Comments Add Comment

उद्धार गर्न अन्नपूर्ण पदमार्गमा पुग्दा जे देखियो…

अन्नपूर्ण आधार शिविरमा हराइरहेका गत शुक्रबारबाट ४ जना कोरियाली र ३ जना नेपालीको खोजीका लागि आज दुई वटा हेलिकोप्टरबाट हामी घटनास्थलतर्फ गएका थियौं । घटनास्थल पुगेर केही मानिसलाई त्यहाँ झारियो ।

उनीहरुलाई घटनास्थल नजिकै ठूलो हेलिकोप्टर बस्न मिल्ने गरी स्थान बनाउन त्यहाँ झारिएको हो । साना हेलिकोप्टर त बस्न सक्छन् । तर, रेस्क्यूका लागि ठूलो जनशक्ति र उपकरण आवश्यक पर्ने भएकाले त्यसका लागि वातावरण बनाउने प्रयास भएको थियो ।

तर, प्रतिकूल मौसम र अत्यधिक चिसोका कारण आजपनि ठूलो हेलिकोप्टर बस्न सकेन । जहाँ पहिरो गएको छ, त्यँहा हिउ नै हिउको सागर देखिन्छ । अझ तीन बजेपछि फेरी मौसम बिग्रियो ।

त्यसकारण थप प्रयास गर्न सम्भव नै भएन । हामीले ड्रोन उपकरण उडाएर पनि सर्च गर्ने प्रयास गरेका थियौं । तर, डिभाइसले काम नै गर्न सकेन ।

५० मिटरसम्म मानव भए-नभएको पत्ता लाग्ने उपकरणसमेत हेलिकोप्टरमा थियो । त्यसबाट पनि कुनै प्रमाण फेला परेन् । अन्नपूर्ण पदमार्गमा ७ जनाबाट अन्य पर्यटक हराएको खबर छैन ।

धेरैलाई शनिबार नै उद्धार भएको थियो । माछापुच्छ्रे् आधार शिविरमा पुगेका पनि धेरै पदयात्री र सहयोगीलाई पोखरा ल्याइ सकिएको छ । थप मानिसहरुलाई माथि जान रोक लगाइएका कारण अब जोखिम कम छ ।

हराइरहेका ७ जनाको खोजी कार्य पुनः भोली पनि जारी रहने छ । आज पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, नेपाल आर्मीको रेस्क्यू टीमसहित त्यहाँ पुगेका थियौं ।

(अनलाइनखबरसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment