Comments Add Comment

रोकिएको नारायणगढ-बुटवल सडक विस्तारको काम सुरु

१ माघ, चितवन । सडक विस्तारका क्रममा काटिएका रुख समुदायले दाबी गरेपछि रोकिएको नारायणगढ बुटवल सडकखण्डको काम पुनः सुरु भएको छ ।

गत पुस २६ गतेबाट रोकिएको काम दुई दिनअघि सुरु भइसकेको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

कावासोती नगरपालिका-२ को शिव सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुले काटिएका रुख डिभजन वन कार्यालयलाई नदिने भन्दै अवरोध खडा गरेपछि काम रोकिएको थियो ।

कावासोतीको नजिकै महाराजा सामुदायिक बनको क्षेत्रको रुख काटेर शिव सामुदायिक बनमा प्रवेश गरेपछि स्थानीयले विरोध गरेका थिए ।

आयोजनाले विवाद भएको ठाँउमा काम रोकेर गैंडाकोट नगरपालिकाको थुम्सी नजिकबाट रुख कटान र सडक विस्तारको काम अघि बढाएको हो ।

आयोजना सूचना अधिकारीका अनुसार विवाद भएको ठाँउमा समस्या समाधानका लागि पहल भैरहेको छ । ‘काम रोक्दा आयोजना नै प्रभावित हुने देखियो’ सूचना अधिकारी खनालले भने, ‘त्यसैले तत्कालका लागि विवाद नभएको ठाँउबाट काम सुरु गर्ने भन्दै थुम्सीमा आयौं ।’

थुम्सीमा सडक सीमाका रुखहरु काट्ने र सडक विस्तार दुवै काम सँगै अघि बढाइएको छ । सडक विस्तारका क्रममा पूर्वी र पश्चिम दुवै खण्डमा गरी ४६ हजार २ सय ९४ रुख काट्नुपर्नेछ ।

वन डिजिभन कार्यालय नवलपुरले गत पुस ८ गते रुख कटानको पूर्जी दिएपछि रुख काट्ने काम सुरु भएको थियो ।
गैंडाकोटदेखि कावासोती बर्खाअघि नै कामको तीव्र गति दिने योजना बनिरहेको भए पनि विभिन्न उल्झनहरु झिक्ने गरिएको आयोजनाको भनाइ छ ।

११३ किलोमिटर लामो नारायणगढदेखि बुटवलसम्मको सडकखण्ड अन्तर्गत गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर, पूर्वी खण्डलाई प्याकेज एक र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर, पश्चिम खण्डलाई प्याकेज दुई गरेर थालिएको सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ ।

गत वर्ष पुसमा ठेक्का सम्झौता भएर चैत्र ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलेे सडकखण्डको शिलान्यास गरेको थिए ।

एसियाली विकास बैंकको ऋण सहयोग विस्तार गर्न लागिएको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ ।

चाइना स्टेट कन्स्ट्रक्सनले गैंडाकोट-दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लागेको छ ।

यो सडक २०८० साउन २२ गतेसम्म (साँढे तीन वर्ष) निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment