+
+
Shares
अन्नपूर्ण पदमार्गमा हिमपहिरो :

‘मान्छेको लस्करमाथि हिमपहिरो खस्यो, खोलामा पुगेर बाँचें’

अमृत सुवेदी अमृत सुवेदी
२०७६ माघ ४ गते २३:३१
अन्नपूर्ण पदयात्रामा अलपत्र परेकाहरूलाइ शनिबार हेलिकप्टरबाट पोखरा ल्याइएको छ ।

४ माघ, पोखरा । जोडले हावा चल्यो । हावा यति बलशाली थियो कि जगदीशको जिउ नै हल्लायो । एकैछिनमै ठूलो आवाज कानमा ठोक्कियो । केकसो हो भन्ने चाल नपाउँदै टेकेको जमिन बग्यो । सासै फेर्न गाह्रो भयो ।

जगदीशले बल्ल अनुमान लगाए, हिउँ पहिरोमा परिएछ । तर चलमलाउन सक्ने अवस्था थिएन । टेकेको जमिनसँगै बगेका थिए जगदीश । केही समय बगेपछि एकैछिन रोकियो । माथिबाट फेरि हिउँको पहाड खसेछ । त्यसले धकेलेर फेरि बग्न थाले । केही तल पुगेर फेरि बग्न रोकिन्छ, फेरि बग्छ । यसरी पटकपटक रोकिँदै बग्दै गरेर पहिरोसँगै जगदीश झ्याम्म खोलामा पुगे ।

‘पहिरो रोकिएर चलमलाउन नपाउँदै फेरि बग्न सुरु गर्यो । फेरि रोकिन्छ, फेरि बग्छ यसरी नै बगिरहें । पहिरोसँगै खोलामा पुगें,’ शुक्रबार अन्नपूर्ण पदमार्गमा हिमपहिरोमा परेर ज्यान बचाएका जगदीश खत्रीले कहालीलाग्दो घटना सुनाए ।

हिउँ पहिरोमा परेका उनी मोदी खोलामा खसेका थिए । त्यहाँ पनि जगदीशलाई लाग्यो, ‘खोलामा पानी होइन, हिउँ नै बगिरहेको छ । खोलामा त्यति चिसो पानी थियो ।

१० मिनेट जति खोलामा बगेपछि पौडिएर छेउ लाग्न सफल भए । जगदीश अड्कल गर्छन्, ‘१० मिनेर बगें, त्यति नै समय खोलाबाट किनारा लाग्न लाग्यो होला ।’ बल्लतल्ल खोला किनार त लागे तर उभिन सक्ने अवस्था थिएन । थपक्क बसेकामात्र के बसेका थिए, फेरि बसेको ठाउँ नै भासिएर खोलामा पुग्यो ।

‘जानेजत्तिको बुद्धि लगाएर बाहिर निस्कें,’ जगदीशले बाँच्न गरेको संघर्ष सुनाए । उनका अनुसार हिउँ नै हिउँ छ थियो । समाउने र टेक्ने ठाउँ छैन । भित्तामा मुड्कीले हान्दै खाल्टा परेर त्यसैमा टेक्दै बाहिर निस्कन सफल भएको उनले बताए ।

‘बाँचिन्छ भन्ने सोचेकै थिइन,’ पोखरा फर्केर शनिबार साँझ फेवासिटी अस्पतालमा स्वास्थ जाँच गराइरहेका जगदीशले खुइ काडे, ‘ठूलो भाग्यले बाँचियो ।’

जगदीश हिम्मतले बाँचे । पौडी खेल्ने कलाले पनि बाँचेएको भन्दै उनी भन्छन्, ‘आफूले टेकेको जमिनको माथिमाथि नबगेको भए, त्यही सकिन्थें होला ।

खोलाबाट निस्किएर पनि बाटोसम्म पुग्न आफूलाई झण्डै २ घण्टा लागेको उनले बताए । बाटो नजिकै पुगेपछि उनले मान्छेहरुलाई देखे । जगदीशमा अरु हिम्मत पलायो ।

केही मिटर तल पुगेर चिच्याए, ‘हेल्प, हेल्प ।’ उनले जमिन र ठाउँको अवस्थाबारे बताए, ‘मान्छेहरुले हेरिरहेका छन् तर कसैले तल झरेर हात दिने हिम्मत राखेन । त्यस्तो थियो, त्यहाँको जमिन र मान्छेहरुको अवस्था ।’

बाटोमा निस्किएपछि वरिपरीका मान्छेहरु आए । अन्नपूर्ण पदमार्गका पर्यटकहरु पनि भेला भए । मान्छेहरुले अंगालो हाले । कपडा धुजा, धु्जा थियो, उनीहरुले नै लगाइदिए । ‘खल्तीको चस्मा त हातले माडेको भुजियाजस्तो भएको रहेछ । म कसरी फर्किएँ भनेर त्योबेला अझ झसंग भएँ,’ उनले सुनाए ।

त्यहाँका मान्छेहरुले उनलाई सिनुवा पुर्याएर राखे । पदमार्गभरि मान्छेका लस्कर थिए । केके भयो, कति मान्छे परे जगदीशलाई केही थाहा थिएन । मान्छेहरुले अनेक कुरा गरिरहेका थिए । बाँचेर फर्किएका जगदीशसँग धेरैले घटनाबारे सोधिरहेका थिए ।

भएका सबै कुरा पहिरोसँगै बग्यो । सिनुवाका होटलका सञ्चालकसँग मोबाइल र केही नम्बर मागे । टावर टिप्ने ठाउँमा पुगेर सबैतिर खबर गरेको उनी बताउँछन् । ‘नयाँ पुलको एक्याप चेक पोस्टमा फोन उठेन । त्यसपछि १०० मा कल गरे । यथार्थ बताए,’ उनले भनें, ‘बिहान साढे १० बजेतिर पहिरो खसेको थियो ।’

हिमपातमा मान्छेका लस्कर

अन्नपूर्ण बेसक्याम्पमा पाइला टेक्ने उत्कट चाहनाले ज्यानमा ऊर्जा थपिँदै थियो, जगदीशमा । देउरालीमा बिहानैदेखि हिउँ परिरहेको थियो । चिसो छिरेटोको पर्वाह थिएन । हिँउको मजा लिँदै मान्छेहरु हिँडिरहेका थिए । पदमार्गभरि बेसक्याप हिँडेका मान्छेहरुको लस्कर थियो । त्यही लस्करमा थिए जगदीश पनि ।

एक जना चिनियाँ पर्यटक । उनको गाइड थिए, सरोज परियार । सरोजका साथी बनेर गएका थिए जगदीश । देउरालीमा अघिल्लो रातभर नै हिउँ परेको उनले बताए । देउराली अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्छ । देउरालीमा बिहीबार ३ बजे नै उनीहरु पुगिसकेका थिए । देउरालीका होटल हिउँले छोपिएका थिए ।

‘अन्नपूर्ण जाने एउटामात्र रुट छ । वरिपरी ६०-७० जनाको लस्कर थियो तर २-३ मिटर परको मान्छे पनि देखिँदैनथ्यो,’ उनले भने, ‘बोक्लो हुस्सु, त्यसमाथि हिँउ परिरहेको थियो । पदयात्रामा बढी बिदेशी पर्यटक थिए । प्लास्टिक ओढेर मान्छेहरु हिँडिरहेका थिए ।’

बिहान साढे १० बजेतिर हिउँकु गुफा र देउराली बीचतिर पुगेको उनी बताउँछन् । ठूलो बेगले हावा चलेर मान्छेहरुको लस्करमाथि नै एक्कासी हिम पहिरो खस्यो ।

मेरो साथी छिट्टै भेटियोस्…

पहिलो पटक अन्नपूर्ण बेस क्याम्प जाँदै थिए जगदीश । उनका सानैदेखिका साथी सरोज परियार गाइड काम गर्थे । दुबैको घर नजिकै । सरोज गइराख्ने भएकाले जगदीशलाई पनि ट्रेकिङबारे थाहा थियो । त्यसका मजाबारे जानकार थिए ।

सरोजसँगै ट्रेकिङमा जाने जगदीशले योजना बने । उनीहरुले सल्लाह गरे र बल्ल दिन जुरेको थियो । ५ वर्षदेखि ट्रेकिङ गाइडको रुपमा काम गर्दै थिए, सरोज । पोखरा लेकसिटी कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत जगदीशअन्नपूर्ण बेसक्याम्प जाने भनेपछि रोमाञ्चित थिए । पुनहिल पुगेर देउराली आएपुगेका थिए, उनीहरु ।

पाँचौ दिन थियो शुक्रबार । देउरालीबाट सुरक्षित ठाउँमा पुगेर बास बस्ने योजना बुनेर हिँडेका यी साथीलाई हिमपहिरोले छुट्यायो । आफू त बाँचे तर सँगै गएको साथीलाई पहिरोले कता पु¥यायो थाहा छैन । जसको साथ लागेर जगदीश ट्रेकिङ गएका थिए, उनै हराएका छन् । भन्छन्, छिट्टै शकुसल भेटिनेछ ।’

सरोजसहित ७ जना पहिरोमा हराएका छन् ।

घटनास्थल पुग्नै गाह्रो, रेस्क्यु नै हुँदैन

देउरालीबाटै कुनै पनि मोबाइल टावरको सिंग्नल थिएन । सम्पर्क माध्यम पनि नभएको र उद्दार गर्ने तदारुकता पनि नभएको जगदीशले अनुभव गरेका छन् ।

‘मान्छेले देख्ने ठाउँमा हुँदा त कोही लिन गएनन् भने म खोलामै भएको भए को जान्थ्यो होला र ?’ उनले भने, ‘घटनास्थल पुग्नै गाह्रो छ । उद्दार टोली आजसम्म पनि पुगेकै थिएन ।’ ‘हेल्प भनेर चिच्याउँदा पनि कोही आएनन् तर फोटो भने खिचिरहेका थिए । फर्किँदा तिनै फोटो सामाजिक सञ्जालमा देखें,’ उनले दुखेसो पोखे ।

पोखराबाट ट्रेकिङ एजेन्सिज एसोसिएसन पोखराले शुक्रबार नै उद्दार टोली खटाएको थियो । त्यही टानले गाडीको व्यवस्था गरेपछि उनी शनिबार साँझ पोखरा आइपुगेका थिए । बाटो फर्किँदै गर्दा उनले मोबाइलमा अनेक समाचार देखेको बताए । ‘अनेक समाचारहरु थिए । धेरैजसो समाचारहरु सत्य थिएनन्,’ आफ्नो फोटो नराखिदिन आग्रह गर्दै उनले भने, ‘सबै अनुमानका भरमा सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समाचार देखेपछि दुख लाग्यो ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?