Comments Add Comment

एकपछि अर्को विवादमा मुछिए प्रदेशमन्त्री सुवेदी

मन्त्री भन्छन् : भ्रष्टाचार गर्न जनताले मत दिएकै हैनन्

मन्त्री कृष्ण सुवेदी

२ माघ, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले पुरानो मोडलका मिनी ट्रकहरुलाई एम्बुलेन्स बनाएर वितरण गरेको भन्ने समाचारले केही समय अघि व्यापक चर्चा पायो ।

प्रदेश सामाजिक विकास मन्त्रालयले ‘अत्याधुनिक’ भन्दै वितरण गरेको १६ वटा एम्वुलेन्स ‘फेज आउट’ भइसकेको ४०७ मोडेलको मिनी ट्रक भएको र मन्त्रालयले बजार मुल्य झण्डै दोब्बर लागत देखाएको थियो । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री कृष्ण सुवेदीलाई स्पष्टीकरण सोधे ।

तर मन्त्रालयले पुस २४ गते विज्ञप्ति जारी गरेर ‘तथ्यहीन र भ्रामक’ भन्दै उक्त समाचारको जोडदार खण्डन गर्‍यो । सबै एम्वुलेन्स २०१९ मोडेलको र वातानुकुलित भएकाको मन्त्रालयले जनायो । साथै, सवै प्रक्रिया पुर्‍याएर बजार दर अनुसार नै किनेको दावी पनि मन्त्रालयले गर्‍यो ।

सामाजिक विकास मन्त्री सुवेदी त्यतिमै सीमित रहेनन्, उनले ‘पत्रकारहरुले एम्बुलेन्सलाई ट्रक देख्न थालेछन्’ भन्दै व्यंग्य पनि कसे । तर मन्त्री सुवेदी विवादमा मुछिएको यो पहिलो घटना भने होइन । तत्कालीन सामाजिक मन्त्री दीर्घ सोडारी यौन हिंसाको आरोपमा बर्खास्त भएपछि २७ कात्तिक २०७५ मा उनको स्थानमा आएका सुवेदी चौथो पटक विवादमा तानिएका हुन् ।

गाउँपालिकाको पैसाले गाडीमा तेल

मन्त्रीहरुको गाडीमा सम्बन्धित मन्त्रालयले नै तेल हाल्ने व्यवस्था छ । तर कैलालीको चुरे गाउँपालिकाको कार्यक्रममा जाँदा अत्तरियाको मनिषा पेट्रोल पम्पलाई तेल भराएकोमा मन्त्री सुवेदी पहिलो पटक विवादमा परेका थिए ।

त्यसपछि उनी सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट फेर्ने खेलमा जोडिएर विवादित बने । निजी अस्पताल सञ्चालकको प्रभावमा परेर सरकारी अस्पतालमा नवौं तहका चिकित्सकलाई सुपरिटेन्डेन्ट बनाउने कसरतमा लागेको आरोप उनीमाथि लाग्यो । त्यो आरोपछि मन्त्री सुवेदीपछि हटेका थिए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका ८८ वटै स्थानीय तहका लागि खरिद गरेका अल्ट्रासाउण्डको बिषयमा मन्त्री सुवेदी तेस्रो पटक मुछिए । पहिल्यै ठेकेदार ‘फिक्स्ड’ गरेर उसैको फर्मको मात्र मापदण्ड पुरा हुने गरी टेण्डर निकाल्न लगाएको आरोप उनीमाथि लाग्यो । उनले ‘उच्च प्रविधिका अल्ट्रा साउण्ड खरिद गरिएको’ दावी गरेरै त्यो विवाद साम्य पारेका थिए ।

मन्त्री सुवेदीमाथि मुख्यमन्त्री कप खेलकुद प्रतियोगितामा पनि आर्थिक अनयमितता गरेको आरोप लाग्यो । तीन दिनको प्रतियोगितामा पाँच करोडभन्दा बढी खर्च गर्दा असम्बन्धितहरुलाई लाखौं भत्ता बाँडेको आरोप लागेको थियो । मन्त्रालयले सञ्चालन गरेको स्वास्थ्य शिविरहरुमा समेत आर्थिक अनियमितता भएको आरोप उनीमाथि लागेको छ । मन्त्रालयले स्वास्थ्य शिविरहरुका लागि विनियोजन गरेको ७० लाखमध्ये ६९ लाख ९४ हजार ९५० रुपैयाँ खर्च भएको विलहरु पेश भएका थिए । तर तिनै शिविरको लागि भनेर स्थानीय तहहरुले पनि तिनै औषधि खरिद गरेको देखिन्छ ।

सामाजिक विकास मन्त्रालयबाट भएका काम कारवाहीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण भएको देखिएको छ । आयोगका कञ्चनपुर कार्यालय प्रमुख बाबुराम खतिवडाले अल्ट्रासाउण्ड र एम्बुलेन्सहरु खरिदको विषयमा छानविन थालेको जानकारी दिए ।

त्यस्तै, प्रदेशसभाको लेखा समितिले पनि यसमा चासो देखाएको छ । समितिका संयोजक नन्दाकुमारी बमले सामाजिक विकास मन्त्रालयबाट एम्बुलेन्स खरिदको फाइल मगाएर अध्ययन थालेको जानकारी दिइन् ।

‘भ्रष्टाचार गर्न जनताले मत दिएकै हैनन्’

मन्त्री सुवेदी भने आफूलाई जनताले भ्रष्टाचार गर्न मत नदिएकाले भ्रष्टाचार नगर्ने दाबी गर्दै सामाजिक विकास मन्त्रालयले राम्रा अभ्यासहरु थालेपछि तर्सेका केही व्यक्तिले बद्नाम गर्ने दुस्प्रयास थालेको बताए ।

‘कृष्ण सुवेदीले कुनै गलत काम गर्‍यो कि भनेर भ्रममा नपर्न म आम जनतालाई आग्रह गर्दछु’, उनले अनलाइनखबरसँग भने, ‘साथै, मन्त्रालयबाट हुने हरेक काममा मन्त्रीको प्रत्यक्ष संलग्नता नहुने कुरा पनि जनाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment