Comments Add Comment

नेपाल टेलिकम सुपर क्रिकेट लिग : लुम्बिनी खुकुरी क्लब विजयी

७ माघ, बुटवल । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत मंगलबार सम्पन्न ग्रुप ए अन्तर्गतको खेलमा लुम्बिनी खुकुरी क्लब बेलहिया विजयी भएको छ । लुम्बिनी खुकुरीले बुद्ध स्पोटर्स क्लब भैरहवालाई २२८ रनले पराजित गरेको हो ।

निर्धारित ५० ओभरको खेलमा टस जितेर व्याटिङ गरेको लुम्बिनी खुकुरीले ५० ओभरमा ८ विकेट गुमाउँदै ३४८ रनको योगफल बनायो । उसका लागि शंकर रानाले १४८, प्रज्जवल थापाले ७४, निश्चल चौधरीले ३२ र मान बहादुर थापाले २४ रनको योगदान गरे । बलिङमा बुद्धका विपिन खत्रीले ३, रिजन प्रजुले २ र रुपेश कुर्मीले १ विकेट लिए ।

जवाफमा बुद्धले ४२ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १२० रन बनायो । उसका लागि अमित अग्रहरीले ३७, समिर हुसेनले २२ र सुरज गुरुङले १८ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका अन्तिम थापा र अजय कुमार लोनियाले २/२ तथा लाल बहादुर अधिकारी, साहब आलम र मान बहादुर थापाले १/१ विकेट लिए । खेलमा लुम्बिनी खुकरी क्लबका शंकर राना म्यान अफ द म्याच घोषित भए । बुधबार ग्रुप सी अन्तर्गतको खेल देवदह क्रिकेट युनिट देवदह र लुम्बिनी जितगढी क्रिकेट क्लब बेलबासबीच हुनेछ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा भएको छ ।

माघ १८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५/५ हजार रुपैयाँ प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ ।

त्यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई १ हजार प्रदान गरिने संघले जनाएको छ । त्यसै गरी मिनर्वा इङलिस बोर्डिङ स्कुलका प्राचार्य राजकुमार गुुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैयाँ पुरस्कार सौजन्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment