Comments Add Comment

सडक जामले कसरी यात्रुलाई रोगी बनाउँछ ?

काठमाडौंमा किन सडक जाम हुन्छ ?

ट्राफिक प्रहरीको जवाफ छ, ‘सडक साँघुरो भएर । गाडीको संख्या बढी भएर ।’

सडक जाम भएमा के हुन्छ ?

ट्राफिक प्रहरीको जवाफ छ, ‘यातायात आवागमन अस्तव्यस्त हुन्छ ।’

तर, ट्राफिक प्रहरीले भनेजस्तो सडक जामको भौतिक असर  मात्र छैन । सडक जामले सर्वसाधरणको दैनिकी अस्तव्यस्त बनाएको छ । सर्वसाधरणको छटपटी र बेचैनी बढाइदिएको छ । सर्वसारणलाई रक्तचाप र मानसिक रोगी बनाइरहेको छ ।

जब यात्रु पट्यारलाग्दो जाममा फस्न पुग्छन्, उनीहरुको दिनचर्या अस्तव्यस्त हुन पुग्छन् । जाममा कोही पनि यात्रु आनन्दपूर्वक बसेका हुँदैनन् । सबैमा छटपटी, हतारो देखिन्छ । जाममा कतिपयको महत्वपूर्ण काम छुटिरहेको हुन्छ, कतिपय शारीरिक पीडा झेलिरहेका हुन्छन् । दिसा-पिसाब च्यापेर बस्नुपर्ने बाध्यता पनि धेरैलाई होला ।

यदि सडक जामबाट शारीरिक वा मानसिक रुपमा पुग्ने असरलाई नाप्ने यान्त्र हुँदो हो त, यो मानसिक एवं शारीरिक रोग निम्त्याउने एउटा कारण हो भन्ने प्रष्ट देखिन्थ्यो । जामले सवारी आगवमनलाई मात्र बाधा पुर्‍याउँदैन, यसले धेरैको समय नष्ट गरिदिन्छ र धेरैलाई रोगी समेत बनाउँछ ।

बाहिरबाट हेर्दा त यो निष्कर्षमा पुग्न सकिदैन । तर, जामले पार्ने असरबारे मिहिन अध्ययन गर्ने हो भने त्यसले सर्वसाधरणलाई मानसिक रोगको एउटा चरणसम्म पुर्‍याउँछ । त्यसो त सडक जामकै कारण कति रोगीले अकालमा ज्यान गुमाएका छन्, कतिले समयमा उपचार पाएका छैनन्, कति विद्यार्थीको विद्यालय छुटेको छ, कति व्यक्तिको जरुरी काम छुटेको छ ।

जबकी यातायात सेवा सहज र सुचारु गराउने जिम्मेवारी बोकेका ट्राफिक प्रहरीहरुले सडक जामको भौतिक पक्षलाई मात्र हेरिरहेका हुन्छन् । सडक जाम किन हुन्छ, त्यसबाट सर्वसाधरणले कस्तो सास्ती झेल्नुपर्छ भन्ने कुरामा उनीहरुले सुक्ष्म अध्ययन गर्दैनन् ।

ट्राफिक प्रहरी प्रमूखका पदमा आसिन प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल क्यामेरालाई अघि-पछि लगाएर सडकमा निस्कन्छन् । सार्वजनिक यातायात चढ्छन् । तर, त्यसबाट व्यक्तिगत प्रचारबाजीभन्दा अरु के उपलब्धी हासिल भयो ?

न सार्वजनिक यातायातमा कुनै व्यवस्था फेरिए, न ट्याक्सीको सेवा-प्रणालीमा सुधार आयो, न सडक जामको अन्तर्य फेला पारियो । सर्वसाधरण आज पनि त्यही दसा झेलिरहेका छन्, जो हिजोको दिनमा थियो ।

सडक जामको अन्तर्य

सडक जाम किन हुन्छ ? गाडीको संख्या धेरै भएर ? सडक साँघुरो भएर ? दुबै जवाफ एक हिसाबले ठिकै होला । तर, सडक जामको मूल समस्या गाडीको संख्या र साँघुरो सडक नै हो त ?

सडक जाम हुनुमा ट्राफिकको कमजोर कार्य-शैली र लाचारी मात्र पनि दोषी छैन । चालक-सहचालकको लापरवाही मात्र पनि दोषी छैन । एउटा कारण यात्रु स्वयम् हुन्, जसले जानेर वा नजानेर सडक जाम गराइरहेका हुन्छन् ।

अचम्मका यात्रु

सार्वजनिक यातायातमा यात्रा गर्ने धेरै यात्रु यस्ता हुन्छन्, जो बस स्टप वा सही ठाउँबाट गाडी चढ्ने र ओर्लने गर्दैनन् । जथाभावी गाडी रोक्छन् वा रोक्न लगाउँछन् । कोटेश्वर-जडीबुटी सबैभन्दा बढी जाम हुने क्षेत्र हो, जहाँ बसस्टपमा भन्दा बढी कामख्या पेट्रोल पम्प अगाडि यात्रुको भिड हुन्छ । त्यसबाट तीन मिनेटमा बसस्टप वा कोटेश्वर चोक पुग्न सकिन्छ । तर, यात्रुलाई आफु उभिएकै ठाउँमा गाडी रोकेर चढ्ने बानी हुन्छ । यात्रु आफै पनि व्यवस्थित र अनुशासित छैनन्, जसले सडक जाममा भूमिका खेल्छ ।

पिक आवर खासगरी कार्यलय र विद्यालय सुरु हुने वा छुट्ने समयलाई सवारी चालक/सहचालकले ‘राम्रो मौका’ ठान्छन् । त्यही बेला उनीहरु सकेसम्म यात्रु कोच्ने गर्छन् । बानेश्वरमा चोकमा दश-पन्ध्र मिनेट गाडी रोकिन्छ । यात्रुले खचाखच हुन्छ । बल्लतल्ल गाडी अगाडि बढ्छ । क्यापस गेट (अन्तराष्ट्रिय सम्मेलन केन्द्र नजिक) पुगेपछि यात्रुहरु चिच्याउन थाल्छ, ‘गाडी रोक्नु ।’

बानेश्वर चोकबाट उक्त ठाउँसम्म पुग्न जम्माजम्मी दुई मिनेट हिँड्नुपर्छ । तर, यात्रुहरु पन्ध्र मिनेट जाममा बसेर भएपनि गाडीमै चढेर त्यहाँसम्म पुग्न चाहन्छन् ।

आफु ओर्लने ठाउँसम्म आइपुग्दासम्म सिटबाट उठ्ने सुरसार गरेका हुँदैनन् । सार्वजनिक यातायातमा त्यतीका धेरै यात्रु कोचिएका हुन्छन् । तर, ओर्लने यात्रुलाई अरुको समय र समस्यासँग कुनै मतलब हुँदैन । आफ्नै सुरमा ओर्लन्छन् ।

त्यतीमात्र होइन, सह-चालकले भाडा नमागेसम्म खल्तीमा हात हाल्दैनन् । जब सह-चालकले भाडा माग्छन्, तब अल्छी मान्दै खल्ती खोतल्न थाल्छन् र हजार वा पाँच सयको नोट निकाल्छन् ।

धेरैजसो यात्रु सार्वजनिक यातायातमा यात्रा गरिरहँदा आफुले तिर्नुपर्ने भाडा तयार गरेर राख्दैनन् । न ओर्लने ठाउँसम्म आइपुग्दा भाडा दिने सुरसार नै गर्छन् । यात्रुको यस्तै व्यवहारले गर्दा सार्वजनिक यातायात अस्तव्यस्त हुने गर्छ ।

हेपाह ट्राफिक

सार्वजनिक यातायातमा चढेर ट्राफिक प्रहरीको गतिविधि मूल्यांकन गर्नुहोस्, उनीहरु सवारी आगमन सुधार्ने भन्दा पनि गल्ती खोज्न बसेका हुन् कि जस्तो लाग्छ ।

अर्को उदेगलाग्दो कुरा त के पनि भने, उनीहरुको यातायातलाई व्यवस्थित बनाउन सधै सही व्यवस्था र सही ढंग अपनाइरहेका हुँदैनन् । कुनै दिन बसस्टपमै गाडी रोक्न दिदैनन्, कुनै दिन बस्टपमा गाडी रोकेन भन्दै कारवाही गर्न थाल्छन् ।

सधै एउटै व्यवस्था हुँदो हो त चालक-सह-चालकले सायदै गल्ती दोहोर्‍याउने थिए । तर, ट्राफिक प्रहरीको मुड अनुसार चालक-सह-चालकले सडक नियम अनुसरण गर्नुपर्ने हुन्छ ।

मानौ कुनै सवारी साधनले सडक नियम उल्लघंन गरेको छ । उनीहरु सडकमा गाडी रोकेर चालकसँग घण्टौं बहस गर्न थाल्छन् । सार्वजनिक यातायातमा चढेका यात्रुहरुको अवस्थाप्रति कतिपनि संवेदनशिल हुँदैनन् ।

बरु रुखो भाषामा उर्दी जारी गर्छन्, ‘सबैजना ओर्लिनुहोस्, यो गाडी जान पाउँदैन ।’ ट्राफिकबाट यसरी आधा बाटोमा गाडी रोकेर यात्रु अलपत्र पार्ने काम हुन्छ । जबकी गर्भवती, रोगी, बुढाबुढी, बालबच्चा समेत गाडीमा छन् भन्ने उनीहरु ख्याल गर्दैर्नन् । सार्वजनिक यातायातका यात्रुले ट्राफिक प्रहरीको यस्तो हेपाई पटक-पटक सहनुपर्छ ।

‘जब भयो राती, अनि बुढी ताती’ भनेजस्तै जब सडकमा सवारी साधनको चाप बढ्न थाल्छ, तबमात्र ट्राफिक प्रहरी सक्रिय हुन थाल्छन् । अन्य समयमा जतिसुकै सवारी साधन रोकिएपनि, जहाँ रोकिएपनि उनीहरु चासो राख्दैनन् । सामान्य अवस्थामा यसरी रोकिने सवारी साधनकै चाप थेग्रिदै त्यसको असर दिनभर पर्छ भन्ने सामान्य हेक्का पनि उनीहरुलाई छैन ।

कसरी यातायात आवगमनलाई सहज र सुचारु बनाउने ? यसमा ट्राफिक प्रहरी जागरुक र सक्रिय हुने हो भने अहिले जति अस्तव्यस्त हुन्छ, सो हुँदैनथ्यो ।

लाचार चालक

सडक जामको एउटा प्रमुख कारण अनेको सडक अनुशासनको उल्लंघन नै हो । अनावश्यक ठाउँमा रोक्ने, जथाभावी चढाउने/ओराल्ने, ओभरटेक गर्ने । सार्वजनिक यातायात कहाँ, कति समय रोक्न पाउने भन्ने कुरालाई न नियमन गरिएको छ, न अनुगमन ।

यात्रु कोच्नका लागि चालकले गाडी आफुखुसी रोक्ने गर्छन् । यस्तो लाग्छ, यात्रुहरु केवल रमाइलोको लागि गाडी चढेका हुन् । यात्रुहरुको आफ्नै समस्या हुन्छन् । उनीहरुलाई गन्तव्यमा पुग्ने हतारो हुन्छ । तर, यात्रुको अवस्थाप्रति चालकहरु कतिपनि सचेत हुँदैनन् ।

क्षमताभन्दा बढी यात्रु कोच्ने, जथाभावी यात्रु चढाउने र ओराल्ने, आफुखुसी जति समयपनि गाडी रोक्ने चालकको जुन प्रवृत्ति छ, त्यसले सडक जाम गराइरहेको हुन्छ ।

सडक अनुशासनको कुरा

यदि सडक अनुशासन कडाइका साथ पालना गराउने भने सडक जामको यो कहालिलाग्दो अवस्था धेरै हदसम्म अन्त्य हुन्थ्यो । सडक र सवारीलाई सही ढंगले नियमन गराउने, अनुगमन गर्ने हो भने यो क्षेत्र व्यवस्थित हुन्थ्यो । कुनैबेला ट्राफिक प्रहरीकै अग्रसरतामा सार्वजनिक यातायातले ज्येष्ठ नागरिक, अशक्त एवं महिलाको लागि कोटा प्रणाली लागु गरेको थियो । अहिलेसम्म यात्रुले त्यसको पालना गरिरहेका छन् । यसबाट के प्रष्ट हुन्छ भने, ट्राफिक प्रहरी जागरुक हुने भने सार्वजनिक यातायातलाई व्यवस्थित गर्न कठिन छैन । तर, ट्राफिक प्रहरीमा त्यस्तो जाँगर, दृढता, इच्छाशक्ति होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment