Comments Add Comment
कोरोना भाइरस संक्रमण :

वुहानको सार्वजनिक यातायात बन्द, घुम्न नजान र नआउन अपिल

९ माघ, काठमाडौं । कोरोना भाइरसको प्रकोप फैलँदै गएपछि चीनको घना आवादी रहेकाे एक सहरकाे सार्वजनिक यातायात तथा उडान सेवा बन्द गराइएको छ ।

भाइरसको फैलावट अन्य क्षेत्रमा फैलन नदिन चीन चीन सरकारले बढाएको सतर्कताअन्तर्गत वुहान सहरको सार्वजनिक यातायात बन्द गराइएको हो ।

वुहान कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनको सहर हो । यहाँ झण्डै १ करोड १० लाख मानिसको बसोबास छ ।

बीबीसीका अनुसार, संक्रमित क्षेत्रबाट अन्य स्थानमा कोरोना भाइरस पुग्ने खतरा बढेपछि सहरमा बस्ने सबै नागरिकलाई एक साता कहीँ कतै पनि ननिस्कन त्यहाँको सरकारले उर्दी जारी गरेको छ । त्यस्तै, अन्य स्थानबाट वुहानमा नआउन पनि भनिएकाे छ  ।

चिनियाँ नयाँ वर्ष नजिकिँदै छ । चिनियाँहरूले घुमघाम गरेर आफ्नो नयाँ वर्ष मनाउने प्रचलन छ । यसरी प्रभावित क्षेत्रमा मानिस घुमघाममा निस्किँदा संक्रमण थप फैलने खतरा भएपछि सरकारले सार्वजनिक यातायात बन्द गर्दै घरबाट ननिस्कन नागरिकलाई अपिल गरेको छ ।

स्वास प्रश्वासमा संक्रमण गराउने कोरोना भाइरस वुहानका अतिरिक्त चीनका अन्य सहरसम्म यतिबेला फैलिरहेको बताइएको छ । यति मात्रै होइन, अमेरिकामा समेत यो भाइरसको संक्रमण देखिएपछि यसले विश्वव्यापी रूप लिनसक्ने चिन्ता व्यक्त भइरहेका छन् ।

यद्यपि, विश्व स्वास्थ्य संगठनले अहिले नै यसले विश्वव्यापी रूप लिने खतरा नरहेको बताएको छ ।

कोरोना भाइरसका कारण हालसम्म ५ सय भन्दा बढी संक्रमित भएको ठानिएको छ भने १७ जनाको त मृत्यु नै भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment