Comments Add Comment

सामाजिक कुरीतिविरुद्ध लाग्ने धार्मिक अगुवाको प्रतिबद्धता

२९ पुस, वीरगञ्ज । पर्सामा विभिन्न धर्मका गुरुहरुले समाजमा हुने कुरीति र आपराधिक गतिविधिविरुद्ध एक भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले बालविवाह अन्त्य गर्ने कानूनलाई सघाउने, शान्ति सुरक्षा खल्बल्याउने व्यक्तिहरुको बारेमा सुरक्षा निकायलाई सूचना दिने,  महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथिको हिंसा, बालविवाह, छुवाछुत, दाइजो प्रथा, बोक्सी आरोप, लैंगिक विभेद, घरेलु हिंसा, लागूऔषध तथा मदिराजन्य अपराधविरुद्ध उभिन तयार रहेको भन्दै लिखित रुपमै प्रतिबद्धता जनाएका हुन् ।

त्यस्तै लागूऔषध ओसार प्रसार, बिक्री वितरण र सेवन गर्ने व्यक्तिको बारेमा प्रहरीलाई जानकारी दिन उनीहरु तयार देखिएका छन् । सामाजिक सञ्जालको दुरुपयोगबाट हुने साइबर अपराधबाट आफूपनि बच्ने र अरुलाई पनि बचाउने उनीहरुको भनाइ छ ।

समुदाय प्रहरी साझेदारी अन्तगत जिल्ला प्रहरी कार्यालय पर्सा र पहल नामक संस्थाले आयोजना गरेको कार्यक्रममा पण्डित, पुरोहित, पास्टर (पादरी), मौलाना, मौलवी र शिख धर्मका गुरुहरुले लिखित र मौखिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बालविवाह न्यूनिकरण तथा रोकथाम सम्बन्धी जनचेतना मुलक कार्यक्रममा हिन्दु, मुस्लिम, सिख, इसाई धर्मका गुरुहरुसँग प्रहरीले प्रतिबद्धता लिएको थियो । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बालविवाह लगायत सामाजिक कुरीति र आपराधिक घटना न्यूनिकरणका लागि धर्म गुरुहरुले योगदान गर्न सक्ने भएकोले प्रतिबद्धता लिइएको बताए ।

‘कानूनले विवाह २० वर्ष पुरा भएपछि मात्रै गर्नु भनेको छ, यहाँ त्यो भन्दा कम उमेरमै विवाह गराउने चलन छ, त्यसले विभिन्न सामाजिक समस्या निम्त्याइरहेको छ,’  एसपी राठौरले भने, ‘अन्य सामाजिक कुरीति, विसंगतिको बारेमा पनि धार्मिक अगुवाका कुरा समाजमा सुनिने भएकोले सहयोग गर्न भनेका हौं ।’

मुलुकी अपराध संहिता २०७४ मा २० बर्ष नपुगी गरेको विवाह स्वतः रद्ध हुने उल्लेख छ ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक गौतम थापाले बालविवाहको कारण, असर र कानूनी व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले बाल विवाह गराउनलेलाई समेत कारबाही हुने कानूनी व्यवस्थाबारे जानकरी गराउँदै धर्म गुरुहरुले विवाह गर्दा उमेर सोधेर मात्रै गराउन आग्रह गरे ।

‘बालविवाहका कारण सन्ततीको भविष्यमा खेलबाड भइरहेको छ, त्यसलाई रोक्नुपर्छ ।’ उनले भने ।

समाजमा बालविवाह हुने गरेको भएपनि प्रहरीमा उजुरी एकदमै न्यून आउने गरेको उनको भनाइ छ ।

धर्मले देशको कानून मान्नुपर्छ भनेको छ : धार्मिक अगुवा

धार्मिक अगुवाहरुले कुनैपनि धर्मले कानूनविरुद्ध चल्न नभनेको बताएका छन् । उनीहरुले जुन मुलुकमा बस्ने हो त्यो मलुकको कानूनको पालना गर्नु दायित्व भएको बताए ।

मौलाना अलि असगर मदनीले कुरानले मुलुकको कानून मान्नुपर्छ भनेको बताए । ‘धर्मले बालिग भएपछि विवाह गर्नु भनेको छ, सरकारले २० वर्षपछि मात्रै विवाह गर्नु भनेर कानून ल्याएको छ, हामीले त्यसलाई मान्नुपर्छ,’ मदनीले भने  ।

बाइबलमा सरकारले बनाएको नियम अनुसार चल भनेर उल्लेख गरेको क्रिश्चियन समुदायका अगुवा नारायण आचार्यले बताए ।

विश्व हिन्दू परिषद नेपालका ज्योतिष सम्राट पुरुषोत्तम दुवेले विवाहको उमेर हद १८ वर्ष कायम गर्नुपर्ने माग गरे । ‘वेद, गीता, रामायण लगायतका ग्रन्थमा जननी र जन्भभूमिको कदर गर्नुपर्छ भनेको छ,’ पण्डित दुवेले भने, ‘ तर उमेर हद पहिला कै ठिक थियो, २० वर्ष अलि बढी भयो कि ?’

वीरगञ्ज क्रिश्चियन मण्डलीका रामप्रसाद घिमिरेले दलित विपन्न समुदायमा बालविवाह बढी हुने गरेकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

पहल संस्थाका दिलिप राज कार्की विद्यालय र समुदाय स्तरमा समेत सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment