Comments Add Comment

गोरखामा भेटिए पृथ्वीनारायण शाह !

२७ पुस, गोरखा । ‘हेर न ! पृथ्वीनारायण शाह जस्तै मान्छे,’ शनिबार २९८ औं पृथ्वी जयन्तीका दिन जिल्ला सदरमुकाममा भएको र्‍यालीमा सहभागी ओमबहादुर श्रेष्ठलाई देख्नेहरु खासखुस गर्दै थिए । हुन पनि उनको भेषभुषा पृथ्वीनारायण शाहकै झल्को दिने खालको थियो । कालो दौरा सुरुवाल, कम्मरमा खुकुरी, हातमा तरवार र शीरमा श्रीपेच ।

पृथ्वीनारायण शाह बन्ने तयारी उनको एक हप्ता देखिको हो । सामान मर्मतदेखि जुँगा मिलाउनेसम्मको काममा उनी व्यस्त थिए । ‘जुँगा ठाडो बनाउनका लागि एक हप्ताअघि जेल प्रयोग गरिरहेको थिएँ’ उनले भने, ‘अघिल्लो वर्ष पनि पृथ्वीनारायण शाह बनेको थिएँ, त्यही सामान मर्मत गरेर अहिले काम चलाएँ ।’

अघिल्लो वर्ष पनि उनी पृथ्वीनारायण शाहकै भेषमा कार्यक्रममा सहभागी थिए । तर त्यो वर्ष धेरै मेहनत गर्नुपरेको उनी सम्झन्छन् । उनी भन्छन्, ‘पहिलो पटक नक्कल गर्दा पृथ्वीनारायण शाहको फोटो अगाडि राखेँ, तस्वीरको नक्कल गर्दै भेषभूषाको तयारी गरे, मेहनत राम्रै गर्नुपरेको थियो ।’

व्यक्तिगत करिब १२ हजार रकम खर्चेर तीन जोर दौरा सुरुवाल सिलाएको उनले बताए । तरवार बनाउन उनले काठको प्रयोग गरे । चोयाको ढाल बनाए । बाबियोको श्रीपेच बनाएर रङरोगन गरे ।

आइतबारको कार्यक्रममा मुख्य आकर्षणको पात्र बनेका श्रेष्ठसँग फोटो खिच्ने र सेल्फी लिनेको भीड पनि उत्तिकै थियो । फोटो खिच्न आउनेसँग तस्वीर लिदै गर्दा उनी पृथ्वीनारायण शाहले जस्तो चोरी औला ठड्याएर थप उत्साहित बनाइदिन्थे । अनि भन्थे, ‘राजा सबैको साझा, आउनुहोस् फोटो खिच्नुस् पैसा लाग्दैन ।’

गोरखा संग्रहालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा पुगेपछि श्रेेष्ठसँग फोटो खिच्नेको भीड झन् बढ्यो । बच्चादेखि युवासम्म फोटो सेसनमा रमाउन थाले ।

पृथ्व नारायण शाहको भेषमा देखिन थालेपछि उनलाइ चिन्ने मान्छेहरु पनि बढेका छन् । ‘बिशेष गरी स्कुलका विद्यार्थीले मलाई भेटे भने पृथ्वीनारायण शाह बन्ने मान्छे भन्छन्, खुशी लाग्छ, अरु मान्छेले पनि तपाईंलाइ सुहाएको थियो भन्छन्,’ उनले भने ।

आफू जीवित रहेसम्म हरेक वर्ष यसरी नै पृथ्वी नारायण शाहको भेषमा सहभागी हुने उनी बताउछन् । ‘यो मेरो आˆनै इच्छाले गरेको हु, कसैसँग सहयोग मागेको पनि छैन, म मरेपछि पृथ्वीनारायण शाह बन्ने मान्छे मरेछ भनेर एकपटक त सम्झिन्छन् नि,’ उनले भने ।

उनले पृथ्वीनारायण शाहलाई भुल्न नहुने बताए । ‘जसले बाइसे चौविसे राज्यलाई एकीकरण गरेर सिंगो राष्ट्र बनाउन सफल भए, उहाँकै योगदान अहिले बिर्सिदैछन्,’ उनले भने ।

उत्सवको रुपमा मनाइयो पृथ्वी जयन्ती

गणतन्त्र स्थापनापछि सामान्य रुपमा मनाइदै आइएको पृथ्वी जयन्ती यस वर्ष भने जिल्लामा उत्सवको रुपमा मनाइयो । गोरखा नगरपालिकाले अपनत्व लिएर यस वर्ष भव्य रुपमा जयन्ती मनाइएको हो । गोरखा नगरपालिकाको अगुवाइमा विहान हरमटारी खेलमैदानबाट निकालिएको झाँकीसहितको र्‍याली गोरखा संग्रहालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

संग्रहालय परिसरमा रहेको शाहको शालिकमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरियो । कार्यक्रमका सहभागीले पृथ्वीनारायण शाहको योगदानलाइ भुल्न नहुने बताए । जयन्तीको अवसरमा जिल्लाका छ स्थानीय तहले सार्वजनिक बिदा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment