Comments Add Comment

‘ए’ डिभिजन लिगमा आज २ खेल, थ्री स्टार र हिमालयन तथा जावलाखेल र एपीएफ भिड्दै

९ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज आठौं चरणका दुई खेल हुँदैछन् ।

बुधबारदेखि आठौं चरणको खेल सुरु भएको छ । पहिलो खेलमा मछिन्द्रले नेपाल पुलिसलाईलाई पराजित गरेको थियो ।

आज थ्री स्टार र हिमालयन शेर्पा तथा जावलाखेल र एपीएफबीच खेल हुँदैछ ।

ललितपुरको क्लब थ्री स्टारले मध्याह्न १२ बजे सुरु हुने खेलमा हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो खेलमा थ्रि स्टारले चिर प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीसँग बराबरी खेलेको थियो । ७ खेलबाट ३ जित र २ बराबरीबाट ११ अंक जोडेको थ्री स्टार अंकतालिकामा पाँचौं स्थानमा छ । शेर्पालाई पराजित गरेका थ्री स्टार तेस्रो स्थानमा पुग्नेछ ।

उता अघिल्लो खेलमा मछिन्द्र क्लबको अपराजित यात्रालाई ब्रेक लगाउँदै पहिलो जित हात पारेको हिमालयन शेर्पा त्यसलाई निरन्तरता दिने योजनामा छ । शेर्पाले अघिल्लो खेलमा मछिन्द्रमाथि २–० को जित हात पारेको थियो । ७ खेलबाट ७ अंक नै जोडेको शेर्पाले ११औं स्थानमा छ । थ्री स्टारलाई हराउन सके शेर्पा सातौं स्थानमा उक्लनेछ ।

यस्तै, दिउँसो ३ बजे ललितपुरको अर्को क्लब जावलाखेलले विभागीय टोली एपीएफसँग खेल्नेछ । लिगको सुरुवातमा राम्रो प्रदर्शन गरेको जावलाखेलले पछिल्लो खेलहरूमा लय कायम राख्न सकेको छैन । ७ खेलबाट २ जित र ३ बराबरीसहित ९ अंक जोडेको जावलाखेल आठौं स्थानमा छ । एपीएफलाई पराजित गरेमा जावलाखेल शीर्ष पाँचमा पुग्नेछ ।

यस सिजन एपीएफको प्रदर्शन खराब रहेको छ । ७ खेल खेल्दा १ खेल मात्र जितेको एपीएफले ४ खेलमा हार बेहोरेको छ । १ जित २ बराबरिसहित जम्मा ५ अंक जोडेको एपीएफ रेलिगेसन छेउतिर छ । एपीएफ १३ औं स्थानमा रहँदा जितविहीन सरस्वती युथ क्लब १ अंकसहित पुछारमा छ । एपीएफले सरस्वती क्लबलाई मात्र पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment