Comments Add Comment

भारतीय लगानीमा चितवन र मकवानपुरका डाँडामा गाँजा खेती !

गाँजा तस्करीमा प्रयोग भएको भारतीय गाडी ।

२८, पुस, चितवन । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका तथा चितवनको राप्ती गाउँपालिका वडा नं १२ र १३ अबैध गाँजाको व्यवसायिक खेती हुने ठाउँका रुपमा बद्नाम छ । बेलाबेला प्रहरीले चलाउने गाँजा फाँड्ने अभियानले मात्र यो नियन्त्रणमा आउन सकेको छैन ।

साउन र भदौ महिनामा डाँडाभरि गाँजा रोपिएको हुन्छ, हुर्किदै गएपछि भारतीय आएर कुर्ने गरेको प्रहरी बताउँछ । त्यसैले गाँजाखेतीका लागि भारतीयले लगानी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

यतिबेला गाउँमा तयार भएको गाँजाको ओसारपोसार सुरु भएको छ । चितवन तथा मकवानपुरको पश्चिमी क्षेत्रबाट भारतीय नम्बर प्लेटका गाडीमा राखेर गाँजा भारत लैजान थालेको सूचनाका आधारमा मकवानपुर प्रहरीले निगरानी बढाएको छ । मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौर एक साताको अवधिमा ठूलो परिमाणमा गाँजा, गाडी र व्यक्ति पक्राउ परेको बताउँछन् ।

तस्करको चार तह

एसपी राठौरका अनुसार स्थानीय गाउँलेदेखि भारतीय व्यापारीसम्म गाँजा तस्करीको चार च्यानल हुने गरेको छ । स्थानीय चेपाङ तथा तामाङ समुदायका स्थानीयले पूर्वपश्चिम राजमार्गसम्म गाँजा ल्याइदिन्छन्, त्यसपछि तराई क्षेत्रको एक गिरोहले सीमावर्ती क्षेत्रमा लैजान्छ, दुवैतिर लिंक भएका सीमामा बस्नेहरुले भारतीय ब्यापारीलाई सप्लाई गर्छन् ।

भारतीय नम्बर प्लेटका सस्ता सवारी साधन गाँजा तस्करीमा प्रयोग गर्ने गरिएको उनले बताए । भारतमा गाँजाको प्रतिकिलो ४० हजारसम्म पर्ने गरेको छ । ‘कम्तीमा ३० किलो गाँजा सप्लाइ गर्न सक्यो भने दुईटा गाडी आउँछ । त्यसैले उनीहरु जोखिम मोलेको देखिन्छ’ एसपी राठौरले भने, ‘भारतीयको लगानीमा गाँजा उत्पादन, हार्भेस्टिङसम्म हुने गरेको देखियो ।’

राति १ बजेदेखि ४ बजेको समयमा अधिक मात्रामा तस्करी गरेको देखेपछि प्रहरीले सोही समयमा निगरानी बढाएको छ । भारतीय नम्बर प्लेटका गाडीमा निगरानी बढेपछि मोटरसाइकलमा गाँजाको तस्करी बढ्न थालेको एसपी राठौरले बताए । पूर्व पश्चिम राजमार्गमा कडाइ गरेपछि चितवनको माडी हुँदै ठोरी वा पश्चिमको बाटो प्रयोग गर्न थालेको प्रहरीको आशंका छ ।

पक्राउको श्रृङ्खला

पुस १८ गते चुरियामाईको जंगलमा गाँजा तस्करलाई प्रहरीले हवाई फायर गरी पक्राउ गर्‍यो । डीएल ३ सिएक्यू ४१७२ नम्बरको भारतीय कारमा सवार उनीहरु भाग्न खोजेका थिए । प्रहरीले कार चालक भारत मोतिहारीका दिलिपकुमार सिंह, उज्वलकुमार ठाकुर र रौतहट यमुनामाई गाँउपालिका ४ का विकास सिंहलाई अन्दाजी ३२ किलो गाँजासहिर्त पक्राउ गरेको छ ।

त्यसै दिन हेटौंडा–१५ बाटै लागूऔषध गाँजा तस्करीमा संलग्न मकवानपुर राक्सिराङ गाउँपालिका ५ का राजकुमार मोक्तानलाई पनि प्रहरीले पक्राउ गर्‍यो । उनको साथबाट २१ किलो गाँजा र बा ५ ख ७२६८ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । ट्रक चालक भने फरार छन् ।

प्रहरीले पुस २० गते बिआर ०६ बिजी ९५१२ नम्बरको भारतीय कारमा लुकाएर गाँजा ओसार पसार गरेको अवस्थामा २१ किलो गाँजासहित धनुषाका अशोककुमार यादव र मकवानपुरको मनहरीका राजकुमार मोक्तानलाई पक्राउ गरेको छ ।

पुस २३ गते मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका १५ बाट ५ केजी गाँजा, प्रदेश नः ०–२ –०३–००६ प २८८३ नम्बरको मोटरसाइकलसहित चितवनको राप्ती नगरपालिका वडा २ का कृष्णबहादुर थापामगरलाई पक्राउ गरेको छ । भोलिपल्ट हेटौडा १९ नेवारपानीबाट भारतीय वीआर–०१ सिएम–६२४६ नम्वरको कारमा ८ केजी गाँजा लैजाँदै गर्दा कार चालक सर्लाही हरिपुर नगरपालिका ९ का रञ्जितकुमार गुप्ता र बालकृष्ण गुप्तालाई पक्राउ गरेको छ ।

पुस २७ गते हेटौडा १९ नेवारपानीमा मनहरीबाट हेटौडा जाँदै गरेको ना ६१ प २४९ नम्वरको मोटरसाइकल र ३६ केजी गाँजा बरामद भयो । प्रहरी देखेपछि चालक भने भागेका छन् ।

प्रहरीका अनुसार गाँजा तस्करीको क्रममा पक्राउ परेका सबैलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही प्रक्रिया अघि बढाइएको छ । अभियोग पुष्टि भएमा २ बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरीवाना र सवारी जफत हुने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment