+
+

प्रदेश १ को सकस : राजधानी विराटनगर, नामचाहिँ के ?

धुब्र भट्टराई धुब्र भट्टराई
२०७६ पुष २८ गते १९:१५
प्रदेश १ को प्रदेशसभा बैठक ।

२८ पुस, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सहमति नजुट्दा प्रदेशसभा गठन भएको दुई वर्ष पुग्न लाग्दासमेत प्रदेश १ ले नाम पाउन सकेको छैन । यो प्रदेशमा नेकपाको दुई तिहाई बहुमत भए पनि प्रदेशको नामबारे नेकपाबाटै प्रतिनिधित्व गर्ने मन्त्री र प्रदेशसभा सदस्य विभाजित छन् ।

संविधानले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेशसभालाई दिएको छ । त्यसअनुसार, सातमध्ये चार प्रदेशले नाम र राजधानी तोकिसकेका छन् । प्रदेश १ ले पनि गत वैशाखमा प्रदेशको स्थायी राजधानी विराटनगर तोकेको छ, नाममा भने सहमति नजुट्दा थाती रहेको छ ।

प्रदेश १ को नाम राख्दा भूगोल कि जातीय सभ्यता–संस्कृतिलाई आधार मान्ने भन्ने प्रश्न निकै पेचिलो बनेको छ । यो रस्साकस्सीमा भौगोलिक विशेषतालाई महत्व दिनेहरुले प्रदेशको नाम कोसी या सगरमाथा हुनुपर्नेमा जोड दिइरहेका छन् भने जातीय सभ्यता–संस्कृति पक्षधरहरु ‘किरात’ हुनपर्ने अडानमा छन् ।

नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कोसी वा सगरमाथा नामको पछाडि किरात वा त्यस्तै पहिचानको अर्को शब्द जोडेर नाम टुंगो लगाउने सम्भावना रहेको बताए ।

पहिचानवादीहरु किरातमा मात्र सीमित छैनन्, ‘लिम्बुवान’, ‘खम्बुवान’ र ‘कोचिला’ हुनपर्छ भन्नेहरु पनि उत्तिकै छन् । ‘किरात’ नामले एकल जातीय पहिचान स्थापना गर्छ भनिठान्ने मन्त्री र प्रदेशसभा सदस्यहरु कोसी या सगरमाथा राख्ने पक्षमा लागिपरेका छन् ।

त्यस्तै, नेकपाभित्रका पूर्वमाओवादी र पूर्वएमालेका खास गरेर जनजाति मन्त्री र प्रदेशसभा सदस्य ‘किरात’को पक्षमा छन् । ‘किरात’ नामले कुनै जाति विशेष नभई नेपालको एउटा सभ्यता सम्झाउने उनीहरुको तर्क छ ।

पहिचानवादी राजनीतिक अभियान–आन्दोलनको रापताप अझै बाँकी रहेको अवस्थामा प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य सबै नामको चर्को दबावमा छन् । मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाकोे हिउँदे अधिवेशनबाट नामाकरण टुंग्याउने तयारी भइरहेको बताए, जुन आगामी माघ दोस्रो साता सुरु हुँदैछ ।

उनले प्रदेश राजधानीको जस्तै नाम पनि सहमतिमै टुंग्याउने दाबी गरे । ‘नामांकनको बिषय पनि अब टुंग्याउछौं,’ उनले भने, ‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने साना दलहरुसंग पनि वार्ता–परामर्श गरेर बिषय पनि सर्बसम्मतिबाट टुंग्याइनेछ ।’

नेकपाको दुई तिहाइ बहुमत रहेको प्रदेश १ मा सरकारले जुनसुकै नाम प्रस्ताव गरे पनि सभाबाट पारित हुने स्थिति छ । कुल ९३ प्रदेशसभा सदस्यमध्ये नेकपाका ६७ जना छन् । नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कोसी वा सगरमाथा नामको पछाडि किरात वा त्यस्तै पहिचानको अर्को शब्द जोडेर नाम टुंगो लगाउने सम्भावना रहेको बताए ।

प्रमुख प्रतिपक्ष नेपाली काग्रेसका संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले भने सत्तारुढ नेकपाले नामका विषयमा अहिलेसम्म सम्वाद नगरेको बताए । ‘प्रदेशको धेरै नाम सुन्नमा आएका छन्, तर सत्ताधारी दलका कसैले हामीलाई बोलाएर अनौपचारिक छलफल–परामर्श गरेको छैन’, उनले भने, ‘काग्रेस प्रदेशबासीलाई सर्वस्वीकार्य हुने नामको पक्षमा उभिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?