Comments Add Comment

राजपासँग उपसभामुखमा भिड्नेबारे कांग्रेसमा अन्योल

Photo Credit : RSS

७ माघ, काठमाडौं । सभामुख र उपसभामुखबारे छलफल गर्न मंगलबार बिहान सिंहदरबारमा कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेको थियो । बैठकमा केही नेताले सभामुखमा उम्मेदवारी दिनुपर्ने बताएका थिए ।

जवाफमा संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिँदा कांग्रेसले उपसभामुख पाउने सम्भावना सकिने बताएका थिए । अन्ततः सभापति देउवाको भनाइमा सहमत भएपछि कार्यसमितिले सभामुखका लागि उम्मेदवारी नदिने निर्णय गर्‍यो ।

तर, उसपभामुखको प्रश्नमा नि ?

सभामुखमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेपछि उपसभामुख आफूले लिन कांग्रेसले प्रयत्न गर्नु स्वाभाविकै हो । तर, राजपा सांसद लक्ष्मणलाल कर्ण सभामुखमा सापकोटाको समर्थक बनेपछि राजपाले नै उपसभामुख पाउने निष्कर्षमा कांग्रेस नेताहरु पुगेका छन् ।

‘अब उपसभामुखमा पनि उम्मेदवारी नदिऔं भने कांग्रेस देखिएन भनेजस्तो हुन्छ, दिउँ भने राजपासँग लड्नुपर्ने हुन्छ । कांग्रेस संसदीय दल कार्यसमितिका एक सदस्यले अनलाइनखरसँग भने ।

यो पनि पढ्नुहोस उपसभामुखमा राजपाबाट चन्दा चौधरी र अमृता अग्रहरीको चर्चा

ती सदस्यका अनुसार मंगलबारको बैठकमा उपसभामुखका विषयमा समेत छलफल भएको थियो । तर, नेकपाले सभामुखमा उम्मेदवारी दिएपछि उपसभामुख पाउने सम्भावना पनि सकिएको सभापति देउवाले बैठकमा बताएका थिए ।

कांग्रेस स्रोत भन्छ, ‘राजपा सभामुखमा नेकपाका उम्मेदवारलाई समर्थन गर्न पुग्छ र उपसभामुख राजपाले पाउने वातावरण बन्न सक्छ भन्ने देखियो ।’

सभामुखमा सापकोटालाई समर्थन गर्नुको कारणबारे बताउँदै कर्ण भन्छन्, ‘उहाँहरु (नेकपा नेताहरु) ले समर्थन माग्नुभयो, मलाई मेरो संसदीय दलको नेताले जानु भन्नुभयो, म गएँ ।’

सभामुख र उपसभामुख फरक-फरक राजनीतिक दलको र लिंगको हुनुपर्ने संवैधानिक ब्यवस्था छ । नेकपाले सभामुख लिएपछि उपसभामुख अर्को दललाई छोड्नुपर्ने हुन्छ । संसदमा स्पष्ट बहुमत भएका कारण नेकपाले जुन दललाई समर्थन गर्छ, उसैले उपसभामुख पाउने छ ।

पछिल्लो समय राष्ट्रिय सभामा राजपासँग सहकार्य गरेको नेकपाले राजपालाई सरकारमा पनि ल्याउन चाहेको बताइन्छ ।

उपसभामुखको निर्वाचन चाँडो हुनेमा आशंका

कांग्रेस नेताहरु सभामुखको निर्वाचन लगत्तै उपसभामुखको निर्वाचन हुनेमा समेत आशंका व्यक्त गर्न थालिसकेका छन् । अनलाइनखबरसँग कुरा गर्दै कांग्रेस सांसद रामबहादुर विष्ट भन्छन्, ‘राजपालाई आफ्नो पक्षमा राखिरहन र कांग्रेसलाई जिस्क्याइरहन नेकपाले सभामुखको लगत्तै उपसभामुखको निर्वाचन गराउनेमा आशंका छ ।’

राजपाका नेता लक्ष्मणलाल कर्ण सभामुखको निर्वाचन सकिएपछि मात्र उपसभामुखबारे छलफल हुने बताउँछन् । सभामुखमा नेकपाका उम्मेदवार सापकोटालाई समर्थन गरेर बाहिरिएपछि राजपा नेता कर्णले भने, ‘सभामुखको निर्वाचन सकिएपछि उपसभामुखबारे दलहरुका वीचमा छलफल होला । अहिलेसम्म उपसभामुखबारे केही भएको छैन ।’

यो पनि पढ्नुहोस सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment