Comments Add Comment

चौथो झिल्डुङ क्रस कन्ट्री दौड माघ २५ मा

५ माघ, काठमाडौं । चौथो संस्करणको झिल्डुङ क्रस कन्ट्री दौड आगामी माघ अन्तिम साता हुने भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्वर ५ को आयोजनामा हुने एक दिने प्रतियोगिता माघ २५ गते हुने आयोजकले जनाएको छ ।

क्रस कन्ट्री दौड १३.४ किमीको हुनेछ । यसअघि तीन संकरण सफलतापूर्वक आयोजना गरिसकेको आयोजकले यस पटक १६ वर्षमुनिका छात्र/छात्रा र स्थानीय आमा समूहको समेत दौडमा सहभागिता रहने आयोजकले जनाएको छ ।

म्याराथनका पूर्व खेलाडी मोहन नेपाल संयोजक रहने दौडलाई लियो क्लब नुवाकोट र स्थानीय विद्यालयले सहआयोजना गर्नेछ ।

पहिलो र दोस्रो संस्करण मोहन नेपाल र नेपाल एथ्लेटिक्स संघका पूर्व अध्यक्ष रघु वन्तको पहलमा भएको थियो । तेस्रो संस्करणदेखि स्थानीय तहले आफै आयोजक गर्न थालेको हो ।

गाउँगाउँमा खेलप्रति मोह बढाउन, ठाउँको पहिचान दिन र स्वास्थ्यमा समेत सहयोग गर्ने उदेश्यले काठमाडौं नजिकै क्रस कन्ट्री आयोजना गर्न लागेको बेलकोटी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष अनन्त राम नेपालले जानकारी दिए । पहिलो संस्करण आयोजना गर्दा पृथक तरिकाले गर्ने सोचेको र अहिले यस दौडले विस्तारै आधार तयार गरिरहेको एथ्लेटिक्सका पूर्व मुख्य प्रशिक्षक तथा झिल्डुङ क्रस कन्ट्रीका रेस डिरेक्टर सुशील नरसिंह राणाले बताए ।

यस्तै एथ्लेटिक्स संघका पूर्व अध्यक्ष रघु वन्तले क्रस कन्ट्री दौड टफ रेस हुने भएपनि यसले लामो र मध्य दूरीका धावकलाई सहयोग पुग्ने बताए ।

१३.४ किलोमिटरको दौड बेलकोटगढी वडा नम्बर ५ कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजखोडार, खड्गाछाप, सालचौर हुँदै कोल्पुटारमै पुगेर सकिनेछ ।

यस्तै छात्रछात्राको ४.५ किमीको दौड रन फर रेस हुनेछ ।

१३.४ किमीतर्फ महिला र पुरुषको विजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै दोस्रो १० र तेस्रो ५ हजार रुपैयाँ पाउनेछन् । यस दौडमा कीर्तिमान तोड्नेले थप ५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

गत वर्ष किरण बोगटीले ५४ मिनेट ८.३ सेकेण्डको कीर्तिमान बनाएका थिए । किरणले १३औं साफमा पुरुष म्याराथनमा स्वर्ण जितेका थिए । यस्तै महिलातर्फ गत वर्ष उपाधि जितेका पुष्पा भण्डारीले १३औं सागमा म्याराथनमा रजत जितेकी थिइन् ।

यस्तै पहिलो संस्करणमा होमलाल श्रेष्ठ र सन्तोषी श्रेष्ठले उपाधि जित्दा दोस्रो संस्करणमा भुमिराज राई र कान्छीमाया कोजुले उपाधि जितेका थिए ।

यसैगरी छात्र/छात्रातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशस् ५ हजार, ३ हजार र २ हजार पाउनेछन् ।

आमा समूहमा विजेता हुनेहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment