१२ मंसिर, काठमाडौं । बसिर अहमदले सानदार ब्याटिङ गर्दै अविजित ६२ रन बनाएपछि विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
विराटनगरको जितमा बसिर नायक बने । एक समय ६५-५ को स्थितीमा रहेको विराटनगरलाई बसिरले जितसम्म पुर्याउने क्रममा धैर्य भएर ब्याटिङ गरे । उनले ४३ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ६२ रन जोडे ।
२०औं ओभरको पाँचौ बलमा नन्दन यादवलाई छक्का प्रहार गर्दै उनले विराटनगरको जित पक्का गरेका थिए ।
बसिरले छैटौं विकेटका लागि नारायण जोशीसँग महत्वपूर्ण ६९ रनको साझेदारी गरेका थिए । नारायणले १६ बमला २ चौका र १ छक्का प्रहार गर्दै २५ रन योगदान गरे ।
बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले समान दुई/दुई विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले प्रियांक पान्चलको अर्धशतक मद्दतमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो ।
ओपनर पान्चलले ४७ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६३ रन बनाए । उनको यस सिजन यो दोस्रो अर्धशतक हो ।
पहिलो खेलमा उनले चितवनविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । बोसिस्टोले ४८ बल खेल्दा २ चौका प्रहार गरे ।
गुल्सन झाले २० रन जोडे । नजिबुल्लाह जद्रान १० रनमा अविजित रहे । मार्क वाट ६ रनमा आउट भए ।
बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले एक/एक विकेट लिए ।
प्रतिक्रिया 4