Comments Add Comment

आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफ क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा

९ माघ, काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफ पाँचौं क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले आर्मीलाई ३-० सेटमा हरायो । सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको एपीएफले पहिलो र दोस्रो सेट समान २५-२२ ले जित्दै २-० को अग्रता बनाएको थियो ।

तेस्रो सेटमा आर्मीले २२-१७ ले अग्रता लियो । तर एपीएफले उत्कृष्ट पुनरागमन गर्दै लगातार ७ अंक जोडेर २४-२२ को अग्रता बनायो । त्यसपछि आर्मीले लगतार दुई अंक ल्याएर २४-२४ को बराबरी अवस्थामा पुर्‍यायो । तर टेक अवस्थीले स्पाईक र ब्लकबाट एक-एक अंक ल्याएपछि एपीएफले ट्राईब्रेकरमा तेस्रो सेट २६-२४ ले जित्दै फाइनल पुग्यो ।

क्लब भलिबल च्याम्पियनसिपमा आर्मी फाइनलअघि सोझो सेटमा पराजित भएको यो पहिलो पटक हो ।

राष्ट्रिय टिमका ७ तथा राष्ट्रिय टिमबाट यसअघि खेलेका ४ सहित ११ खेलाडी टिममा भए पनि आर्मीको रिसिभ कमजोर हुँदा हार बेहोर्न पुग्यो । एपीएफमा राष्ट्रिय टिमका २ खेलाडी मात्र छन् ।

एपीएफका प्रशिक्षक महेश चौधरीले रिसिभ राम्रो भएकाले खेल जित्न सफल भएको बताए । तेस्रो सेट हार्छ कि जस्तो लागे पनि खेलाडीले उत्कृष्ट पुनरागमन गरेको भन्दै उनले प्रशंसा गरे ।

उनले आर्मीको रिसिभ कमजोर भएकाले आफूहरुलाई फाइदा भएको पनि बताए । फाइनलमा जुन टिम आए पनि उपाधि जित्नका लागि खेल्ने उनले बताए । दोस्रो सेमिफाइनल नेपाल पुलिस र हेल्प नेपालबीच हुँदैछ ।

महिलातर्फ पनि एपीएफको टिम फाइनलमा पुगेको छ । उसले उपाधिका लागि न्यू डायमण्डसंग खेल्नेछ । सेमिफाइनलमा एपिएफले नेपाल पुलिस तथा न्यू डायमण्डले त्रिभुवन आर्मीलाई समान ३-० को सेटमा हराएको थियो ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भइरहेको प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ११ टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल खेल शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment