Comments Add Comment

उपसभामुखमा राजपाबाट चन्दा चौधरी र अमृता अग्रहरीको चर्चा

राजपा आश्वस्त, कांग्रेसलाई आश

७ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का चार सिटका लागि गठबन्धन गरेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टीबीच सभामुख तथा उपसभामुख निर्वाचनमा पनि अघोषित गठबन्धन देखिएको छ ।

नेकपाका सभामुख उम्मेदवार अग्नि सापकोटाको उम्मेदवारीमा राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक बसेसँगै उपसभामुख राजपाले पाउने लगभग निश्चित भएको छ । राष्ट्रिय जनमोर्चाले उपसभामुख नलिने भएपछि राजपाको सम्भावना बढेको हो । तर, राजपालाई उपसभामुख दिने कि नदिने भन्नेबारे नेकपाभित्र एक मत भइसकेको छैन ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली राजपालाई उपसभामुख दिन चाहन्छन् । यसअघि संसदीय सुनुवाई विशेष समितिको सभापतिसमेत राजपालाई दिएका ओलीले उपसभामुख कांग्रेसलाई दिन चाहेका छैनन् ।

यो पनि पढ्नुहोस सभामुखमा अग्नि सापकोटाको उम्मेदवारी दर्ता

तर, उपसभामुखमा प्रमुख विपक्षी नेपाली कांग्रेसले दाबी गरेको छ । तर, संवैधानिक परिषदको सदस्य समेत हुने भएकाले प्रधानमन्त्री ओली कांग्रेसलाई उपसभामुख दिन चाहँदैनन् ।

समाजवादीसँग गठबन्धन नरुचाएका ओलीले यसअघि राष्ट्रियसभामा राजपासँग मिल्ने निर्णय पनि आफैं गरेका थिए । राजपासँग सबै प्रक्रिया पूरा भएपछिमात्र हस्ताक्षर गर्ने बेला अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटारमा बोलाइएको थियो । स्रोतका अनुसार प्रचण्ड समाजवादीसँगको सहकार्यकै निरन्तरताको पक्षमा थिए ।

त्यसो त नेपाली कांग्रेसले सभामुखमा अग्नि सापकोटाविरुद्ध उम्मदेवारी नदिने सर्वसम्मत निर्णय गरिसकेको छ । यसअघि सभामुख–उपसभामुखबारे कांग्रेससँग सोमबार अनौपचारिक छलफल भएको नेकपा नेताहरु बताउँछन् । नेकपा नेताहरुले उपसभामुखबारे आफूहरु खुल्ला रहेको बताएपछि कांग्रेसले सापकोटालाई समर्थन जनाएको कांग्रेस स्रोतको भनाइ छ ।

मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सभामुखमा उम्मदेवारी नदिने निर्णय गरेर सापकोटाका लागि मार्गप्रशस्त गरिदिएको छ । तर, सो बैठकमा उपसभामुखबारे छलफल नभएको कांग्रेस नेताहरु बताउँछन् । विगतमा कांग्रेसले शिवमाया तुम्वाहाङफेविरुद्ध पुष्पा भुसाललाई उपसभामुखको उम्मदेवार बनाएको थियो ।

नेकपाका नेताहरुका अनुसार उपसभामुख कसलाई दिने भन्ने निर्णय नभए पनि राजपाले पाउने सम्भावना बढी छ । सोही अनुसार लक्ष्मणलाल कर्णलाई अग्नि सापकोटाको समर्थक राखिएको स्रोत बताउँछ । सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता गर्दा प्रस्तावक नेकपाका उपनेता सुवास नेम्वाङ छन् भने तीनमध्ये दुई समर्थक ओनसरी घर्ती र देव गुरुङ नेकपाकै नेता हुन् । सभामुखको समर्थकमा विपक्षी कांग्रेसका नेताहरु बसेका थिएनन् ।

राष्ट्रियसभा निर्वाचनमा भएको गठबन्धन उपसभामुख निर्वाचन हुँदै संघीय र प्रदेश सरकारसम्म निरन्तरता दिने गरी छलफल भइरहेको प्रधानमन्त्रीनिकट एक नेताले बताए ।

चन्दा र अमृता मुख्य दाबेदार

राजपाबाट उपसभामुखमा चन्दा चौधरी र अमृता अग्रहरी प्रमुख दाबेदार हुन् । चन्दा महन्थ ठाकुर निकट हुन् भने अग्रहरी राजेन्द्र महतो निकट मानिन्छन् । सभामुख पुरुष भएपछि उपसभामुख महिला हुनैपर्ने भएकाले राजपाका ५ जना महिला सांसदमध्ये एक हुने सो पार्टीका नेताले बताए ।

राजपाबाट चन्दा चौधरी, अमृता अग्रहरी, रानी मण्डल, रेणु शर्मा र दुलारी देवी प्रतिनिधिसभामा समानुपातिक सांसद छन् । प्रत्यक्षतर्फ राजपाका महिला सांसद छैनन् । उपसभामुखमा चन्दा चौधरीको सम्भावना रहेको एक नेताले बताए ।

यसैबीच समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि रिक्त रहेका दुई मन्त्रालय राजपालाई दिने तयारी भइरहेको स्रोतले जनाएको छ । तर, राष्ट्रियसभा चुनावअघि यसबारेमा छलफल नहुने नेताहरुले बताए । संघीय सरकारमा राजपा सहभागी भएपछि प्रदेश सरकार पनि राजपा र नेकपाको हुनुपर्ने नेकपाको शर्त छ ।

प्रदेश २ मा नेकपा ३२ सिटसहित सबैभन्दा ठूलो दल हो । नेकपा र राजपा मिलेपछि बहुमत पुग्छ । राजपा नेताहरुले भने यसबारेमा कुनै छलफल नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment