Comments Add Comment

लोप हुँदै पञ्चेबाजा

८ माघ रामेछाप । कुनै शुभकार्य हुँदैछ भन्ने संकेत गर्ने पञ्चेबाजा विस्तारै लोप हुन थालेको छ । अहिले उत्सवहरुमा पञ्चेबाजा हैन ठूला ठूला साउण्ड सिस्टमबाट गीत घन्किन्छन् ।

विशेष गरी दर्जी समुदायले बजाउने पञ्चेबाजा हिजोआज विवाह, व्रतबन्ध, पास्नी, देवालीलगायतका पर्वहरुमा सुनिन छाडेको छ । पञ्चेबाजामा प्रयोग हुने दमाह, सनै, ट्याम्को, झ्याली र ढोलक विस्तारै लोप हुँदै गएका छन् ।

‘बिहे, ब्रतबन्ध र अन्य चाडबाडमा ठूला ठूला क्यासेट बजाउन लागे । बरु सहरबाट ब्याण्डबाजा झिकाउँछन् । गाउँघरमै भएका पञ्चेबाजा बजाउने मानिसहरुलाई बेवास्ता गर्छन् । अनि कहाँबाट जोगिन्छ त पञ्चेबाजा’, रामेछाप नगरपालिका-८ का कर्णबहादुर नेपाली भन्छन् ।

पञ्जेबाजा प्रयोगमा आउन छाडेपछि नयाँ पुस्ताहरुले बाजा बजाउनै छाडेको उनले बताए । ‘प्रयोगमा नै नआएपछि कसले बजाउने । अहिलेका केही बाहेक नयाँ केटाहरुले त बाजा बजाउन पनि जन्दैनन्’, उनले भने ।

कुनै बेला दर्जी समुदायको मुख्य पेसा नै पञ्चेबाजा बजाउनु थियो । विवाह, व्रतबन्ध, तथा विभिन्न चाडबाडमा पञ्चेबाज बजाउने टोलीलाई भ्याइनभ्याइ हुन्थ्यो । तर विस्तारै त्यो संस्कार अहिले हराउँदै गएको छ ।

अहिले केहीले बिबाहमा पञ्चेबाजा लैजाने गरे पनि अधिकांश विवाहमा पञ्चेबाजा बज्न छाडेको छ । त्यसको सट्टामा बिबाहको जग्यमा हिन्दी गीतहरु बजेका सुन्न पाइन्छन् ।

पञ्चेबाजा नै हराउन लागेपछि यसको संरक्षणको लागि स्थानीय सरकारहरु लागेका छन् । स्थानीय सरकारले पञ्चेबाजा र बाजा बजाउने कलाको संरक्षणको लागि बजेट नै बिनियोजन गरेर संरक्षणको काम सुरु गरेका छन् ।

मन्थली नगरपालिकाले पञ्चेबाजा समूहलाई बजेटनै छुट्याउने गरेको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत बताउँछन् ।

पञ्चेबाजासहित, नेवारी समुदायको लाखे नाच, माझी समुदायको लदिपूजालगायतका जाती र समुदाय विशेषका संस्कार, पर्व र कला संस्कृतिलाई जोगाउन पालिकाले बजेट विनियोजन गरेर संस्कार र संस्कृति जोगाउने प्रयास गरिरहेको उनले बताए ।

अहिले जिल्ला सदरमुकाम मन्थलीमा रहेको पञ्चेबाजा समूहले सदरमुकाममा हुने हरेक उत्सव तथा पर्वहरुमा पञ्चेबाजा बजाएर यो कलालाई जोगाउँदै आएको छ ।

खाँडादेवी गाउँपालिकाले पनि जाति र समुदाय विशेषका कला र संस्कृतिलाई जोगाउनको लािग काम गरिरहेको सो पालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ बताउँछन् ।

हरेक समुदायको संस्कार र संस्कृति जोगाउन स्थानीय सरकार लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment