Comments Add Comment

निर्भया प्रकरण : जेलमा दोषीले कमाएको पैसा मृत्युदण्डअघि नै परिवारलाई दिइने

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आठ वर्ष पहिलेको सामूहिक बलात्कार घट्नामा दोषी ठहर भएकाहरूलाई एक हप्तापछि मृत्युदण्डको सजाय दिइँदैछ । मृत्यदण्डको सजायबाट बच्न गरेको अन्तिम अपिल (क्यूरेटीभ पिटिशन) अदालतले खारेज गरेपछि उनीहरूको सजाय कार्यान्वयन हुने लगभग निश्चित भएको हो ।

जेलमा रहँदा कमाएको पैसा भने दोषीहरूका परिवारलाई दिइने भएको छ । अदालतले दोषी ठहर गरेका अक्षय सिंहले एक लाख दश हजार ४०० (भारु ६९ हजार), विनय शर्माले ६२ हजार ४०० (भारु ३९ हजार) र पवन गुप्ताले ४६ हजार ४०० (भारु २९ हजार) रुपैयाँ कमाएका छन् ।

दोषी मध्येका मुकेश कुमारले भने जेलमा काम गर्न अस्वीकार गरेको एजेन्सीहरूले जनाएका छन् । मृत्युदण्डअघि उनीहरूले एक पटक परिवारका सदस्यलाई भेट्न पाउनेछन् ।

अर्का दोषीलाई भने बलात्कारका बेलामा नाबालक भएकाले बालसुधार गृहमा पठाइएको छ । आरोपी मध्येका राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरेका थिए ।

के हो निर्भया प्रकरण ?

राम सिंहले हाँकीरहेको बसमा १६ डिसेम्भर २०१२ राती निर्भयामाथि सामूहिक बलात्कार भयो । ६ जनाको आक्रमणमा परेकी निर्भयाको २९ डिसेम्बर २०१२ मा उपचारको क्रममा सिंगापुरमा मृत्यु भएको थियो ।

पीडितको वास्तविक नाम गोप्य राख्न सञ्चार माध्यमले जुराएको नाम हो, निर्भया । मेडिकलकी विद्यार्थी निर्भयामाथिको अमानवीय घट्नापछि भारतमा यसको चर्को विरोध भयो ।

निर्भयामाथिको आक्रमण यति आततायी थियो की महिला हिंसा विरुद्धको कानूनको समिक्षा गर्न व्यापक दवाव बढ्यो । त्यसपछि भारतले जस्टिस वर्मा समिति गठन गरेर त्यसैको सिफारिसको आधारमा २०१३ मा बलात्कार जस्तो अपराधमा मृत्यदण्डको सजायको व्यवस्था गर्‍यो ।

१३ सेप्टेम्बर २०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गर्‍यो ।

अदालतको फैसला ८ माघमा कार्यान्वयन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment