Comments Add Comment

कथा : सचिवभन्दा कम हुने थिइनँ !

लहडै लहडमा एउटा अकाउन्ट खोले पनि फेसबुक चलाउन उतिसारो रुचि लिँदैनथे हरिहरजी । अलिअलि चलाउन थालेपछि पनि न फ्रेन्ड रिक्वेष्ट पठाउँथे, न आएका रिक्वेष्टलाई एक्सेप्ट गर्थे । न केही पोष्ट गर्थे, न कुनै अन्य गतिविधि नै । खाली कहिलेकाहीँ खोल्यो, हेर्‍यो, बस् ।

दुईचार महिना यत्तिकै बिते । घर-स्कूल, अनि स्कूल-घर गर्दैमा जीवन चलिरहेको थियो । अलि पछि गोविन्द सरको संगतले भने उनलाई गज्जबकै फेसबुकप्रेमी बनायो ।

अब भने उनको लत फेसबुकमा मजाले बस्यो । फूलमा माहुरी टाँसिएझैँ ऊनी फेसबुकमा टाँसिन थाले । पलपलका अपडेटहरू राख्न थाले । खाएको, लाएको, हिँडेको, डुलेको, सुतेको, उठेको, भेटघाट गरेको सब अब फेसबुकमा अपडेट हुन थाल्यो ।

चाडवाड, मेला, भेलाका विशेष अवसरहरू त झन् छुट्ने कुरै भएनन् । ‘हरिहरले शौच बाहेकका सबै गतिविधि फेसबुकमा हाल्छ’ भन्ने कहावत नै बन्यो स्कुलमा ।

०००

यत्तिकैमा हरिहरजीका कताकताबाट भिनाजु पर्ने एकजना मान्छे मन्त्री भए ।

राजनीतिमा लागेको वा नलागेको मान्छे को कतिखेर मन्त्री हुन्छ, ठेगानै हुन्न हाम्रो देशमा । गाउँ-टोलमा राजनीतिमा सक्रिय थिए हरिहरजी । तर, उनको राजनीतिक सक्रियताले केही फलाउन सकेको थिएन । ऊनी सक्रिय रहेकै दलबाट आज उनका भिनाजु पर्ने मन्त्री भए । उनको खुशीको सीमै रहेन ।

उनले चिनेको र हल्काफुल्का नै सही, उनलाई चिनेका मान्छे अहिलेसम्म यति ठूलो पदमा पुगेको यो शायद पहिलोपल्ट हो । त्यो पनि आफ्नै पार्टीका मान्छे । त्यसैले मन्त्रीज्यूलाई नभेटी नछाड्ने निष्कर्षमा पुगे ऊनी ।

तर, भेट्ने कसरी ? हल्का समस्या थियो । किनभने, एक त आफ्ना साख्यै भिनाजु थिएनन् । त्यसमाथि अघि-पछि नभेटेर मन्त्री भएपछि मात्रै भेट्न जाँदा के पो ठान्ने हुन् भन्ने पीर थियो ।

आ… जेसुकै सोचून् , जेसुकै भनून् भन्दै हृयाकुलाले पेलेर उनी शनिबारको दिन पारेर दिदी भिनाजुलाई भेट्न मन्त्री क्वार्टर गए ।

हरिहरलाई देखेर दिदीभिनाजु खासै छक्क परेनन् । किनभने, मन्त्री भएपछि नाता केलाउने, सम्बन्ध गाँस्ने, गाँसिएको सम्बन्ध नवीकरण गर्ने अनि सम्पर्क सूत्र विकास गरेर पहुँच बढाउन खोज्नेहरू थुप्रै आउँछन् भन्नेमा ती जानकार थिए । अभ्यस्त पनि हुँदै थिए ।

चाकडीमा उस्ताद हरिहरजीले भिनाजु पर्नेलाई खुट्टैमा ढोग्न लम्पसार मुद्रा तय गर्दा भए । तर, भिनाजुले हात अघि बढाए । ढोगभेटपछि स्वाभाविकरूपमा भिनाजुलाई बधाइ दिए । भिनाजुसँग दुई/चारवटा सेल्फी पनि भ्याइदिए ।

‘मान्य मन्त्रीजीउसित यसो यक सेल्फी’ क्याप्सन लेख्दै हरिहरले फोटो पनि पोष्ट गरिहाले फेसबुकमा । लाइक र कमेन्ट अरूबेलाको भन्दा धेरै आए । मन्त्रीज्यूसँगको सेल्फीमा यो हुनु स्वाभाविक थियो । कतिपयले बधाई छ भन्दै कमेन्ट पनि लेखे ।

उनी सदाझैं स्कुल जाउआउ गरि नै रहे । धेरै कुरो त उही नै थियो । तर, धेरैले ऊनलाई अर्कै किसिमले हेर्न थाले । मानौं हरिहरजी चन्ऽलोकको यात्रा गरेर आएका हुन् । अरूबेला ‘हरे’ भनेर बोलाउने हेडसरले हरिहर मात्रले नपुगेर त्यसमा ‘जी’ पनि जोडेर सम्बोधन गर्न थाले  ।

केही दिनपछि हेडसरले हरिहरले गर्ने कामका लागि अर्को मान्छे नियुक्त गरे । घण्टी बजाउने, चिया ओसार्ने लगायतका हरिहरका सारा कामहरू अब त्यही नवनियुक्त स्टाफले गर्न थाले ।

हरिहरजी विस्तारै-विस्तारै फुर्सदिला भए । बरू हेडसरले उनीसँग विद्यालयसँग सम्बन्धित नीतिगत कामकुरामा अनुभवी भन्दै सल्लाह लिन थाले ।

हरेक कुरामा अब हरिहरजी चाहिने भो, खासगरी हेडसरलाई । हेडसर र हरिहरजीको एकता हेर्न लायक भो । ‘चङ्गा र धागो जस्तो छ हाम्रो सम्बन्ध’ बेलाबेला हेडसर यसै भनेर हरिहरजीको चाकरी गर्थे ।

मन्त्रीजीसँगको सेल्फीले हरिहरजीलाई शक्ति दियो । शान दियो । मान दियो । दाम दियो । र, दियो विस्तारै विस्तारै अभिमान पनि । ‘मैले जे गरे नि हुन्छ यो स्कुलमा’ भन्ने बनायो उनलाई ।

पछि-पछि कसलाई कतिवटा क्लास दिने, कुन-कुन क्लास दिने जस्ता कुरामा पनि हरिहरकै निर्देशन चल्न थाल्यो । स्कुलमा उनले जे बोल्यो, त्यही हुन थाल्यो । दशौं बर्ष पढाएका अनुभवी शिक्षकहरूमाथि उनले राज गर्न थाले ।

व्यवस्थापन समितिलाई पनि विस्तारै-विस्तारै आफ्नो प्रभावमा राख्न सफल भए हरिहर । यही मौकामा बाह्रखरी मात्रै जानेका तर नक्कली प्रमाणपत्रधारी भतिजलाई निजी स्रोतबाट तलव खाने गरी  शिक्षकमा जागिर लगाउन पनि सफल भएका थिए । तर, भतिजले पढाउनै सकेनन् । अभिभावकहरूको चर्को विरोधमा हटाउन बाध्य भए ।

स्कुलका शैक्षिक, आर्थिक, प्रशासनिक लगायतका हरेक गतिविधिमा हरिहर घनीभूत रूपमा संलग्न हुन थाले । स्कूलका ‘डिफ्याक्टो हेडमास्टर’ नै उनी भए । उनलाई नसोधी हेडसरले स्कूलको कुनै पनि काम गर्न नसक्ने भए ।

हरिहरको ठालुगिरी स्कुलमा मजैसँग चल्यो । स्कूलका चल अचल सम्पतिजति सबै उनको आफ्नै व्यक्तिगत जस्ता भए । स्कुलका नाममा किनेको नयाँ ल्यापटप उनले आफ्ना छोरालाई दिलाउन सफल भए । उनको घर र स्कुलको सीमाना जोडिएको थियो । यही मौकाको फाइदा उठाउँदै स्कुलको जग्गा आफ्नो बनाउन पनि भ्याए । को बोल्ने ? कसले बोल्ने ? मन्त्रीको ‘सालो’ का विषयमा ।

हरिहरले चाहे जसरी स्कुलका त्यस्ता सम्पत्तिहरू प्रयोग गर्नमा अब कुनै रोकटोक थिएन । एकाध विरोधका आवाजहरू पानीको फोका झैं त्यतिकै बिलाएर जान्थे । विद्यार्थीहरूलाई पनि कहिलेकाहीँ लठैत बनाएर आफ्नो दलको जुलुसमा लैजान्थे उनी ।

हरिहरजी र हेडसरको मिलेमतोमा मह काढेर भाग शान्ति हुँदा र्‍याल बाहेक केही काढ्न नपाएका एकाध बबुराहरूले हेडसर र हरिहरको यो एकतालाई भ्रष्ट आत्माहरूको एकता पनि भनेर कुरा काट्थे । तर, यसले तिनलाई केही फरक पार्दैनथ्यो ।

यसरी हरिहरको जुनी नै फेरियो । यदाकदा हेडसरसँग विवाद, भनाभन भएका बेला उनी आफूलाई कार्यालय सहयोगी भएको भुल्थे । त्यस्तो बेला हेडसरलाई ‘कविन्द्रजी’ भनेर सम्वोधन गर्थे । कविन्ऽ सर चाहिं सुनेको नसुने झैं गर्थे वा यसो गर्नु ऊनको बाध्यता थियो ।

मन्त्रीजीसँग राम्रै चिनजान भएपछि हरिहरलाई राम्रै आत्मविश्वास पलाएछ क्यारे । बेलाबखत आफ्ना मित्रहरूसँग भन्थे, ‘हेर ! नपढेर मात्रै हो, पढेको भए म पनि सचिवभन्दा कम हुने थिइनँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment