Comments Add Comment

सोलु करिडोरको साढे २३ मेगावाट विद्युत बिकेन

१० माघ, विराटनगर । सोलु करिडोर क्षेत्रमा १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा उत्पादन भएको विद्युत खेर गएको छ । सोलु करिडोरमा २३.५ मेगावाटको सोलु हाइड्रो पावरको गत कात्तिकमा नै निर्माण सम्पन्न भएको थियो । आन्तरिक रुपमा परीक्षण उत्पादन गरेको उक्त जलविद्युत आयोजनाले प्रसारण लाइन नहुँदा विद्युत बिक्री गर्न पाएको छैन ।

‘हामीले निर्माण सकेर परीक्षण पनि सफल ग¥यौं’ आयोजनाका कार्यकारी निर्देशक शशीसागर राजभण्डारी भन्छन् ‘तर प्रसारण लाइन नभएका कारण बिक्री गर्न समस्या छ ।’
राजभण्डारीका अनुसार सोलु करिडोरमा अन्य जलविद्युत आयोजना पनि निर्माणाधीन छन् । ८२ मेगावाटको तल्लो सोलु हाइड्रोको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । तर विद्युत प्राधिकरणले प्रसारणलाइन विस्तारमा ढिलाइ गर्दा निर्माणमा पनि असर परेको छ ।

उत्पादन भएर पनि विद्युत बिक्री नहुँदा सोलु करिडोरको आयोजनामा सेयर लगानी गर्ने सर्वसाधारण निराश भएका स्थानीय राजकुमार प्रधानले बताए । उनका अनुसार स्थानीयले ३० हजारदेखि ३ लाख रुपैयाँ प्रमोटर सेयर मार्फत लगानी गरेका छन् ।

सोलुखुम्बुको सोलु र दूधकोशीमा साना ठूला गरी १० वटा जलविद्युत आयोजना निर्माणाधीन छन् । २०६२–६३ सालमा उर्जा संकट घोषणा गरी सरकारले ‘सुपर ६’ परियोजना अन्तर्गत सोलुमा दुईवटा आयोजना निर्माणका लागि अनुमति दिएको थियो । तर प्रशारण लाइन निर्माणमा भएको ढिलाइले ‘सुपर ६’ अन्तरगत निर्माण भएको आयोजनाकै विद्युत खेर गएको स्थानीय राजकुमार प्रधानले बताए ।

ग्रामीण विद्युतीकरण भएन, उपभोक्ता अँध्यारोमै

सोलु हाइड्रो र तल्लो सोलु हाइड्रोको अति प्रभावित क्षेत्रमा साल्मे गाउँ छ । तर ग्रामीण विद्युतीकरण नहुँदा दुई आयोजनाको बीचमा रहेका स्थानीय अँध्यारोमा बसिरहेका छन् । साल्मे मात्र होइन आसपासका गाउँ पनि विद्युतविहीन छन् । सोलुमा ठूला आयोजना बने पनि स्थानीयले विद्युत उपभोग गर्न नपाएको स्थानीय राजकुमार प्रधान बताउँछन् । ‘प्रसारण लाइन निर्माणमा ढिला हुँदा प्रधिकरणले ग्रामीण विद्युतीकरण गर्नपर्थ्यो ’ उनी भन्छन् ।

जलविद्युत आयोजना निर्माण भएर पनि विद्यत उपभोग गर्न नपाएका स्थानीयले गत शनिबार दुधकुण्ड गाउँपालिका १– तिङ्लामा प्रदर्शन गरेका थिए । ग्रामीण विद्युतीकरणको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयले १६ वटा मोटरसाइकल र एउटा जिपमा आगजनी गरेका थिए । आगजनीका क्रममा स्थानीयबासी र प्रहरीबीच झडप पनि भएको थियो । झडपमा चार प्रहरी घाइते भएका थिए ।

सोलुका लागि विकल्प ३३ केभी, अप्रिलमा निर्माण सक्ने लक्ष्य

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी १३२ केभी प्रसारण लाइन निर्माण पूरा नभएसम्मका लागि सोलु हाइड्रोले उत्पादन गरेको विद्युत ३३ केभी प्रसारणलाइनमा जोड्ने तयारी भएको बताउँछन् ।
सोलु हाइड्रोसँग तत्कालका लागि बैकल्पिक मार्ग प्रयोग गर्ने सहमति भएको उनले बताए ।

सोलु हाइड्रोका कार्यकारी निर्देशक राजभण्डारी प्राधिकरणबाट १३२ केभी प्रसारणलाइन निर्माण नभएसम्म उत्पादन भएको मध्ये केही विद्युत ३३ केभी मार्फत लैजाने आश्वासन पाएको बताए । सोलु, ओखलढुंगा, उदयपुर हुँदै ३३ केभी प्रसारणलाइन राष्ट्रिय प्रसारणलाइनको ग्रिडमा जोडिने छ । आगामी अप्रिलसम्म निर्माणाधीन प्रशारणलाइनको काम सक्ने लक्ष्य राखिएको प्रवक्ता अधिकारीले बताए ।

सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युतलाई सोलुखुम्बू, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेकोलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको छ ।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुुँदै सोलुखुम्बूको तिङ्लासम्म ९० किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको हो । नेपाल सरकार र एक्जिम बैंक अफ इण्डियाको लागतमा मोहन इनर्जी लिमिटेड इण्डियाले प्रशारण लाइन निर्माणको ठेक्का लिएर काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment