गइ खाना खाएर विद्यालय जान्छन् ।

कक्षा १० मा अध्ययनरत नारद नेपालीको दैनिकी पनि यस्तै छ । उनी भन्छन् ‘साँझ बिहान नदीमा आउनु हाम्रो दैनिकी जस्तै हो ।’ परिवारको आर्थिक अवस्था कमजोर भएपछि नदीबाट माछा मारेर किताब कापीको जोहो गर्नु परेको नारद बताउँछन् । उनी भन्छन् ‘दैनिक एक जनाले ५, ६ वटा पासो थाप्ने गरेका हुन्छन्, कसैमा माछा पर्छ कसैमा पर्दैन तर पनि पासो दिनहुँ थाप्न सके कम्तीमा वार्षिक ३०, ४० हजारसम्म कमाइ गर्न सकिन्छ ।’

दैनिक ४०/५० जना विद्यार्थीहरूले पासा, जाल थाप्ने गरेको नारद बताए । उनले माछा मारेर गुजरा गर्नेमा दलित परिवारका मात्रै नभएर गैर दलित परिवारका विद्यार्थीहरु समेत रहेको बताए ।

साँझ विहानको समयमा माछा मारेर आफ्नो पढाई खर्चका साथसाथै घर खर्च पनि चलाउने गरेको बताउँछन् कक्षा ७ मा अध्ययनरत भक्त नेपाली । साँझ बिहानको दुःख गराइले आˆनो किताब कापीका साथै दैनिक नास्ता खर्चको लागि घरपरिवारबाट पैसा माग्नु नपर्ने उनी बताउँछन् ।

भाग्य बिग्रेको बेला माछै मर्दैन ! 

माछासँगै आफ्नो भाग्य पनि जाँच्ने गर्छन् विद्यार्थीहरु । ‘आज त मेरो भाग्य राम्रो रहेनछ, एउटा मात्रै पर्‍यो’ पासा बोकेर नदीबाट बाहिर निस्कदै एक विद्यार्थीले भने ‘भाग्य बिग्रेको बेला माछै पर्दैन ।’ पासो तथा जाल थाप्दा कहिले माछै नपर्ने र कहिले सोचे भन्दा बढी माछा पर्ने भएपछि उनीहरुले यसलाई आफ्नो भाग्यको ‘आजमाईस’ पनि मानेका छन् ।

सेती नदीमा प्रायः गैँडा, सट्टा, क्लज, भोटे, टोट्या, पोगो, गुज, जल खबर जस्ता स्थानीय नाम भएका माछा पासो, जाल, बल्छी, महाजाल थापेर मार्ने गरेको विद्यार्थीहरू बताउँछन् ।

माछा चिसोको समयमा अलि कम र गर्मीको समयमा बढी मर्ने गरेको पाइन्छ । माछा मार्नका लागि प्रयोग गरिने जाल, पासो आफै बनाउन सकिने धागो मात्र किन्नु पर्ने उनीहरुको भनाइ छ । धागो किन्दा धागोको मूल्य एक सय देखि पाँच सय रुपैयाँ तिर्छन् विद्यार्थीहरुले ।

नारीदाङ क्षेत्रको नदी छेउछाउमा बसोबास गर्ने प्राय विद्यार्थीहरू विद्यालय छुट्टी हुने बित्तिकै साँझ नदीमा पासो थाप्नमा र बिहान पासो उतार्नमा देखिने गरेको नारिदाङ बजारमा होटेल सञ्चालन गरिरहेका स्थानीय दीपेन्ऽ माझी बताउँछन् । उनले भने ‘सेती नदी नजिक छ विद्यार्थीहरूले फुर्सदको समय साँझ बिहान मिलाएर समयको सदुपयोग गरिरहेका छन् आˆनो किताब कापी खर्च चलाइ रहेका छन् ।’

आलो (भरखर मारेको) माछा बिक्री नभए विद्यार्थीले सुकाएर बेच्ने गरेका छन् । स्थानीय भाषामा ‘छिणी’ बनाएर माछा सुकाइन्छ ।

बासको सिन्को बनाएर माछा सुकाउने र सोही सिन्कोमा बेच्ने भएका कारण छिणी भनिएको भक्तले बताए । एक सिन्कोमा तीन टुक्रा राखिएका हुन्छन् । एउटा माछालाई साईज अनुसार तीन देखि ६ टुक्रासम्म बनाइ सुकाइने गरेको उनको भनाइ छ ।

बजारमा प्रतिछिणी माछाको ५० देखि ७० रुपैयाँसम्म बिक्री हुने गरेको स्थानीय व्यापारीहरु बताउँछन् । आलो माछा प्रति किलो पाँच सय रुपैयाँका दरले बिक्री वितरण गर्ने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment