Comments Add Comment
मेरो कथा :

म देशका लागि लक्की रहेछु !

२ माघ, काठमाडौं । सिन्धुपाल्चोकको एउटा ठिटो पढ्न विदेश जाने तयारीका साथ काठमाडौं आएको थियो । तर अनायास बाटो मोडिन्छ । विदेशिने सोचलाई तिलाञ्जली दिएर आफूलाई फुटबलमा समर्पण गर्छ र बन्छ राष्ट्रिय फुटबलर ।

यो मेरो कथा हो ।

म प्लस टु सकेपछि आमाको इच्छाअनुसार विदेश जाने प्रक्रिया मिलाउन सिन्धुपाल्चोकबाट काठमाडौं आएको थिएँ । त्यसबेला पनि फुटबल त खेल्थेँ, तर राष्ट्रिय टिमसम्म पुग्ने लक्ष्य नै थिएन । मेहनत, भाग्य र अनुशासनले यहाँसम्म ल्यायो ।

सरस्वती युथ क्लबबाट व्यवसायिक फुटबलमा पसेको म नेपाल आर्मीको विभागीय टिमबाट खेल्दैछु । फुटबल नै सबथोक भएको छ । सबैभन्दा ठूलो कुरा, नेपालले चारवटा अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्दा म टिमको सदस्य थिएँ र अझै धेरै जित्न चाहन्छु ।

०००

सिन्धुपाल्चोक बाह्रबिसेस्थित मेरो घरमा फुटबलको माहौल थियो । मामा र फूपु राष्ट्रिय टिमका पूर्वखेलाडी थिए भने दाइ बीएम कुथु अखिल नेपाल फुटबल संंघ (एन्फा)को प्रोडक्ट । अनि म पानीमाथि ओभानो बस्न सम्भव नै थिएन ।

फुटबल खेल्ने कि पढ्ने भन्ने द्विविधा भयो । मम्मी फर्दर स्टडीका लागि मलाई बाहिर पठाउन चाहनुहुन्थ्यो । उहाँकै जोडबलमा विदेश अप्लाई गर्न भनेर म काठमाडौं आएँ । तर संयोगवश यहाँ पनि फुटबलरहरु नै साथी बने । कलेज गेमहरु खेल्दाखेल्दै मेरो फुटबल जीवनको अर्को राउन्ड शुरु भयो ।

स्कुले जीवनबाटै फुटबल खेलेँ । शुरुमा डिफेण्डर थिएँ । स्कुल लेभलको खेलहरुमा अरुभन्दा अग्लो भएको आधारमा शिक्षकले मलाई फुलटाइम किपरको जिम्मेवारी दिनुभयो । स्कुलबाट जिल्लास्तरीय खेलहरुमा अवसर पाएँ, काठमाडौंसम्म आएर कोकाकोला कप खेलेँ । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण चाहिँ सिन्धु कप रह्यो । त्यसबेला हाम्रो टिम बाह्रबिसे युथ क्लब फाइनलमा पारजित हुँदा पनि म उत्कृष्ट गोलकिपरको मैले पाएँ । मेरो पहिलो ठूलो सफलता त्यही थियो र त्यहीँबाट मेरो फुटबल करिअरले लय समात्यो ।

दाइ बीएमले फुटबललाई निरन्तरता दिनुभएन । उहाँको ठाउँ पनि मैलै लिएको जस्तो लाग्छ ।

०००

सिन्धुकप खेलेलगत्तै पढाईमा केन्द्रित भएँ । एसएली र प्लस टु सकेँ । अब के गर्ने ? फुटबल खेल्ने कि पढ्ने भन्ने द्विविधा भयो । मम्मी फर्दर स्टडीका लागि मलाई बाहिर पठाउन चाहनुहुन्थ्यो । उहाँकै जोडबलमा विदेश अप्लाई गर्न भनेर म काठमाडौं आएँ । तर संयोगवश यहाँ पनि फुटबलरहरु नै साथी बने । कलेज गेमहरु खेल्दाखेल्दै मेरो फुटबल जीवनको अर्को राउन्ड शुरु भयो ।

मेरो खेल सरस्वती युथ क्लबका कोच र म्यानेजर नवीन दाईले हेरिरहनु भएको रहेछ । एक दिन उहाँले भन्नुभयो, ‘मेरो क्लबबाट खेल्ने भए ट्रायल दिन आऊ ।’

साथीहरुले पनि ट्रायल दिन सुझाए । ट्रायलमा मैले राम्रो गरेँ । म क्लबमा आवद्ध भएँ । यही क्लबबाट शहीद स्मारक ए डिभिजन लिगमा पनि डेब्यु गरेँ । पहिलो सिजन ठूला क्लबविरुद्ध राम्रो प्रदर्शन गरेपछि ममाथि अरुको पनि नजर पर्‍यो । ललितपुरे क्लब थ्रीस्टारले नकआउट टुर्नामेन्टहरु खेल्न बोलायो । किरण (चेम्जोङ) दाइ राष्ट्रिय टिममा व्यस्त भएका बेला मैले थ्रीस्टारबाट नकआउट प्रतियोगिताहरु खेलेँ । तर म थ्रीस्टारको टिममा भने परिनँ ।

त्यसपछि म थुप्रै क्लबमा पुगेँ । पछिल्लो पाँच वर्षदेखि भने नेपाल आर्मी क्लबमा अडिएको छु ।

०००

मेरो आइडल उपेन्द्रमान सिंह हुनुहुन्छ । क्लब र राष्ट्रिय टिममा रहँदा उहाँबाट धेरै सिक्न पाएको छु ।

म उहाँको सामिप्यतामा पुगेको भने उहाँ हिमालयन शेर्पामा हुँदा हो । नकआउट टुर्नामेन्टहरु खेल्न थ्रीस्टार पुगेका बेला उहाँले नै हिमालयन शेर्पाबाट राष्ट्रिय लिग खेल्न बोलाउनुभयो । म आँखा चिम्लेर हिमालयनतिर हाम्फालेँ । त्यसबेला हाम्रो टिम राष्ट्रिय लिगमा दोस्रो भयो, यसले मलाई निकै फाइदा भयो ।

उपेन्द्र दाइ मध्यपुर युथ एसोसिएसन क्लबमा जानुभयो । मध्यपुर भर्खर ए डिभिजनमा उक्लिएको थियो । उहाँलाई पछ्याउँदै म पनि मध्यपुर पुगे । दुर्भाग्य ! हामी ए डिभिजनबाट रेलिगेसनमा पर्‍यौं । त्यो कुराले मलाई अहिलेसम्म पनि घोचिरहन्छ । हाम्रो टिम नराम्रो पनि थिएन, तर टिकाउन सकेनौं ।

मध्यपुर युथ क्लबका लागि चट्याङ परेजस्तो भयो । सबैभन्दा ठूलो चोट चाहिँ उपेन्द्र दाइलाई थियो । म पनि दुखी भएँ । तर दुःखी भएर मात्र त अगाडि बढ्न सकिन्न । अब के गर्ने भनेर उपेन्द्र दाइहरुसँग सल्लाह गरेँ र छानेँ जावालाखेल युथ क्लब । एकैपटक ठूलो क्लब ताक्नुभन्दा औसत क्लबमा जाँदा ठीक होला भनेर मैले जावलाखेल छानेको थिएँ । एक सिजन त्यहाँबाट खेलेँ ।

टिमको प्रदर्शन औषत मात्र रह्यो । त्यो सिजन लिगमा नेपाल आर्मीले पनि निकै संघर्ष गरेको थियो । शायद नवौं भएको थियो । लिग सकिएपछि भरत (खवास) दाइ, नवयुग (श्रेष्ठ) सँग भेट भयो । उहाँहरुले आर्मीमा गोलकिपर चाहिएको भन्दै आउन आग्रह गर्नुभयो । मैले धेरै सोचेँ, धेरैसँग सल्लाह लिएँ र, आर्मीमा गएँ ।

म आवद्ध भएपछि झण्डै चार वर्ष लिग भएन तर क्लबले मलाई हटाएन । हामीले नकआउट टुर्नामेन्टहरु भने खेलिरह्यो र थुप्रै जित्यौ पनि । शायद त्यही नकआउट टुर्नामेन्टहरुका कारण आर्मीले राखिराख्यो । त्यसैले म आर्मीप्रति आभारी छु ।

हुन त म अहिले पनि क्लबमा करारमै छु । म आफैंले आर्मीमा जागिर नै गर्छु भनेर सोचेको थिइनँ । व्यापारिक परिवार पृष्ठभूमि भएर पनि होला, खेलुन्जेल खेल्छु, त्यसपछि व्यवसायमा लागौंला भन्ने थियो । तर फुटबलमा निस्किन गाह्रो हुनेरहेछ । अहिले चाहिँ आर्मीमा जागिर नै खाऊँ कि जस्तो भइरहेको छ । हेरौं के हुन्छ । भोलि जे भएपनि आर्मीसँग मेरो छुट्टै खालको अट्याचमेन्ट भइसक्यो ।

साग खेल्न हामी खेल्न गुवाहाटी गएको बेला नेपालमाथि नाकाबन्दी थियो । हामीभित्र एउटा इख थियो । अनि, बंगबन्धु जितेर आएको जोश पनि ।  हामी फाइनलमा पुग्यौं, भारतलाई उसकै मैदानमा हराएर उपाधि जित्यौं र सिंगै देश खुसी भयो ।

०००

आर्मीमा आवद्ध भएर थुप्रै नकआउट प्रतियोगिताहरु जितेपछि ए डिभिजन लिग जित्न सकेको छैन । म पुगेपछि मात्र होइन, अहिलेसम्म नै आर्मीले जितेको छैन । यसको दबाव हामीलाई पनि छ । त्यसैले यो पटक लिगमा हाम्रो लक्ष्य उपाधि नै हो ।

लिगको करिब आधा खेल सकियो । मछिन्द्रसँग अंक बराबरी भएपनि हामी दोस्रो स्थानमा छौं ।

कसले जित्छ त भन्न गाह्रो छ तर हाम्रो लक्ष्य चाहिँ उपाधि जित्ने नै हो । तर यसका लागि हाम्रो प्रदर्शनमा जुन स्थिरता देखिनु पर्ने हो, त्यो चाहिँ अझै देखिएको छैन । तलमाथि भइरहेको छ । थ्रीस्टारविरुद्ध भने हामीले सिजनकै राम्रो खेल खेलेका थियौ. । आर्मीको ‘रियल गेम’ देखिएको थियो जस्तो लाग्छ ।

००००

क्लब करियरसँगै राष्ट्रिय टिमको यात्रा शुरु भएको थियो । सरस्वतीबाट खेल्दा उपेन्द्र दाइले मेरो खेल हेरिरहनुभएको त माथि नै बताएँ, त्यसैले त हिमालयन शेर्पा हुँदै मध्यपुरसम्म पुगेको थिए । राष्ट्रिय टिममा पनि उहाँले नै पत्याएर पुगेँ ।

त्यसबेला राष्ट्रिय टिममा विकास मल्ल, रितेश थापा, किरण चेम्जोङ एक से एक गोलकिपरहरु थिए । मैले राष्ट्रिय टिममा स्थान बनाउने सम्भावना नै थिएन भन्दा हुन्छ । तर त्यही बेला दुई संयोग एकसाथ पर्‍यो । एकातिर विकास दाइको घुँडाको चोट लाग्यो भने अर्कोतिर राष्ट्रिय टिमले दुईको सट्टा तीन जना किपर अनिवार्य लैजाने भयो । किरण र रितेश दाइसँगै म पनि राष्ट्रिय टिममा परेँ ।

भारतमा भएको नेहरु कपमा क्यामरुनविरुद्ध डेब्यु गरेँ । डेब्युअघिको कथा रोचक छ ।

नेपाली टोलीको प्रशिक्षक कृष्ण थापा र गोलकिपर प्रशिक्षक उपेन्द्रमान सिंह हुनुहुन्थ्यो । नम्बर वान गोलकिपर किरण दाइ र म रुममेट थियौं । त्यो खेलको दुई दिनअघि दाइले मलाई त सन्चो भएन भन्दै हुनुहुन्थ्यो । ज्वरो आएर उहाँ त खेल्न नसक्ने हुनुभयो । उहाँको ठाउँमा रितेश दाइलाई खेलाइयो । तर ३५ मिनेट बाँकी हुँदा रितेश दाइ घाइते हुनुभयो । अनि म मैदान प्रवेश गरेँ ।

डेब्यू खेल भएकाले अलिकति नर्भस थिएँ । म मैदान गएपछि नेपालले एक गोल पनि खायो । तर समग्रमा राम्रै खेलेको थिएँ । खेलपछि साथीहरुले पनि त्यही भनेका थिए ।

००००

मैले ठूलो अवसर पाएको भनेको बंगबन्धु गोल्डकपमा हो ।

त्यतिखेर बालगोपाल महर्जन प्रशिक्षक र गोलकिपर कोच उपेन्द्रमान नै हुनुहुन्थ्यो । बंगबन्धु कपलाई हामीले साग गेमको तयारीका रुपमा लिएका थियांै । साँच्चै भन्नुपर्दा उपाधि जित्ने लक्ष्य थिएन, कम्तिमा सेमिफाइनल पुग्ने भन्ने थियो ।

तर टिममा गजबको एकता थियो । प्रशिक्षकले खेलाडीलाई र खेलाडीले प्रशिक्षकलाई विश्वास गरेका थिए । त्यसले रिजल्ट आयो, हामीले उपाधि जित्यौं ।

त्यसपछि १२ औं साग, एएफसी सोलिडारिटी कप अनि यही मंसिरमा नेपालमै भएको १३औं साग हामीले जित्यौं । देशको लागि गोल्ड मेडल जित्नुको गर्व बेग्लै हुन्छ । मेरो लागि सबैभन्दा ठूलो कुरा, सबै प्रतियोगिता जित्दा म टिमको सदस्य थिएँ । यसरी हेर्दा म देशका लागि लक्की नै रहेछु कि जस्तो लाग्छ ।

१२औं सागमा भने हाम्रो लक्ष्य उपाधि नै थियो ।

साग खेल्न हामी खेल्न गुवाहाटी गएको बेला नेपालमाथि नाकाबन्दी थियो । हामीभित्र एउटा इख थियो । अनि, बंगबन्धु जितेर आएको जोश पनि । बालगोपाल महर्जन  प्रशिक्षकको कोर्स गर्न जानुपरेकाले राजुकाजी शाक्य त्यो भूमिका आउनुभएको थियो । उहाँसँग पनि हाम्रो राम्रो तालमेल मिल्यो । हामी फाइनलमा पुग्यौं, भारतलाई उसकै मैदानमा हराएर उपाधि जित्यौं र सिंगै देश खुसी भयो ।

त्यो बेला नवयुग श्रेष्ठ साँच्नै हिरो बने । यस्तो लाग्थ्यो उनले जस्तो छोए नि गोल । उनले नै सेमिफाइनलमा माल्दिभ्सविरुद्ध अन्तिममा दुई गोल गरेर नेपाललाई जिताए । फाइनलमा हामीलाई प्रेसर थियो । झन् शुरुमै भारतले पेनाल्टी पायो र गोल पनि गर्‍यो । तर हामीले हिम्मत हारेका थिएनौं । मध्यान्तरपछि पाएको फ्रिकिकमा प्रकाश बुढाथोकीले बराबरी गोल गरे । जित्ने गोल चाहिँ नवयुगले नै गरे । भारतका ६ फिट अग्लो डिफेण्डर जिंगानियालाई बिट गर्दै ५ फिट ७ इन्चका नवयुगले शानदार गोल गरेका थिए ।

त्यसबेला उनले देखाइदिए स्ट्राइकरमा हुनुपर्ने गुण ।

एउटा रोचक कुरा भन्छु है । नवयुग र म एक–अर्कालाई ‘जुट्टी’ भन्छौं । त्यो बेला म र नवयुग रुममेट थियौं । र, म भन्थे, ‘हेर जुट्टी, तिमी गोल हान्ने काम गर, म रोक्ने काम गरिहाल्छु ।’ अहिले पनि उ छिर्‍यो भने गोल हान्छ भन्ने आशा जाग्छ ।

०००

तर नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्न सकेका छैनौं । गत वर्ष बंगलादशमा पक्का जित्छौं भन्ने थियो । तर सेमिफाइनलमै माल्दिभ्ससँग पराजित भयौं । हाम्रा त्यो लागि ठूलो झट्का जस्तो थियो ।

अब आउने साफमा हामीसँग नयाँ युवा खेलाडीहरु हुनेछन् । अभिषेक रिजाल, विकास खवासहरु आएका छन् । जसरी विमलहरु आउँदा राम्रो भाएको थियो, यो नयाँ टिमले पनि राम्रो गर्छ होला । र, हाम्रो लक्ष्य साफ जित्ने नै हो ।

अहिलेको अवस्थामा हाम्रो लागि साफ वर्ल्डकप जस्तै हो । किनकी हाम्रो पुस्ताले अरु रेकर्ड तोडिसक्यो । साफ जित्न र उच्च गोलकर्ताको कीर्तिमान तोड्न मात्र बाँकी छ ।

त्यसअघि विश्वकप छनोटको महत्वपूर्ण खेलहरु दशरथ रंगशालामा खेल्दैछौं । मार्चमा नेपालमै बलियो टोली अष्ट्रेलियासँग खेल्छौं । अष्ट्रेलयामा खेल्दा पनि घरेलु मैदानमै खेलेको महसुस भएको थियो । किनकी धेरै दर्शक नेपाली नै थिए । हामीले पनि राम्रो खेल्यौं । अब आफ्नै मैदानमा झन् राम्रो दिने अपेक्षा छ ।

००००

आजको दिनमा फुटबल मेरा लागि सबैथोक हो । अहिले मैले जेजति नाम–दाम कमाएको छु, सबै फुटबलले गर्दा नै हो ।

राष्ट्रिय टिमको जर्सी लगाएर मैदानमा उत्रिँदा ‘आउट अफ दिस युनिभर्स’ भनेजस्तो फिलिङ हुन्छ । मलाई अहिले पनि याद छ, पहिलो पटक राष्ट्रिय टिमबाट खेल्ने क्रममा नेपालको राष्ट्रिय गान बज्दा मेरो आँशु नै खसेको थियो ।

म आफैंलाई थाहा छैन, अब कति वर्ष खेल्छु । तर खेलाडी जीवनपछि म्यानेजमेन्ट हेर्न मन छ ।

एउटा समय ममीको चाहना छोरो विदेश जाओस् भन्ने थियो । तर आज म जे छु, त्यसमा उहाँलाई कुनै गुनासो छैन । धेरैले ‘विकेशको ममी, विकेशको ड्याडी’ भनेर चिन्छन् । यसमा ममी–ड्याडी खुशी हुनुहुन्छ, त्यसले मलाई बिछट्टै खुशी दिएको छ ।

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृङ्खला ‘मेरो कथा’को ६९ औं अंकमा यो हप्ता फुटबल खेलाडी  बिकेश कुथुको कथा ।)

प्रस्तुति : गोविन्‍दराज नेपाल

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment