Comments Add Comment

आर्मी लगातार दोस्रो पटक च्याम्पियन

सुनसरी । सुशन भारीको उत्कृष्ट बलिङ प्रेरित नेपाल आर्मी क्लबले लगातार दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको विभागीय डर्बीमा आर्मी नेपाल पुलिसलाई ८५ रनले पराजित गर्दै लगातार च्याम्पियन बन्यो । लगातार दोस्रो पटक च्याम्पियन आर्मीले ४ लाख ५ हजार रुपैयाँ तथा उपविजेता पुलिसले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

सुनसरीको इनरुवा क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको पुलिस आधा इनिङ्स पनि क्रिजमा टिक्न सकेन । सुशन भारी र शहाब आलमको स्पिन जोडीले ७ विकेट लिएपछि पुलिस २४.४ ओभरमा ९९ रनमै अलआउट भयो ।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । अमित श्रेष्ठले २३ तथा अनिल साहले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसलाई सस्तैमा अलआउट गर्ने क्रममा आर्मीका देब्रे हाते स्पिनर सुशन भारीले ६ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । यस्तै अर्का देब्रे हाते स्पिनर शाहब आलमले ६.४ ओभरमा १ ओभर मेडन राख्दै ३३ रन खर्चेर ३ विकेट लिए ।

कुशल मल्लले २ तथा विक्रम सोबले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४८.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

आर्मीका लागि कप्तान बिनोद भण्डारीले सर्वाधिक ४० रन बनाए । उनले ६६ बल खेल्दै ४ चौका प्रहार गरे । यस्तै राजेश पुलामीले ३१, राजु रिजालले २२, विक्रम सोबले १५, कुशल मल्लले १३ रन तथा रोहित पौडेलले ११ रन बनाए ।

पुलिसका लागि बलिङमा देब्रे हाते स्पिनरद्वय ललित राजबंशी र सागर ढकाल तथा अफ स्पिनर दिपेन्द्र ऐरीले समान ३ विकेट लिए । ढकालले १० ओभरमा १ मेडन राख्दै २९ रन खर्चिए । राजबंशीले १० ओभरमा १ मेडन गर्दै ३२ तथा ऐरीले ९.५ ओभरमा २७ रन खर्चिए । पवन सर्राफले १ विकेट लिए ।

४ विकेट लिएका आर्मीका सुशन भारी फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए ।

आर्मीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका सुशन भारी प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भए । उनले ५५ हजार रुपैयाँ हात पारे । भारिले ४ खेलमा कुल १५ विकेट लिए । यस्तै प्रतियोगिताको उत्कृष्ट बलर ३ खेलमा १४ विकेट लिएका सुदूरपश्चिमका विनोद लामा तथा उत्कृष्ट ब्याट्सम्यान ४ खेलमा एक शतकसहित १९६ रन बनाएका आर्मीका कुशल मल्ल चुनिए । उत्कृष्ट बलर र उत्कृस्ट ब्याट्सम्यानले २१-२१ हजार रुपैयाँ प्राप्त गरे ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ को आयोजनामा १७ पुसबाट सुरु भएको प्रतियोगितामा सात वटा प्रदेश, तीन विभागीय, एक मलेसिया राष्ट्रिय टिम र एक आयोजक टोलि गरी १२ टिमको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment