Comments Add Comment

बेल्जियमकी ५७ वर्षे राजकुमारी नेपाल आउनुको रहस्य

को हुन् राजकुमारी अस्त्रिद ? किन आइन् नेपाल ?

८ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय राजनीतिमा बेलायत वा जर्मनीको जस्तो चर्चा नहुने भएपनि बेल्जियमको राजधानी ब्रसेल्सको नाम विश्व समाचारमा छाइरहन्छ । कारण हो, युरोपेली सङ्घको मुख्यालय त्यहाँ छ । यसबाहेक बेल्जियमको आन्तरिक राजनीति नेपालमा समाचार बन्दैन, जति बेलायत वा जर्मनीको बन्छ ।

सायद त्यसैले होला बेल्जियमको राजपरिवारकी एक सदस्य, एक हप्ताभरिका लागि नेपालमै बस्दा पनि खासै समाचारको विषय बन्न सकेकी छैनन् । तर, केहीले भने राजकुमारी अस्त्रिदको भ्रमण र उनको उद्देश्यमा चासो देखाएका छन् ।

को हुन् राजकुमारी अस्त्रिद ?

राजकुमारी अस्त्रिद हाल शासन गरिरहेका राजा फिलिपकी बहिनी हुन् । हाल ५७ वर्षकी उनी सन् २०१३ सम्म शासन गरेर छोरालाई सत्ता सुम्पिएका अल्बर्ट द्वितीयकी एकमात्र छोरी हुन् । अल्बर्ट हालसम्म पनि जीवितै छन् ।

राजकुमारी नेपाल आउनुको खास कारण भने राजनीतिक नभएर सामाजिक हो । उनी विभिन्न सामाजिक अभियानहरूमा संलग्न छिन् र त्यसैले उनलाई नेपालसम्म डोर्‍याएको हो ।

सन् २००७ सम्म उनी बेल्जियमको रेडक्रसकी प्रमुख थिइन् । कार्यकाल सकिएपछि उनलाई पुनः अध्यक्षमा उम्मेदवारी दिन आग्रह गरिएको भए पनि उनले सङ्गठनभित्रको आन्तरिक विवादका कारण आफू नउठ्ने बताइन् ।

राकुमारी अस्त्रिद बारुदी सुरुङमा परेर बाँचेका मानिसहरूको अधिकारका क्षेत्रमा लामो समयदेखि कार्यरत छिन् । त्यसकै कदरस्वरूप सन् २०१३ मा उनी बारुदी सुरुङमा प्रतिबन्ध लगाउने सम्बन्धी महासन्धि (ओटावा सन्धि)का लागि विशेष प्रतिनिधि नियुक्त गरिएकी छिन् ।

त्यसपछि बारुदी सुरुङविरुद्धको अभियानमा उनको सक्रियता बढेको छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न बैठकहरूमा पीडितको अधिकारका लागि उनले आवाज उठाएकी छिन् । अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटीको मानार्थ समितिमा पनि उनी सदस्य छिन् ।

नेपाल किन आइन् ?

अस्त्रिद नेपाल आउने चाँजोपाँजो डेमिन फाउन्डेसन नामको गैरसरकारी संस्थाले मिलाएको हो । कुष्टरोगीहरूको सेवामा यो संस्था एसिया, अफ्रिका र मध्य अमेरिकाका १३ देशहरूमा सक्रिय छ । राजकुमारी संस्थाकी मानार्थ अध्यक्ष हुन् ।

नेपालका केही जिल्लामा पनि यो संस्थाले केही उल्लेख्य काम गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार कैलाली र नवलपरासीमा संस्थाले क्षयरोग उपचार केन्द्र बनाएको छ । भ्रमणका क्रममा राजकुमारी दुबै जिल्ला पुग्नेछिन् ।

मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार फाउन्डेसनको सहयोगको अवलोकन र पर्यटकका रूपमा विभिन्न स्थानहरूको भ्रमणबाहेक उनको अरू एजेन्डा छैन ।

अर्थात्, राष्ट्रपतिदेखि विभिन्न मन्त्रीलाई भेटे पनि यो उनको औपचारिकता मात्रै हो ।

अनि एक शाही राजपरिवारको एक सदस्यका रूपमा मात्र उनलाई सरकारले स्वागत गरेको हो । उनको भ्रमणको कुनै राजनीतिक अर्थ छैन । तर, पनि राजकुमारीको यो भ्रमणले नेपालको अर्थतन्त्रमा अप्रत्यक्ष लाभ हुने पौड्यालको तर्क छ । ‘हिजो मात्र उहाँ भक्तपुर जानुभो । उहाँका साथमा उतैको सानो सञ्चारकर्मीको टोली पनि छ,’ पौड्याल भन्छन्, ‘अब भक्तपुरमा राजकुमारी गएको फोटो उता छापिन्छन् । यसलेे गर्दा हाम्रो पर्यटन उद्योगमा सकारात्मक प्रभाव पुग्छ । यस्ता सेलिब्रेटीहरूको भ्रमण भइराख्ने हो भने अन्तर्राष्ट्रिय मिडियाको ध्यान आकर्षित हुन्छ र हाम्रो देशको प्रचार-प्रसार गरिदिन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment