+
+

छाउगोठ खोज्दै दिपायल सिलगढी नगरपालिका

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १६:५०

५ माघ, डोटी । जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकाभित्र रहेका छाउगोठहरुको खोजी सुरु भएको छ ।

नगरपालिकाले सामुदायिक प्रहरी सेवा केन्द्र र महिला अधिकार मञ्च सहयोगमा चलाएको छाउगोठ खोज्ने अभियान अन्तर्गत हालसम्म ३८ छाउगोठहरु फेला परेको सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य सीता बिकले जानकारी दिइन् ।

हालसम्म वडा नं. २, ३, ६, ७ र ८ मा अभियान चलाइएको बिकले बताइन् । ‘वडा नं. ७ र ८ का सबै टोलहरुमा अझै पुग्न सकिएको छैन,’ उनले भनिन्, ‘सदरमुकामकै नगरपालिकाभित्र यति धेरै छाउगोठ होलान् भन्ने सोचेको पनि थिएन ।’

नगरपालिकाले पहिले छाउगोठहरुको पहिचान गर्ने त्यसपछि भत्काउने अभियान चलाउने दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताइन् ।

‘कतिपय महिलाहरु अहिले पनि गाइबस्तुको गोठमा बस्दै छन् भन्ने सुनिएको छ, त्यस्तो संख्या कति छ भन्ने पहिचान हुनु जरुरी छ,’ मलासीले भनिन्, ‘गाईबस्तुको गोठलाई नै छाउगोठ वनाएकाहरुको गोठ भत्काउन त मिल्दैन ।’ त्यसैले पहिले अवस्था के छ भन्ने कुराको अध्ययन गर्न लागिएको उनले बताइन् ।

छाउगोठहरुको यकिन गरेर भत्काउने र गाईबस्तुको गोठमा बस्नेहरुलाई घरभित्र बस्ने बनाउनका लागि सम्बन्धित टोलमै धामीझाँक्री, पुजारीसहितको चेतनामूलक अभियान चलाउने मलासीले बताइन् ।
अब कुनै पनि बहानामा कुनै पनि प्रकारको छाउगोठमा बस्न नपाइने गरी नगरपालिकाले ‘एक्सन’ लिनेसमेत मलासीको भनाइ छ ।

डोटीमा ८८ वटा छाउगोठ भत्काइए

डोटी जिल्लाका विभिन्न स्थानीय तहहरुमा रहेका ८८ छाउगोठ भत्काइएका छन् ।

पुस २६ गते देखि सुरु भएको छाउगोठ भत्काउने अभियान अन्तर्गत बडीकेदार गाउँपालिकामा मात्रै ७१ गोठहरु भत्काइएका छन् ।

त्यसैगरी जिल्लाका पूर्वीचौकी गाउँपालिकामा १४ र जोरायल गाउँपालिकामा तीन छाउगोठहरु भत्काइएको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिं देउवाले जानकारी दिए ।

स्थानीय सरकारसंग समन्वय गरी प्रहरीले छाउगोठ भत्काउने अभियान सुरु गरेको देउवाले जानकारी दिए । ‘स्थानीयलाई सम्झाइ बुझाइ गरी उनीहरुकै सहभागिता, सहयोग र रोहबरमा छाउगोठहरु भत्काउने काम भइरहेको छ,’ प्रहरी उपरीक्षक देउवाले भने, ‘गोठ भत्काउने अभियानमा स्थानीयबासी, जनप्रतिनिधि, प्रहरी प्रशासन, महिला सञ्जालको उल्लेख्य सहभागिता रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?