Comments Add Comment

कोरोना भाइरसले चीनमा २५ को ज्यान लियो, १७७ गम्भीर बिरामी

नयाँ वर्षको चहलपहलले संक्रमण बढाउने चिन्ता

संक्रमणबाट जोगिन मास्क लगाएका चिनियाँ । चीनको संक्रमित क्षेत्रमा मास्क अनिवार्य गरिएको छ ।

१० माघ, काठमाडौं । कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा बढेर २५ पुगेको हो ।

कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन् ।

चीनको नेसनल हेल्थ कमिसनका अनुसार कारोना भाइरस संक्रमित १ सय ७७ जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये ३४ जना भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।

ज्यान गुमाउने अधिकांश हुवेईका रहेको बीबीसीले जनाएको छ ।

संक्रमण थप फैलने चिन्ता

कोरोना भाइरसले विश्वव्यापी रूप लिनसक्ने चिन्ता व्यक्त भइरहेका बेला यसको नियन्त्रण चीनका लागि टाउको दुखाइको विषय बन्दै जान थालेको छ ।

भाइरसको संक्रमण थप फैलन नदिन चीन सरकारले वुहानलगायतका क्षेत्रको हवाई र सवारी यातायात सञ्चालनमा रोक लगाएको छ । उसले नजिकिँदो नयाँ वर्षमा संक्रमित क्षेत्रका मानिसलाई घरबाट ननिस्कन र बाहिरका मानिसलाई संक्रमित क्षेत्र नजान भनेको छ ।

यद्यपि, संक्रिमत राज्यमध्येको एक हुवेईका लाखौं मानिसहरू चिनियाँ नयाँ वर्ष मनाउन निस्किने तयारीमा जुटेको बीबीसीले जनाएको छ ।

बेइजिङ र हङकङले भने नयाँ वर्ष मनाउनका लागि तय गरिएका केही ठूला कार्यक्रमहरू रद्द गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment