Comments Add Comment

माननीय भए पनि मनाङ्गेको मति उस्तै

हामी मनाङ्वासीको लागि इज्जत ठूलो कुरा हो : दीपक मनाङ्गे

८ माघ, पोखरा । नेपालीमा एउटा उखान छ, केजातीको पुच्छर १२ वर्ष ढुंग्रोमा हाले पनि बाङ्गाको बाङ्दै । गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गेमाथि यही उखान चरितार्थ भएको छ ।

सोमबार मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकर्ता पङ्तिलाई ‘कसैलाई पनि तँ नभन्न’ उर्दी जारी गरेका थिए । त्यसको भोलिपल्ट नेकपाकै सांसद दिपक मनाङ्गेले कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका छन् ।

पोखराको भण्ढारढिकमा मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनको तयारी भइरहेका बेला मनाङ्गेले गुरुङमाथि हात उठाएका हुन् । हातपातपछि मनाङेले एन्फामा भ्रष्टाचार मौलाएको र आफूले व्यक्तिमाथि नभइ प्रवृत्तिमाथि प्रहार गरेको प्रतिक्रिया दिएका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिता माघ ५ गतेबाट सुरु हुने तालिका थियो । तर एन्फाले निरन्तर वषर्ाको कारण देखाउँदै माघ ७ गते दिउँसो १ बजेलाई सारेको थियो ।

प्रदेश सांसद मनाङ्गे उद्घाटनको केही समयअघि कार्यक्रमस्थल पुगेका थिए । त्यहाँ पुगेपछि सीधै उनी गुरुङसँग बाझ्न थाले । त्यही क्रममा उनले गुरुङमाथि हात हालेको प्रत्यक्षदर्शीहरु बताउँछन् । कुटपिटपछि उनी मञ्चमा गएनन् र प्यारापिटबाटै फर्किए ।

प्रतियोगिताका लागि मनाङबाट डाँफे लालीगँरास युवा क्लबलाई माघ १ गते नै पोखरा आएको थियो । ४ गते हुने खेलका लागि १ गते नै पोखरा आएको टोलीको आवास तथा यायायातको सुविधा नमिलाएको र खेल मिति सारिँदा पनि जानकारी नदिएको भन्दै एन्फा मनाङको टोली आयोजकसँग रुष्ट छन् ।

पहिले पिटे, पछि पिटिए

एन्फा अध्यक्ष गुरुङ आफैंमा विवादित व्यक्ति हुन् । केही दिनअघि गुरुङले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेलमाथि हातपात गरेका थिए । एन्फा कास्की अध्यक्षले आफूमाथि हातपात गरेको भन्दै हाउसका सञ्चालक पौडेलले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठाडो उजुरी दिइसकेका छन् ।

गुरुङले भने तोकिएभन्दा बढी मूल्यमा सामान बेचिरहेको र त्यसबारे कुरा राख्दा पसल धनी पौडेलले आइलाग्न खोजेपछि आफूले प्रतिवाद मात्र गरेको बताएका छन् ।

पौडेलले भने गत वर्ष एन्फाले नै सञ्चालन गर्ने मनकामना केबुलकार कपको करिब १२ लाख रुपैयाँ बक्यौता रहेको र उक्त रकम माग गर्दा आफूमाथि जाइलागेको बताएका छन् । अध्यक्ष मिलन गुरुङविरुद्ध उजुरी परेपछि प्रहरीले घटनाको छानबिन भइरहेको जनाएको छ ।

एन्फा कास्की अध्यक्ष गुरुङले हालै १३औं दक्षिण एसियाली खेदकुद -साग) अन्तर्गत पोखरामा भएको खेलमा पनि प्रदेश सांसद मोहन रेग्मीसँग झगडा गरेका थिए । सागमा खटिएका प्रहरीले नै उनीहरुलाई छुट्याउनु परेको थियो । एन्फा कास्कीले गर्दै आइरहेको मनकामना केबुलकार कपमा पनि हिसाबकिताब नदेखाएको र १ वर्षसम्म हिसाब बक्यौता राखेको भन्दै गुरुङ विवादमा तानिदै आएका छन् ।

हात फर्काउन सक्थें, तर सम्हालिएँ : गुरुङ

मंगलबार खेल सुरु हुनुअघि सांसद मनाङ्गेले ‘नियोजित’ रुपमै आफूमाथि हातपात गर्न आएको गुरुङको आरोप छ । ‘गेटबाट छिर्ने बित्तिकै दाइ र उहाँको पिए भिडियो खिच्दै आए । पिए रक्सीले गन्हाइरहेको थियो,’ उनले भने, ‘अनि एक्कासी होटल, ग्राउन्ड किन नमिलाएको भनेर मुक्का र लात्ता हान्न थाल्नु भयो ।’

आफूले पनि हात फर्काउन सक्ने तर, सांसदको पदको मर्यादा राखेर संयमित भएको उनको भनाइ छ । ‘उहाँजस्तो सांसद कास्कीमा धेरै छन् । कसैले यस्तो दुर्व्यवहार गरेका छैनन्,’ उनले भने, ‘अरु सांसदको इज्जत राख्नु पर्छ भनेर म एक्सनमा गइनँ । मुख्यमन्त्री कप पनि भाँड्नु भएन नि !’

यो पनि पढ्नुहोस दीपक मनाङ्गेविरुद्ध एन्फा कास्की अध्यक्षले दिए प्रहरीमा जाहेरी

उनले मनाङ्गेविरुद्ध अभद्र ब्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।

गण्डकीमा पहिलो पटक भइरहेको मुख्यमन्त्री कपका लागि प्रदेशले ४० लाख आर्थिक सहयोग गरेको छ । पहिलो चरणमा २० लाख र दोस्रो चरणमा २० लाख गरी पैसा पाउने प्रदेशसँग सहमति भएको एन्फा कास्की अध्यक्ष गुरुङले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए । खेलमा ११ जिल्लाका ९ टिम सहभागी छन् ।

मनाङ्गे भन्छन् : म यहाँ नभएको भए के हुन्थ्यो ?

कुटपिटका विषयमा प्रश्न गर्दा अनलाइनखबरलाई मनाङ्गेले दिएको जवाफ जस्ताको तस्तै –

हाम्रो मनाङ यहाँका अरु जिल्लाजस्तो सजिलो छैन । मनाङबाट प्रतियोगितामा भाग लिन कास्की आएको १ हप्ता भइसकेको छ ।

पोखरा आएको यत्तिका दिन भइसक्दा पनि एन्फाबाट कसैले सम्पर्क गरेन । उनीहरुसँग हामीले पैसा मागेका पनि छैनौं । तर फुटबल खेल्न मैदान त दिनुपर्‍यो नि होइन ?

मनाङका एन्फा अध्यक्षले मिलनलाई फोन गरेको ४ दिन भइसक्यो रे ! तपाईंहरुले कल डिटेल चेक गर्न सक्नुहुन्छ । खेल सुरु हुने दिनमा मात्रै एन्फा कास्कीबाट फोन आयो । यत्रो दिनसम्म केटाहरु कहाँ खाने, कहाँ बस्ने केही टुंगो छैन ।

प्रतियोगिताको नाम मुख्यमन्त्रीसँग जोडिदिएका छन् । मुख्यमन्त्री कप भन्ने बित्तिकै हामी विश्वास गरेर गाउँबाट आएका हौं । यस्तो ढाँट्छन् भन्ने त हामीलाई लागेको थिएन । म यहीबेला पोखरामा थिएँ र राम्रो भयो । म नभएको भए उनीहरु बर्बाद हुने रहेछन् नि ! कहाँ सुत्ने ? कहाँ खाने ? खेलाडीमाथि जोक गर्‍याजस्तो भो ।

फिफाबाट पैसा लिने, खाने, चोर्ने । अर्को मिस्टेक, यिनीहरुले खेल ५ गतेबाट ७ गते सारे । हामीलाई २/३ गते इन्र्फम गर्नुपथ्र्यो नि त । आफैं बसेर सारेछन् ।

टाइसिट निकाल्दा पनि नियमपूर्वक भएको छैन । प्रत्येक जिल्लाका एन्फाका अध्यक्षहरु बसेर निकाल्ने हो । तर केही खबर गरेनन् । राम्रो टिमलाई एक ठाउँमा र नराम्रो टिमलाई एक ठाउँमा पारेका छन् । मुख्यमन्त्रीलाई पनि ढाँटिराखेका छन् । मुख्यमन्त्री भनेको आज पृथ्वीसुब्बा गुरुङ होला, भोलि कोही रामे आउला, श्यामे आउला ! नाम चेन्ज भएर मतलब भएन । मुख्यमन्त्री पद ठूलो हो ।

अर्को कुरा यिनीहरुले मुख्यमन्त्री कप भण्डारढिकमा लगेर खेलाए । यति टाढा बसेको खेलाडीलाई आउनेजाने सुविधा दिनुपर्छ कि नाइँ ? खेलाडीलाई अहिलेसम्म कहाँ सुत्ने थाहा छैन । होटल बुक गरेर आफैं बसिराख्या छौं । मेरो जिल्लाका युवा ८/९ घण्टा हिँडेर आएको छ । जोक गर्न मिल्छ भन्या ?

यो मिलन गुरुङ कास्कीको (एन्फा) अध्यक्ष रहेछ । एन्फाकै अध्यक्ष कर्माछिरिङसँग मिलेर पैसा खाइराछन् । तपाईंहरुलाई समाचार चाहिन्छ । यस्तो न्युज निकाल्नुस्, नेपालीलाई मजा आवोस् ।

भगवान कसम हामी मनाङेमा इज्जतको कुरा ठूलो हुन्छ । त्यो हामीले आफ्नै पैसा हालेर पनि गर्न सक्छौं । तर, खेल्ने, ट्रेनिङ गर्ने ठाउँ दिनु परेन र ? डिआइजी कार्यालयमा खेल्ने रे । के हो त्यो भन्या ? कागजपत्र माग्दैन हामीसँग ? पत्र पनि दिएको छैन । कल डिटेल चेक गर्न सक्नुहुन्छ । यसले कुनै पनि फोन उठाएको छैन । यसकोे बोस कर्माछिरिङ शेर्पा नै नामुद घुस्याहा हो ।

को हुन् मनाङ्गे ?

राजीव गुरुङ, एक समय दीपक मनाङ्गे नामले चिनिएका कुख्यात गुण्डा हुन् । वि. सं. २०६१ सालमा अर्का गुण्डानाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा उनलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।

काठमाडौं जिल्ला अदालतले २०६१ सालमा मनाङेलाई २ वर्ष जेल सजायको आदेश गर्‍यो । जिल्लाको फैसलामा चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले तत्कालीन पुनरावेदन अदालत पाटनमा सरकारका तर्फबाट पुनरावेदन गर्‍यो । पुनरावेदन अदालत पाटनले २०६९ सालमा जिल्ला अदालतको फैसला बदल्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने आदेश गरेको थियो । अन्य चार प्रतिवादी हकमा जिल्ला अदालतको आदेश नै सदर गरेको थियो ।

अर्थात् उनीहरुले सफाइ पाएका थिए । सरकारले पुनरावेदनको फैसलामा पुनः चित्त नबुझाउँदै चार प्रतिवादीविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्‍यो । सोही मुद्दामा सर्वोच्चले २०७४ माघ २ गते फैसला सुनायो ।

यो पनि पढ्नुहोस म रावणतिर परें, झापड हान्दा मज्जा लाग्छ : दीपक मनाङ्गे

यो फैसलापछि मनाङेको कैद बाँकी रहेको खुल्यो । त्यसबेला मनाङ्गेले मनाङ प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । उनलाई नेकपा -तत्कालीन वाम गठबन्धनमा एमाले)ले अनौपचारिक रुपमा समर्थन गरेको थियो ।

तर सपथ लिनु अगाडि नै सर्वोच्चको फैसला आएपछि फरार भए । वैशाख २०७५ मा पत्रलाउ गरेका उनले फैसला पुनरावेदनका लागि सर्वोच्चमा निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि सर्वोच्चले तारेखमा छाड्न डिल्लीबजार कारागारलाई आदेश दिएको थियो । जेलबाट छुटेपछि उनले सपथका लागि निवेदन दिए । उनी नेकपा प्रवेश गर्ने सहमतिपछि सपथ लिए ।

२०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट उनले सांसदको सपथ खाएका हुन् । उनलाई गत असार १९ मा नेकपा प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीमा भित्र्याएका छन् । गुण्डागर्दीको समयमा नेपाली कांग्रेसको तरुण दलमा आबद्ध राजीव गुरुङ नेकपा प्रवेश गर्नु अगाडि राप्रपामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment