Comments Add Comment

मनाङ्गेको पिटाइ खाने मिलनका पनि बदमासी उत्तिकै

१० माघ, पोखरा । प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा पक्राउ परे । त्यसको दुई दिनपछि कुटाई खाने गुरुङलाई पनि प्रहरीले पक्रेको छ

झट्ट सुन्दा घटनाका पीडितसमेत पक्राउ पर्नु अनौठो लाग्छ । तर, मिलनलाई प्रहरीले समातेको अर्कै कुटपिटमा हो । उनले मनाङ्गेको पिटाइ खाएको दुई दिनअघि मात्रै पोखराका एक व्यवसायीलाई कुटेका थिए । त्योबाहेक मिलनले एन्फा जिल्ला अध्यक्षका रुपमा गरेका बदमाशीको फेहरिस्त पनि कम लामो छैन ।

पोखराका भण्डारढिकमा जारी पहिलो मुख्यमन्त्री कपमा खेलाडीलाई वेवास्ता गरेको र कमजोर व्यवस्थापन गरेको आरोप लगाउँदै सांसद गुरुङ मिलनमाथि जाइलागेका थिए । यसरी हात छोड्नु मनाङ्गेको गल्ति हो, तर उनले मिलनमाथि लगाएका आरोपहरु एक हदसम्म सही छन् । प्रतियोगिताको व्यवस्थापन अस्तव्यस्त र भद्रगोल नै थियो ।

मनाङ्गेमाथि जोहरी दिने गुरुङ निकै विवादित व्यक्ति हुन् । ०७४ माघ २ बाट एन्फा कास्की अध्यक्षमा उनी निर्वाचित भएका थिए । हाल गण्डकी प्रदेशको एन्फा उपाध्यक्ष र जारी मुख्यमन्त्री कपको कोषाध्यक्षसमेत हुन् । अश्लिल गालीगलौजसहित जोसुकैसँग जाइलाग्ने र पिटपाट पारिहाल्ने उनको बानीबाट एन्फा पदाधिकारीसमेत आजित छन् ।

यो पनि पढ्नुस्–माननीय भए पनि मनाङ्गेको मति उस्तै

‘उनको यो पुरानो बानी हो । अध्यक्ष भएर पनि सबै कारोबार आफैं गर्न खोज्छन्, हामी त नाम मात्रैका पदाधिकारी हौं,’ एन्फा कास्कीका एक पदाधिकारीले भने, ‘उनी एन्फाको बैंक पनि आफैं, खाता पनि आफैं र चेक पनि आफैं हुन् । उनले कार्यक्रम गर्ने तर, पैसा समयमै भुक्तानी नगर्दा एन्फा कास्कीकै शाख गिरेको छ ।’

पोखरामा भइरहेको मुख्यमन्त्री कप माघ ४ गतेबाट हुनुपर्ने थियो । तर एकल निर्णयमा उनले ७ गतेलदाई सारे । टाइसिट बनाउँदासमेत कुनै पनि जिल्लाका प्रतिनिधिलाई नबोलाएको आरोप उनीमाथि छ । सोही आरोपमा सांसद राजीव गुरुङले मुड्की उज्याएका हुन् ।

व्यवसायीलाई ढुंगा हान्ने प्रयास

सांसद मनाङेको पिटाइ खाएको २ दिनअघिमात्रै गुरुङको एक व्यवसायीसँग लफडा भएको थियो । नयाँबजारस्थित पोखरा क्रियटिभ एवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेलले आफ्नो बक्यौता रकम माग गर्दा गुरुङले हातपात मात्रै होइन, ढुंगा प्रहार गर्नसमेत खोजेको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमो पसल सञ्चालक पौडेललाई धक्काउँदै ढुंगा प्रहार गर्न खोज्दा तेस्रो व्यक्तिले रोकेको प्रष्ट देखिन्छ । पसलमै आएर आफूमाथि हातपात गरेपछि पौडेलले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठाडो उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा गुरुङ पक्राउ परेका हुन् ।

१ वर्षअघि एन्फा कास्कीले गरेको मनकामना केबलकार कपमा पौडेलसँग एन्फाले उधारो कारोवार गरेको थियो । त्यसमध्ये करिब १० लाख रुपैयाँ अझै एन्फाले नदिएको पौडेलको भनाइ छ ।

सांसदसँग झगडा

गत १३ औं सागअन्तर्गत पोखरामा भएको खेलमा स्थानीय व्यवस्थापन समिति सदस्य तथा गण्डकी प्रदेश विधायन समिति सभापति रहेका मोहन रेग्मीसँग गुरुङको रंगशालामै झगडा परेको थियो । त्यतिबेला उनी सांसद रेग्मीले आफूलाई कुकुरको हड्डी सम्झेको भन्दै जंगिएका थिए ।

‘हामीलाई कुकुरको हड्डी सम्झेको हो ?’ उनले झगडा गर्दै भनेका थिए, ‘हाम्रो यहाँ काम छैन ? तपाईं यहाँ बढार्न सक्नुहुन्छ ? ल कुचो लगाउनुस् ।’

विवाद बढ्दै गएपछि उनीहरुलाई साग सुरक्षामा खटिएका प्रहरीले नै छुट्याउनु परेको थियो । सागमा खटिएका स्वयंसेवकमाथि समेत उनले अपशब्द बोल्दै दुर्व्यवहार गरेको सार्वजनिक भइसकेको छ ।

हिसाबकिताब हिनामिना

अघिल्लो वर्षको गत माघ २७ गते सकिएको मनकामना कपको पुरस्कार अझै उधारो भएको भन्दै एन्फा कास्कीकिो चर्को आलोचना भएको थियो । खेल सकिएको करिब ४ महिनासम्म विजेता र उपविजेताले मिडिया गुहारेपछि मात्रै पुरस्कारवापतको रकम पाएका थिए ।

यो पनि पढ्नुस्–म रावणतिर परें, झापड हान्दा मज्जा लाग्छ : दीपक मनाङ्गे

सोही कपका बेला खेलाडीले आवासका लागि प्रयोग गरेका होटल तथा भौतिक पूर्वाधार प्रयोग गरेवापत तिर्नुपर्ने रकम अझै एन्फाले नतिरेको होटल सञ्चालकले बताएका छन् । सांसद दीपक मनाङ्गेले समेत पत्रकार सम्मेलनमै गुरुङले दिएको बाउन्स चेकको नमुना देखाएका थिए ।

गुण्डागर्दीको शैलीमा उपस्थित हुने गुरुङ बुधबारको पत्रकार सम्मेलनमा पनि आक्रामक देखिएका थिए । ‘मिलन गुरुङलाई कसैले केही गर्न सक्दैन’ भन्दै कराएका उनलाई पत्रकारले सोधे, राजीवविरुद्ध उजुरी दिइन्छ त ?

उनले जवाफ दिए, ‘मिलन गुरुङ पछि हट्दैन । जहाँ जानुपरे पनि जान्छु । त्यसलाई (मनाङे) लाई हान्न नसक्ने हो र ? सांसद भनेर पो मान दिएको हो ।’

तर, त्यसरी गर्जिएको दुई दिनपछि नै उनी आफैं खोरमा पुगेका छन् ।

मिलन गुरुङ पीडित एक व्यवसायी एन्फा कास्की अध्यक्ष मिलन गुरुङ र प्रशिक्षक कृष्ण थापाले २ हप्ताभित्र बक्यौता रकम चुक्ता गर्ने वाचा गरेको बताउँछन् ।

‘यो कुरा बाहिर मिडियामा नल्याइदिनुस्, तपाईंका पैसा आउने बित्तिकै फर्स्ट लटमा दिन्छौं भन्नुभा’छ,’ नाम नबताउने सर्तमा ती व्यवसायीले भने, ‘१५ दिनसम्म कुर्छु । त्यसपछि पनि बाँकी रहेको पैसा पाएन भने कानुनी रुपमै जान्छु ।’

उनले संस्थाबाट करिब २ लाख रुपैयाँ पाउन बाँकी रहेको सुनाए । एन्फाले बक्यौता रकम राखेका अन्य व्यवसायी भने उनीविरुद्ध बोल्न हिच्किचाए ।

‘भोलि पैसा उहाँबाटै ल्याउने हो । आज बोलेर तलमाथि भयो भने के गर्ने ?’ उनीहरुले प्रतिप्रश्न गरे, ‘विस्तारै दिन्छु भन्नु भएको छ । दिनुहोला नि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment