Comments Add Comment

बलिदानी दिवसमा राजपाका शीर्ष नेता गयल

५ माघ, वीरगञ्ज । मधेस आन्दोलन सुरु भएको दिनको सम्झनामा प्रदेश २ सरकारले वीरगञ्जमा आइतबार बलिदान दिवस कार्यक्रमको आयोजना गर्‍यो ।

मुख्यमन्त्री लालबाबु राउतसँगै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएको कार्यक्रममा सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका छ जना नेता भने देखिएनन् । प्रदेश सरकारमा राजपाले नेतृत्व गरेका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल भने सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अर्को जन आन्दोलन आवश्यक रहेको बताए । उनले अबको आन्दोलनले मुलुकमा विद्यमान विभेद, असमानता र उत्पीडनलाई समाप्त पार्ने दाबी गरे ।

आन्दोलनको नेतृत्व मधेसले नै गर्ने र जनता एक भएपछि परिवर्तनलाई कुनै तागतले रोक्न नसक्ने उनको भनाइ छ ।

वर्षौंदेखिको विभेद, उत्पिडन शोषणलाई अन्त्य गर्नका लागि भएको मधेस जन विद्रोहको उद्देश्य अहिले पनि सान्दर्भिक रहेको उनको भनाइ छ । उनले संघीय समाजवादी पार्टी सरल बाटोबाट जाँदा सरकारले कुरा नसुनेको गुनासो गरे ।

मुख्यमन्त्री लालबाबु राउतले पनि शासन, प्रशासन भएको स्वायत्त प्रदेश अझै प्राप्त हुन नसकेको बताए । उनले सबैको संविधान बन्न नसकेको, भेदभाव कायम रहेकोले संघर्ष जारी रहेको बताए ।

कार्यक्रममा मधेस आन्दोलनमा सहादत प्राप्त सहिद परिवारलाई २५ हजार रुपैयाँ नगद प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ५२ जना मध्ये ४२ सहिद परिवारले आइतबार नै सम्मान ग्रहण गरेको मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment