Comments Add Comment

चक्रब्युहमा फसेको कांग्रेस

ज्ञानेन्द्र शाहले सत्ता आफ्नै हातमा लिने उत्कट अभिलाषा गरिरहेका बेला नेपाली कांग्रेसमा फुट आएको थियो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीभित्र पनि ज्ञानेन्द्रका पालामा जस्तै नागरिक अधिकार संकुचन गर्ने अभिलाषा पलाएको छ । र, यहीबेला नेपाली कांग्रेस फेरि नराम्रो घर झगडामा फसेको छ ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा एकातिर समग्र पार्टीको सभापतिको भूमिकामा देखा पर्न सकेका छैनन् । अर्कातिर देउवासँगै सभापतिमा पराजित नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समेतले नेपालको हरेक परिवर्तनको नेतृत्व गर्नसक्षम कांग्रेस पार्टीको राष्ट्रिय चरित्र अनुसार पार्टीलाई अगाडि बढाउन देउवालाई दबाव दिन सकेका छैनन् ।

जब सूचना प्रविधि विधेयकलगायत संसदमा पेश भएका अन्य विधेयकले नेपाली जनताको अधिकार खोसिने भय देखियो, तब कांग्रेस झस्कन पुग्यो । तर, यति नै बेला कांग्रेस आफैं घरझगडामा नराम्रोसँग फस्न पुगेकाले राष्ट्रिय राजनीतिमा तरंग ल्याउन सक्ने गरी ऊ आफू केही गर्न सक्ने अवस्थामा छँदै छैन ।

राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका फिकामात्र नभई ऐतिहासिक महाधिवेशनजस्तो विषयसमेत एउटा गुट बसेर निर्णय लिने दुस्साहसले कांग्रेस फुटकै पथमा अगाडि बढेको त होइन भन्ने प्रश्न जन्मिएको छ ।

रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राई, सरोज प्रसाद कोइराला, जगतप्रकाशजंग शाह, तेजबहादुर अमात्य, लालध्वज गुरुङ, बुद्धसिंह राना र दुर्गानन्द झाजस्ता शहिदहरुको बलिदानीपूर्ण संघर्षबाट जन्मे हुर्केको पार्टी आज देख्दा देख्दै सम्भ्रान्त राणा र शाह परिवारको कोटरीमा थन्कन पुग्दैछ ।

राणा शासनको जाली पञ्जाबाट नेपाली जनतालाई मुक्त गर्न हिजो कांग्रेसले हतियार उठायो । तर, आज तिनै सम्भ्रान्त राणाहरुको पञ्जामा पार्टी पुग्दा कुनै पनि कांग्रेसजनहरु बोल्न सक्ने अवस्थामा छैनन् । यसबाट थाहा हुन्छ, कांग्रेस स्वयं प्रजापरिषद उन्मुख छ भनेर ।

आजका मितिसम्मको परिवर्तनको नेतृत्व कांग्रेसले गर्‍यो नै । ०६२/६३ को आन्दोलनपश्चात जन्मिएका नयाँ पुस्ता आगामी निर्वाचनमा मतदाता हुँदैछन् । सामाजिक सञ्जालमा रमाउने, तर राजनीतिमा पटक्कै रुची नदेखाउने पुस्तालाई जोड्ने कार्यक्रम कांग्रेससँग खै ? २०८०/९० सालमा नेपाल कस्तो बनाउने भन्ने भिजन कांग्रेससँग नभएसम्म २००७ देखि २०६२/०६३ सम्मको परिवर्तनको नेतृत्व गरेको भन्ने उद्घोषको ब्याजले मात्र कांग्रेस टिक्ने सपना कांग्रेसजनमा छ भने त्यो सपना सोम शर्माको सातुमा रुपान्तरण हुन समय लाग्ने छैन ।

राजा ज्ञानेन्द्रको उक्साहटमा ऐतिहासिक राजनीतिक दल नै फुटाउन पुगेका नेतालाई सिंगै पार्टीको नेतृत्व सुम्पन पुग्नु आफैंमा कांग्रेसजनका लागि दुर्भाग्य हो । हिजो पार्टी नेतृत्व सुम्पिएपछि आगामी महाधिवेशनअघिको यो मध्यावधी समयमा कांग्रेसजन चुक्चुकाउनुको अर्थ छैन । महाधिवेशनको तिथि–मिति घोषणाको प्रकृति हेर्दा सभापति देउवा इतरका पौडेल/सिटौला समूहका लागि आगामी महाधिवेशन फलामको च्युरा बन्ने अनुमान लगाउन कठिन छैन ।

महाधिवेशनसम्म सिँगै कांग्रेस पुग्ला नपुग्ला अहिले नै भनिहाल्न सक्ने अवस्था समेत देखिँदैन । कांग्रेसभित्रको प्रतिपक्षी धार सत्ताबाट नागरिकका अधिकार खुम्चँदै गएकोमा चिन्तारत देखिन्छ भने कांग्रेसभित्रको सत्तापक्षीय धार बालुवाटरलाई झनै बलियो बनाउन उद्दत छ । यसबाट प्रष्टिन्छ कांग्रेसको दिशा र दशा ।

कांग्रेसभित्रको आजको समस्या भनेको ‘मास वेस्ड’ पार्टी हाँक्ने व्यक्तिको छवि लोकप्रिय नहुनु नै हो । कांग्रेस सभापति देउवाको छवि लोकप्रिय त भएन नै, कांग्रेसलाई आगाडि बढाउने ‘भिजन’ समेत उनमा भएन । चक्रब्युहमा फसेको आजकै मितिको कांग्रेसबाट त्यो कार्यभार पुरा गर्न सम्भव देखिँदैन ।

अक्षम घोषितसँगै प्रजातन्त्र नै दरबारमा बुझाएको आरोप लागेका देउवाका लागि सिंगै कांग्रेसको सभापति हुँदा केही गरेर देखाउने मात्र नभै भावी पुस्ताका लागि अमिट छाप छाड्ने अवसर थियो । तर, त्यो अवसरको सदुपयोगको त कुरा छाडौँ, पार्टी सञ्चालनमा समेत तटस्थीकरण गर्ने र सन्तुलनमा राख्ने चुनौतीको समेत सामना गर्न नसकी जनतामा जानै नरुचाउने सानो घेरामा पर्न पुगे ।

फलस्वरुप आफ्नै घेराबाट घोषणा गरिएको महाधिवेशनको कार्यतालिकासमेत फेर्न बाध्य बन्दैछन् उनी । अर्कातिर १३ औं महाधिवेशनबाट उनी सभापति चुनिँदा परिवारवादबाट पार्टी बल्ल मुक्त भयो भन्दै रमाउने देउवा प्रजातन्त्र प्राप्तिमा योगदान नै नभएकाहरुको पारिवारिक घेरामा आफैँ फनफनी बेरिन पुगे । यो भन्दा बिरोधाभाष अरु केही हुनै सक्दैन ।

कांग्रेसको इतिहासका निम्ति देउवाका कदम यतिमै सीमित नरही कांग्रेसको राजनीतिक इतिहास र राजनीतिक प्रक्रियालाई नै दुर्घटनाग्रस्त बनाइदिने हुन् कि भन्ने भय र आशंका मिश्रित प्रश्नहरु अगाडि आएका छन् ।

पार्टीभित्र देउवाप्रति जुन स्केलको रोष छ, त्यसको तुलनामा देउवाका बेथितिलाई रोक्न नसक्दा वरिष्ठ नेताद्वय पौडेल र सिटौलाप्रति पनि कम छैन । पौष २३ गते सम्पन्न ४७ जिल्ला सभापतिको भेलामा सभापतिहरुले पौडेल÷सिटौलातिर पनि औँला ठड्याउँदै भने– भाग खोज्दै झोला बोकेर बुढानिलकण्ठ जान बन्द गर्नुस्, अन्यथा तपाइहरुले भनेको पनि हामीले लुरुलुरु मान्नै पर्छ भन्ने छैन ।

जिल्ला सभापतिहरुको आशंका कांग्रेसभित्रको घरझगडा भएकै समय लोकतान्त्रिक पद्दति नै गुम्ने त होइन भन्नेसम्मको थियो । लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा चुनौतीका चाङ देखिएका समय भएको सभापतिहरुको भेलाको अर्को उद्देश्य भनेको देउवा इतरका नेतालाई एकैठाउँमा उभिन दबाव दिनु पनि थियो ।

सत्ता, पार्टीभित्र देउवा र पौडेल/सिटौला सवैलाई एकसाथ दबाव दिन सभापतिहरुको भेला कति फलदायी बन्यो, त्यो त भविश्यले बताउला । तर, मोरङ र देउवाकै गृह जिल्ला डडेल्धुराका सभापतिसमेत देउवाका विरुद्ध उभिन पुग्दा सभापति देउवाले राजनीतिकरुपमा नैतिक धरातलसमेत गुमाएको रुपमा बुझ्न अब कठिन छैन ।

एउटा आन्दोलनका रुपमा स्थापना भएको नेपाली कांग्रेस नामक संस्थालाई राजनीतिक रुपमा विचलित हुनबाट जोगाइराख्ने चुनौती छ कांग्रेसजन सामु । परिवर्तनका लागि जन्मेको कांग्रेस आजका मितिमा वामपन्थीकै राजनीतिक एजेण्डाको वरिपरि घुम्दै छ ।

लोकतान्त्रिक राजनीतिमा आम नागरिकलाई आकर्षित गर्दै जोड्ने कार्यक्रम भनेको मुलतः व्यक्ति, विचार, संगठन र कार्यक्रम गरी चार चिज हुन्छन् । यी चारै चिजबाट नागरिकलाई आकर्षित गर्न कांग्रेस नेतृत्व सक्षम हुन सकेन । त्यतिमात्र नभई कांग्रेसको नेतृत्व कमजोर हुँदा कांग्रेसले विचार, कार्यक्रम र संगठनका माध्यमबाट नेपाली राजनीतिलाई नविन दिशाबोध गराउने सामर्थ्य समेत गुमाउँदै गयो ।

चाहेर, नचाहेर नेपालको राजनीतिक इतिहासमा लोकतन्त्रसँग प्रत्यक्ष कांग्रेस मात्र जोडिन पुगेको छ । पूर्ण बहुमतको बामपन्थी सरकारले जनअधिकार खोसिने खालका विधेयक भटाभट संसदमा दर्ता गराएबाट पनि लोकतन्त्रको स्थायित्वको आवस्यकता बोध बढ्दै गएको छ । तर, हरेक राजनीतिक परिवर्तनको नेतृत्व क्षमता राख्ने कांग्रेसमा देशकै नेतृत्व गर्ने व्यक्तिको खडेरी देखिनु चाहिँ दुर्भाग्य नै मान्नुपर्छ ।

जसरी २०१७ सालपछि मुलुकको राजनीति राष्ट्रिय/अन्तराष्ट्रिय हिसाबले वीपी कोईरालाले आफ्नो काबुमा राख्न सकेनन् । त्यसैगरी गणतन्त्र स्थापना र संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले आजका मितिमा मुलुकको राजनीति भने आफ्नो वरिपरि घुमाउन नसकेकै हो । यसको दोष चाहे पनि नचाहे पनि आजकै नेतृत्वलाई जान्छ । गत संसदीय निर्वाचनमा राष्ट्रवादको नारा वामपन्थी दलले ‘गोयवल्स’ शैलीमा लगाउँदा त्यसको भरपर्दो चिरफार कांग्रेस नेतृत्वले गर्न सकेन । बामपन्थी दलले लगाएको नाराको कुरै छाडौँ , कांग्रेसले बिकाउ खालको नारासम्म तय गर्न सकेन ।

आजको कांग्रेसको नेतृत्व र युवा पुस्ताबीच भयानक दुरी छ । जोड्ने सुत्र नभेटीएसम्म कांग्रेस न त ज्युँदो रहन सक्छ न त जाग्दो नै । हिजोको कांग्रेसमा बैचारिक द्धन्द्ध थियो । आज चरम व्यक्तिगत लडाँइ छ । बुढानीलकण्ठमा रहेको कांग्रेस नेतृत्वका लागि बोहोराटार र चप्पलकारखाना भन्दा प्रिय बालुवाटार भएको छ । यसैबाट कांग्रेस जनतामा स्थापित हुनै नसक्ने स्थिति देखिँदैछ ।

महाधिवेशनले संगठनलाई नवजीवन दिने हो । महाधिवेशन भनेको पार्टीको आन्तरिक निर्वाचन भए पनि लोकतान्त्रिक विधिबाट देशैभरका वडादेखि नै नेतृत्व चयन हुँदा पार्टी कार्यकर्तामा नयाँ उर्जाको सञ्चार हुन पुग्दछ । तर, पार्टी नेतृत्व समयमै महाधिवेशन गराउन भन्दा विधानको जाली व्याख्याका माध्यमबाट महाधिवेशन धकेल्नै उद्दत्त छ ।

क्रियाशील सदस्यताका विषयमा पनि कांग्रेस उदार देखिन सकेको छैन् । अर्कातिर कांग्रेस बलियो बनाउने वैशाखीरुपी समाजवाद चटक्कै भुल्यो कांग्रेसले । संविधानमा उल्लेख गरिएको समाजवादको समेत स्वामित्व कांग्रेसले लिनै सकेन ।

कांग्रेसलाई ज्युँदो र जाग्दो राख्ने नै हो भने अब ‘नेतृत्व र नीति’ दुवैमा परिवर्तन जरुरी छ । अन्यथा पुच्छर सोझिने भन्दा पनि ढुंग्रै बाँङ्गिने स्थितिबाट कांग्रेस माथि उठ्न सक्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment