२२ कात्तिक, काठमाडौं । पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष र संरक्षणका कथासम्बन्धी विषयवस्तु समेटिएको ‘ज्ञानिका’ कृति लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आज आयोजित कार्यक्रमा पुस्तकमा समेटिएका विभिन्न शीर्षकका लेखकले सामूहिक रूपमा कृति विमोचन गर्नुभयो । गैरआख्यान ‘ज्ञानिका’मा नेपाली प्रकृति, संस्कृति, वन्यजन्तु संरक्षण र विज्ञानको क्षेत्रमा सिङ्गो जीवन अर्पण गरेका साहसी अनि कर्मशील व्यक्तित्वको कर्म र गाथा समेटिएको छ ।
पर्यटन क्षेत्रबाट पेसा सुरु गर्नुभएका सापकोटा वातावरण, प्रकृति र जीवजन्तुका विषयमा निरन्तर कलम चलाउँदै आएका छन् । नेपालका हिमनदी, हिमताल, अनकन्टार डाँडाकाँडा, गड्गडाउँदै बग्ने नदी, गैँडाको ढरढर र हात्तीको हुँकारसम्बन्धी विषयवस्तुको जानकारी पुस्तक अध्ययनबाट प्राप्त हुने लेखकको भनाइ छ ।
देशका प्रकृति, संस्कृति र वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने २१ जना लेखकद्वारा लिखित नेपालका हिमनदी र बाढीको बदलिँदो अनुहार, अविश्वासिलो जीवसँग तीन दशक, पहाडदेखि मैदानसम्म, प्रकृतिको आश्चर्य, नेपाली जडीबुटी र आयुर्वेदको चमत्कार शीर्षकका लेख समावेश छन् ।
पुस्तकमा प्रण र वंश रक्षामा वनस्पतिको सङ्घर्ष, विश्वलाई सामुदायिक वनको ढाँचा, सिकारमार्फत वन्यजन्तु संरक्षण र पर्यटनको अवसर, प्रदूषणमुक्त नेपालको बाटो, माटोको खान्की र स्वास्थ्य मानव, बाँदरसँग संवाद, उसैसँग प्रेम, वन्यजन्तु संरक्षण र पीडाको कथा, विश्वव्यापी पर्यटन दौडको मानचित्रमा नेपाल, शक्तिशाली नदी र चुनौतीपूर्ण भूभागमा प्रवासी माछा, सिकारीसँग लडाइँ, बाघसित भेटैभेट, आँखैअघि खतरा शीर्षकका लेख छन् ।
फाइनप्रिन्ट प्रालिले बजारमा ल्याएको ३८८ पृष्ठको उक्त पुस्तक सापकोटाको छैटौँ कृतिको रु एक हजार १०० मूल्य निर्धारण गरिएको छ । यसअघि उहाँका पन्छी जगत्, त्यो नेपाल, दुखेको युुरोप, वनको वैभव र जीवगाथा पुस्तक प्रकाशित छन् ।
-राससबाट
प्रतिक्रिया 4