Comments Add Comment

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ र शाक्यको प्रतिस्पर्धा

२८ पुस, चितवन । उद्योग वाणिज्य संघ–चितवनको ५३ औं साधारणसभा तथा ३६ औं अधिवेशन सोमबार सुरु हुँदैछ । सभाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिए ।

नारायणी नदी किनारमा हुने उद्घाटन समारोहलाई भब्य बनाइएको अध्यक्ष प्रधानले बताए । चितवनका व्यवसायीहरुको छाता संगठन उवासंघका सदस्यहरुलाई यसपटक निर्वाचनको माहौलले छोपेको छ ।

हरेक दुई दुई बर्षमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गरेको छ । उवासंघ चितवनको अधिवेशनलाई यहाँका दलहरुले समेत प्रतिष्ठाको बिषय बनाउने गरेका छन् ।

अध्यक्षमा श्रेष्ठ र शाक्यको उम्मेदवारी

वरिष्ठ उपाध्यक्षमा यसअघि पनि वरिष्ठ रहेका चुननारायण श्रेष्ठ, उपाध्यक्षमा सुमन श्रेष्ठ, चिरञ्जीवि सुवेदी र भोजराज कौडाल निर्विरोध बनिसकेका छन् ।

अधिवेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा पूर्ववरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।

गत बर्षको जस्तो दलीय प्यानल नभए पनि यसपटक अध्यक्ष पदका लागि नेकपा र कांग्रेस सर्मथकहरुको टक्कर देखिन्छ । अध्यक्षका उम्मेदवार श्रेष्ठ नेकपा समर्थक हुन् भने शाक्य कांग्रेस सर्मथक । हालका वरिष्ठ उपाध्यक्ष रहेका चुननारायण श्रेष्ठ र अध्यक्षका उम्मेदवार राजु श्रेष्ठका बीचमा गोलाप्रथाबाट नेतृत्व लिने सहमति भएको थियो ।

सो सहमतिअनुसार राजु अध्यक्ष र चुननारायण वरिष्ठ उपाध्यक्ष उठ्ने तयारी थियो । सो सहमतिको कांग्रेस चितवनले विज्ञप्ति जारी गरेरै विरोध जनाएको थियो । अध्यक्षका उम्मेदवार शाक्यले गोला प्रथाको बाहना बनाएर मतदानबाट नेतृत्व चयन गर्ने प्रक्रिया रोक्न खोजिएको आरोप लगाए । शाक्य यसअघि अध्यक्षमा डा. तिलचन्द्र भट्टराईसँग पराजित भएका थिए ।

संघको वरिष्ठसहित चार उपाध्यक्ष निर्विरोध भइसकेका छन् । वरिष्ठ उपाध्यक्षमा यसअघि पनि वरिष्ठ रहेका चुननारायण श्रेष्ठ, उपाध्यक्षमा सुमन श्रेष्ठ, चिरञ्जीवि सुवेदी र भोजराज कौडाल निर्विरोध बनिसकेका छन् ।

कार्यसमिति सदस्यहरुमा उद्योगतर्फ छ पदको लागि सात जना, वाणिज्यतर्फ छ पदको लागि १० जना, वस्तुगत संगठिततर्फ चार पदको लागि छ जना र महिला उद्यमी व्यवसायीतर्फ एक पदको लागि दुई जनाको उमेदवारी परेको छ ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका राजु श्रेष्ठ २०६४ सालमा उवासंघको पहिलो पटक कार्यसमिति सदस्य भएका थिए । तृतीय उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसमेत बने । उनी होटल व्यवसायी हुन् । उनी होटल ग्राण्ड भ्यू र नेशनल सिटी अस्पतालका सञ्चालक हुन् ।

श्रेष्ठले आफुले युवा उद्यमी तथा पाका व्यवसायीहरुका हरेक समस्यामा साथ दिने गरेको बताए । विगतमा गरेको योगदानको मूल्यांकन गरेर व्यवसायीहरुले आफुलाई जिताउने दावी उनको छ ।

‘म व्यवसायीको हकहितमा दिनरात नभनी लाग्छु, जति बेला पनि आफैं उपस्थित हुन्छु’ श्रेष्ठले भने ‘म विकासप्रेमी मान्छे हो, नारायणगढको मेनरोडको समस्याको समाधान, पार्किङको समस्या, करका समस्या समाधानमा मैंले रचनात्मक भूमिका खेलेको व्यवसायीहरुलाई थाहा छ ।’

अध्यक्षका अर्का उम्मेदवार शाक्य हाल संघको विशिष्ट सदस्य हुन् । ६ कार्यकाल कार्यसमिति सदस्य रहेका उनी नेपाल सुनचाँदी व्यवसायी संघको केन्द्रीय उपाध्यक्ष थिए । नेवा पुचः नारायणगढको अध्यक्षसमेत रहेका शाक्य लोकमान एण्ड सन्स सुनचाँदी पसलका सञ्चालक हुन् ।

उनले आफ्नो जीत व्यवसायीहरुको हितका लागि हुने बताए । विगतमा प्राविधिक कारणले पराजित भए पनि यसपटक भने जित निकाल्ने विश्वास उनको छ ।

संघको नेतृत्व चयन प्रक्रियामा ३ हजार ७ सय ४१ जनाले मतदान गर्नेछन् । विद्युतीय भोटिङ मेसिनबाट यसपटक मतदान गरिने अध्यक्ष सहनलाल प्रधानले बताए । २७ सदस्यीय कार्य समितिमा १८ पदका लागि मंगलबार निर्वाचन हुँदैछ । १८ पदका लागि २७ जनाको उमेदवारी कायम भएको छ ।

सहनको दुई बर्ष : रंगशालाई सहयोगदेखि फुटपाथ हटाउनेसम्म

उद्योग वाणिज्य संघ चितवनको हाल अध्यक्ष रहेका सहनलाल प्रधानले दुई बर्षको कार्यकाल उपलब्धीमूलक रहेको बताए । हरेक अध्यक्षको कार्यकालमा पर्ने चितवन महोत्सव भव्यताका साथ सम्पन्न गरेको र सोबाट उठेको धुर्मस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालासहित विभिन्न सामाजिक संघ संस्थालाई प्रदान गरिएको अध्यक्ष प्रधानले बताए ।

संघले क्रिकेट रंगशालाका लागि १ करोड रकम दिने घोषणा गरेको छ । हालसम्म ५५ लाख रकम दिइसकेको छ । अध्यक्ष प्रधानले १० लाखको उद्योग बाणिज्य राहत कोष स्थापना गरेको बताए ।

महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न महिला उद्यमी भेला तथा कोसेली घर स्थापना गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको १५ लाख रुपैयाँ सहयोगमा संघ परिसरमा कोसेली घर बनाउने काम तत्कालै सुरु गरिने उनले बताए ।

अहिले संघको कार्यालय अगाडि एक सटर भाडामा लिएर कोसेली घर सञ्चालन गरिएको छ । संघ परिसरमा रहेको बाल उद्यान भएको फिटनेस सेन्टर खोलिएको छ । वस्तुगत संघ २९ रहेकोमा ५ वटा थप गरी ३५ पुर्‍याइएको छ ।

नारायणगढ बजार क्षेत्रको फुटपाथ हटाउने, भरतपुर महानगरपालिकाबाट व्यवसाय कर वापत पाउनुपर्ने रकमका लागि नविकरण प्रकृया विगत ७ बर्षदेखि रोकिएकोमा त्यसलाई फुकाएर बार्षिक २५/३० लाख रुपैयाँ व्यवसायिक विकासका लागि ल्याउने बाटो सहज बनाउने काम भएको अध्यक्ष प्रधानले बताए ।

संघमा आवद्ध सदस्य र उनीहरुमा आश्रित परिवारको स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्न पुरानो मेडिकल कलेजसँग २० प्रतिशत छुटमा सवै सेवा प्रवाह गराउने सम्झौता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment