Comments Add Comment
मेरो कथा :

आर्मीलाई लिग जिताउन चाहन्छु

१३ गोलको कीर्तिमान तोड्ने र साफ जित्ने लक्ष्य छ

सानोमा कसैले के बन्ने भनेर सोध्दा कसैको डाक्टर कसैको इन्जिनियर हुन्थ्यो होला । तर मेरो फरक थियो । मेरो त रहर पनि एउटा होइन, दुई वटा थियो । एउटा फुटबल खेल्ने अर्को आर्मी बन्ने तर फुटबल बारे केही थाहा थिएन । अरुले खेलेको हेर्‍यो, रमाइलोका लागि आफैं खेल्यो । अनि आर्मी चाहिँ किन भने कमान्डो शैलीका फिल्महरु खुब हेर्थेँ, त्यसकै प्रभाव देखियो ।

यो दुई दशकअघिका रहर भए । अहिले यथार्थमा मसँग दुवै छ । म आर्मीम्यान हुँ । अनि फुटबल पनि खेल्छु । यसअर्थमा बाल्यकालको रहर पुरा गर्ने भाग्यमानी पनि भएँ । यसका लागि केके भयो त दुई दशकका बीचमा त्यो मेरो कथा हो । त्यसमा संघर्ष थियो, मेहनत पनि थियो तर धेरै अर्थमा भाग्यले पनि साथ दियो ।

सबै भन्दापहिला मेरो फुटबल करिअरको कसरी शुरु भयो सुनाउँछु ।

००००

म मोरङको हरैचामा जन्मिए, हुर्किएँ । गाउँमा दाइहरु फुटबल खेलेको देख्थेँ । स्कुले केटाकेटी हामीलाई पनि रहर लाग्यो । त्यसैले स्कुलको ब्रेक टाइममा रमाइलोका लागि हामी पनि खेल्न थाल्यौं तर न खुट्टामा जुत्ता हुन्थ्यो न फुटबल । मोजाको बल बनायो, खेल्यो । कहिले काँही अरुले खेल्दा फुटेको बलमा एउटा पत्र निकालेर कागज घाँसपात राखेर सिलाएर पनि खेल्यौं । को कहाँ खेल्ने केही पत्ता हुँदैनथ्यो, सबैजना बलको पछिपछि कुद्ने, बल पाएपछि हानिहाल्ने गथ्र्यौं । यसरी नै फुटबलक खेल्ने रहर पुरा गर्थ्यौं ।

पढाइ औसत थियो । तर फुटबल खेल्न कहिल्यै रोक्नुभएन । बुवाममीले सहयोग नै गर्नुभयो । दाइ अमृत खवास, अंकलहरु उत्तर खवास र प्रदीप खवास पनि फुटबल खेल्नुहुन्थ्यो । अंकलहरुले काठमाडौंमा ग्यालेक्सी क्लबबाट बी डिभिजन खेल्नुभएको भयो । दाइ चाहिँ अहिले पनि त्रिभुवन आर्मी क्लबमै हुनुहुन्छ । यसले गर्दा पनि मलाई फुटबल खेल्न सहज भएको लाग्छ ।

यो सुरुको कथा, अब शुरु हुन्छ काठमाडौं यात्रा ।

गाउँमै खेल्दै गर्दा अंकलहरुले काठमाडौं जान जिल्लामा छनोट हुँदैछ भन्ने खबर ल्याउनुभयो । एन्फाले सेलेक्सन गर्दैछ, हामी त्यसका लागि विराटनगर जाने भन्नुभयो छनोट भयो भने काठमाडौं जान पाइन्छ भनेर म पनि उत्साहित भएँ ।

मोरङ जिल्लाबाट १७–१८ जनाजति थियौं । एन्फा एकेडेमीको सेलेक्सनका लागि देशभरबाट ट्रयाल दिन १० हजार जना जति जम्मा गरेको थियो होला । म त त्यो देखेरै आत्तिए । त्यतिका धेरै मान्छे देख्दा कसरी छनोट हुने होला भन्ने चिन्ता थियो । तर मेहनत गरे, अनि धेरैलाई पछि पार्दै छनोट हुन सफल भएँ । २०५७ सालतिर एन्फा एकेडेमी, काठमाडौं आएँ । लगभग ८ वर्ष एकेडेमीमै बसेँ । पढ्ने, खाने सबै व्यवस्था थियो । त्यहीँबाट मेरो फुटबल करिअर सुरु भयो ।

हुन त हामी एन्फाको दोस्रो ब्याच हौं । तर त्यसबेला ६८ जना छनोट भएर आएकाले यू–१४ चाँडै खेल्ने एउटा टिम भयो । पछि खेल्नेको अर्को । नुरराज काफ्ले, प्रकाश भण्डारी, विराज महर्जनहरु चाँडै खेल्ने टिममा परेकाले दोस्रो ब्याचका भए । हामी होचा र पढाइ पनि औसत भएकाले तेस्रो ब्याच भयौं । जे होस्, एन्फामा पुग्न सफल भएकामा नै म आफूलाई भाग्यमानी ठान्छु ।

टिमको एदस्य र कप्तानको रुपमा कसरी हुन्छ टिमलाई च्याम्पियन बनाउने धोको छ । किनकी आर्मीले लिग खेल्न थालेको भइसके पनि लिग जित्न सकेको छैन । त्यसैले व्यवस्थापन, कोचिङ स्टाफले पनि लिग जितेको हेर्न चाहेको छ, यसमा खेलाडीहरुमा पनि कमिटमेन्ट छ ।

एन्फामा रहँदा उमेर समूहका सबै राष्ट्रिय टिमबाट खेले । यू–१३, यू–१५, यू–१६, यू–१७ र यू १९ । एन्फाबाट निस्किएपछि यू–२१ खेलेँ । यू–२२ को त कप्तानी नै गरेँ ।

तर एन्फाबाटै निस्किने क्रममा नै म क्लबमा पनि आवद्ध भइसकेको थिएँ ।

एन्फा र संकटा क्लबबीच सम्झौता भयो र विस २०६३ सालमा हामी–१३ जना संकटामा गयौं । त्यही क्लबबाट मेरो ए डिभिजन लिग शुरु भयो । संकटामा एक वर्ष खेलेँ । त्यसपछि दुई वर्ष लिग भएन । यो समयमा मैले टुसम्मको पढाइ सकेँ ।

त्यसपछि फेरि लिग शुरु भयो । म फ्रेण्ड्स क्लब गएँ । २०६६-६७ को लिग त्यहीँबाट खेलेँ । अर्को सिजन पुलिसले अफर ग‍र्‍यो । तर पुलिसको टिममा राम्रो खेलाडीहरु थिए । त्यसबेला देवनारायण चौधरी, हरि खड्का दाइ, अनन्त थापा दाइ (अहिले पुलिसका प्रशिक्षक) पर्वत पाण्डे, जुमानु राई, भोला सिलवाल खेलिरहेका थिए । टिममा १२ दिनजति बसेँ तर मैले त्यहाँको प्रेसर थाम्न सकिँन र फ्रेण्ड्समै फर्किएँ । तर पुलिस क्लबसँग कन्ट्रयाक्ट गरिसकेको थिएँ । रविन श्रेष्ठ, चेतन घिमिरे, रोशन कार्की र म पुलिसमा गयौं । स्टार खेलाडीहरुसँग खेल्दा सुरुमा डर लागेको थियो । तर विस्तारै बानी लाग्यो ।

पुलिस क्लबबाट मैले दुई लिग खेलेँ । २०६७-६८ को ए डिभिजन लिगमा हामी च्याम्पियन भयौं । त्यसपछि राष्ट्रिय लिग खेलेँ, त्यो पनि जितेँ । त्यहाँ एउटा पद दिने भनिएको थियो । त्यो नभएपछि मैले पुलिस क्लब छाडेँ । अनि आर्मीमा शुरु भयो फुटबल करियर ।

००००

सानोमा पनि साथीभाइ मिलेर ‘हामी आर्मी हो भनेर काँडामा खाली खुट्टा कुद्थ्यौं, रुखबाट हाम फाल्थ्यौं । आर्मी म्यान भएका फिल्ममा देखेका कुराहरु नक्कल गर्न खोज्थ्यौं । दाइ पनि आर्मी भएपछि त्यसको प्रभाव अझ बढी रह्यो ।

जब पुलिस छाडेँ, नेपाल आर्मीमा फर्म भरेँ । त्यसबेला मलाई थ्रीस्टार क्लबबाट पनि अफर आएको थियो । यो कुरा मैले बाहिर भनेको छैन, आज भन्छु । त्यतिखेर थ्रीस्टारका ललितकृष्ण श्रेष्ठ दाइसँग आन्तरिक कन्ट्रयाक पनि गरेको थिएँ । अहिले ललित दाइ हुनुहुन्न । कन्ट्रयाक कस्तो थियो भने म आर्मीमा भएँ भइहाल्यो नभए थ्रीस्टारबाट खेल्छु । त्यसबेला भारतको पुने एफसीमा पनि कुरा भइरहेको थियो । तर एसियन कोटामा मैले जापानिज खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने र दुई मध्ये एक मात्र छनोट हुन भनिएको थियो । त्यसमाथि संकट कस्तो पर्‍यो भने आर्मीको बिसी (बोर्ड कन्फ्रेन्स) परीक्षा र पुने एफसीको ट्रायल एकै दिन पर्‍यो । मैले आर्मी र पुने मध्ये एक रोज्नुपर्ने अवस्था आयो ।

त्यो क्षण मेरा लागि कठिन थियो । भगवानले दुई बाटो दिएर कुनबाट भविश्य सुनिश्चित हुन्छ, आफैंले रोज भने जस्तो लाग्थ्यो । एकातिर पुने म ट्रायलमा पास गर्न सक्छु भन्ने विश्वास थियो । अर्कोतिर विकास मल्ल, राजु तामाङ, चुनबहादुर थापालगायत दाइहरुले ‘तिमी राम्रो खेलाडी भयौं भने आर्मीमा पनि खेल्न पाइन्छ भन्नुहुन्थ्यो । घरपरिवारबाट पनि विदेश छाडिदेऊ, आर्मीमै ट्राइ गर भन्ने आयो । र, मैले पुने एफसीको ट्रायल छाडेर आर्मीको परीक्षा रोजे ।

अहिले हेर्दा आर्मीमा आएर सही गरेछु जस्तो लाग्छ । आफूले फुटबल खेल्ने र आर्मीम्यान बन्ने दुबै सपना पुरा भएको छ । संगठनको सेवासुविधा पाएको छु नै, नियमित अभ्यास गर्न पाएको छु । अन्य क्लबमा ग्राउण्ड छैन । ट्रेनिङ गर्नै गाह्रो छ । मनाङ मर्स्याङ्दी र मछिन्द्र जस्ता क्लबसँग पनि ट्रेनिङ ग्राउण्ड छैन । तर हामीले त्यो समस्या भोग्नु परेको छैन, आफ्नै ग्राउण्ड पाएका छौं ।

आर्मीलाई लिग च्याम्पियन बनाउने लक्ष्य

आर्मीबाट खेल्न थालेको पनि ८ वर्ष भइसक्यो । कप्तानको ब्याच लगाएको पनि ४ वर्ष जति भइसक्यो । सेकेण्ड लफ्टन भएपछि आर्मीको आर्मब्याण्ड लगाएर खेलेँ । यो सिजन चाहिँ आर्मीलाई ए डिभिजन लिग च्याम्पियन बनाउने इच्छा छ ।

हुन त म एक्लैले चाहेर हुने होइन, फुटबल भनेकै टिम गेम हो । तर टिमको एदस्य र कप्तानको रुपमा कसरी हुन्छ टिमलाई च्याम्पियन बनाउने धोको छ । किनकी आर्मीले लिग खेल्न थालेको भइसके पनि लिग जित्न सकेको छैन । त्यसैले व्यवस्थापन, कोचिङ स्टाफले पनि लिग जितेको हेर्न चाहेको छ, यसमा खेलाडीहरुमा पनि कमिटमेन्ट छ । अझै छ खेल बाँकी छ, के हुन्छ हेरौं ।

राष्ट्रिय टिम डेब्युमै गोल

यो भयो क्लब फुटकलको कुरा । मेरो राष्ट्रिय टिमको डेब्यु निकै यादगार छ ।

फुटबलर भए पनि राष्ट्रिय टिमबाट खेल्ने रहर स्वाभाविक हो । कतिको पूरा होला, कतिको नहोला । मेरो हकमा यू–१९ बाट खेलिरहँदा नै राष्ट्रिय टिममा बोलाइयो । त्यसबेला मसँगै विराज महर्जन, किरण चेम्जोङ, विकास सिंह क्षेत्रीलाई पाकिस्तानविरुद्ध हुने खेलका लागि राष्ट्रिय टिममा बोलाइएको थियो ।

यो २००८ को कुरा हो । पोखरामा पाकिस्तानविरुद्ध दुई खेल थियो । पहिलो खेलकै शुरुमै मलाई मैदान प्रवेश गराइयो । सुरुमा त डर पनि लागेको थियो, तर मैदान पस्नेबित्तिकै मेरो पहिलो टचमै गोल भयो । किपरले पन्च गरेको बलमा मैले हेडिङ हानेँ, गोल भयो । राष्ट्रिय टिमको डेब्यू खेलमा नै डेब्यु गोल गर्न सफल भए । त्यसबेला म नेपालको राष्ट्रिय टिमबाट गोल गर्ने कान्छो खेलाडी समेत बनेको थिएँ । त्यतिबेला म १६ वर्ष केही दिनको थिएँ । मेरो रेकर्ड विमल घर्तीमगरले तोडे ।

त्यतिखेर अहिले जस्तो फेसबुक थिएन । समाचारमा आफ्नो नाम सुन्दा, घरबाट फोन आउँदा खुशी लाग्यो । त्यतिखेर पहिलो पटक स्टार भएको फिल भाथ्यो । तर अझ मेहनत गर्नुपर्छ र अझ धेरै गोल गर्न सक्छु भन्ने लागेको थियो ।

त्यसयता आर्मीमा ट्रेनिङ पर्दा वा घाइते भएको बेलाबाहेक निरन्तर राष्ट्रिय टिममै खेलिरहेको छु ।

२०१३ मा नेपालमा साफ च्याम्पियनसिप हुनुअघि म क्याडेट ट्रेनिङ गरिरहेको थिएँ । नेपाली टिम विदेश ट्रेनिङमा गयो, म भने आर्मीमै ट्रेनिङका कारण जान सकिनँ । तर कोचले विश्वास गरेर खेलाउनुभयो र पहिलो खेलमै गोल पनि गरेँ ।

अहिले भइरहेको विश्वकप क्वालिफायर अन्तर्गत शुरुवाती खेल हुँदा पनि म आर्मीको कोर्स गर्न थाइल्याण्ड गएको थिएँ । त्यसैले गर्दा राष्ट्रिय टिमको खेल छुट्यो । तर अहिले टिममा फर्किसकेको छु । जे भइरहेको छ, राम्रोकै लागि भइरहेको छ ।

जोर्डनविरुद्ध त्यो गोल

स्ट्राइकर भइसकेपछि गोल गरेको हरेक क्षण सम्झनलायक नै हुन्छ । मैले राष्ट्रिय टिमबाट १० गोल गरेँ । त्यो सबै गोल याद छ । तर एकदमै विशेष गोल जोर्डनविरुद्ध थियो ।

जोर्डन फिफा वरियतामा हामी भन्दा निकै माथि र एसियाकै राम्रो टिम हो । त्यसमाथि उसकै घरेलु मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो । खेल दशरथ रंगशालामा भयो । त्यो दिन सिमसिमे पानी परिरहेको थियो । रंगशाला दर्शकले भरिएको थियो । रंगशालामा दर्शक भरिएपछि त्यसै उर्जा आउँछ ।

त्यो दिन पनि त्यस्तै अनुभव भएको थियो हामीलाई । तर खेलमा नेपाल एक गोलले पछि पर्‍यो । म एक गोलले पछि पर्दा म मैदान छिरेँ । सन्तोष दाइले क्रस गर्नुभयो, मैले स्पिडमा आएर लेफ्ट फुटले गोल गरेँ । त्यसपछि मलाई अर्को पटक स्टार भएको फिल भाथ्यो ।

आफ्नो फुटबल करियरको कथा भन्दै गर्दा नर्थन मारियाविरुद्ध गरेको ह्याट्रिक पनि सम्झनलायक छ । किनकी ह्याट्रिक गर्ने खेलाडी नेपालमा निकै कम छन् ।

१३ गोलको कीर्तिमान तोड्ने लक्ष्य

हरि खड्का र निराजन दाइले नेपालको लागि सर्वाधिक १३ गोल गर्नु भएको छ ।

मैले २ वर्ष क्याडेट ट्रेनिङ गर्दा केही प्रतियोगिता गुमाएँ । यसका बाबजुद १० गोल गरेको छु । मैले रेगुलर खेल्न पाएको भएँ मैले पनि यो रेकर्ड भेट्टाउँथे जस्तो लाग्छ । तर केही छैन, उहाँहरुको कीर्तिमान तोड्छु भन्ने आत्मविश्वास छ ।

त्यसअघि मेरो अर्को लक्ष्य पनि छ, ए डिभिजन लिगमा ५० गोल ।

राष्ट्रिय लिगलगायत सबै जोड्यो भने ७० हाराहारी छ । तर ए डिभिजन लिगमा मात्र गणना हुँदा मेरो गोल ४७ भएछ । यही सिजन ५० गोल पु‍र्‍याउने लक्ष्य छ । त्यसपछि १०० गोल बारे पनि सोचौला । मलाई यो पनि थाहा छ, १०० गोल अहिले धेरै टाढै छ, कठिन त छ नै । तर पनि कोसिस जारी छ ।

यति मात्र होइन, अहिले जुनियर भाइहरुले ३/४ वटा ट्रफी जितेका छन् । मैले सोलिडारिटी कप एउटा मात्र जितेको छु । त्यसैले अब आउने साफ च्याम्पियनमा नेपाललाई उपाधि दिलाउन र सर्वाधिक १३ गोलको कीर्तिमान तोड्न चाहन्छु ।

अहिलेसम्म मैले ३ वटा साफ च्याम्पियनसिप खेलेँ । तीन वटैमा हामी सेमिफाइनलमा पराजित भएका छौं । २०११ मा भारतमा भएको साफमा हामी अफगानिस्तानसँग १-० ले हा‍र्‍यौं । त्यसको दुई वर्षपछि नेपालमा भएको प्रतियोगितामा पनि हामी अफगानिस्तानसँगै हार्‍यौं । २०१५ मा भने म टिममा थिइनँ । पछिल्लो पटक बंगलादेशमा भएको संस्करणमा पनि नेपाल सेमिफाइनलमै चुक्यो । सेमिफाइनल कट्न सकेको छैनौं । त्यो जिङ्क तोड्दै अब आउँदो साफमा ट्रफी नै उचाल्ने तरिकाले तयार भएर लाग्नुपर्छ ।

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृङ्खला ‘मेरो कथा’को ७० औं अंकमा यो हप्ता फुटबल खेलाडी  भरत खवासको कथा ।)

प्रस्तुति : गोविन्‍दराज नेपाल

तस्वीर र भिडियो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment