Comments Add Comment

पुरानो संसद भवन भत्काउन विकास समितिको निर्देशन

२९ पुस, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको छ ।

मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि पुरानो संसद भवन भत्काएर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको छ ।

भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ । समिति सभापति कल्याणी खड्काले यो भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताइन् ।

‘बचाएर कतिसम्म उपयोग गर्न सक्छौं ? यसलाई यथावत राख्न सक्ने देखिँदैन’ उनले भनिन् । पुनर्निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालय भवन भत्काएर नयाँ बनाउनुपर्ने पक्षमा देखिए पनि पूरातत्व विभागले नभत्काई अहिलेकै स्वरुपमा प्रबलीकरण गर्नुपर्ने बताएको थियो ।

शहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले सिंहरदरबारभित्र रहेको पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने विज्ञको राय रहेको बताएका छन् । ‘प्रबलिकरण गरेर बचाउन सकिन्छ तर बचाएर के गर्ने ?  त्यसकारण यसलाई भत्काएर अत्याधुनिक स्टेट गेस्ट हाउस वा स्टेट हल बनाउने प्रस्ताव विज्ञबाट आएङ्को छ । तर हामी नर्क्यौलमा पुगेको छैन’ उनले भने ।

पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले विदेशी पाहुना आउँदा मिटिङ गर्ने डिनर गर्ने हल चाहिने परराष्ट्र मन्त्रालयको माग रहेको र त्यसलाई सम्बोधन गर्न स्टेट गेस्ट हाउस वा स्टेट हल बनाउन सकिने बताए । ‘स्टेट गेस्ट हाउस बनाउनुपर्ने कुरा पनि आएको छ तर निर्क्योल भने भएको छैन । पुनर्निर्माण गरेर प्रयोग गर्न सम्भव छैन । नयाँ बनाउदा अहिलेकै जस्तो बनाउने कि स्टेट गेस्ट हाउस बनाउने भन्ने द्विविधामै छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment