Comments Add Comment

४ महिनापछि प्रतिनिधिसभाले आज सभामुख पाउँदै

१२ माघ, काठमाडौं । गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ । सभामुखका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुँदैछन् ।

संघीय संसद् सचिवालयका अनुसार, सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे बैठक आह्वान गरिएको छ ।

ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै सापकोटाका प्रस्तावक र बोल्न समय दिनेछन् । प्रस्तावक र समर्थकले आफ्ना भनाइ राखेपछि ठाकुरले एकल उम्मेदवारी परेकाले सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गर्नेछन् ।

सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै अर्को बैठक पनि बस्नेछ । दोस्रो बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्ने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागे लगत्तै कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा गत असोजदेखि सभामुखविहीन छ । सत्तारूढ नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा प्रतिनिधिसभा बन्धक बनेको थियो । लामो गलफतीबीच नेकपाले सापकोटालाई अघि सारेसँगै सभामुख चयन प्रक्रिया अघि बढेको हो ।

यद्यपि, हत्या अभियोग लागेका व्यक्तिलाई सभामुख उम्मेदवार बनाइएको भन्दै विरोधसमेत भइरहेको छ । वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले सापकोटाविरुद्ध सर्वोच्चमा हालेको रिटमा आजै सुनुवाइ हुँदैछ ।

सभामुख चयन सकिएलगत्तै अब उपसभामुखका लागि पनि निर्वाचन हुनेछ । शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख रिक्त छ । सभामुख र उपसभामुख फरक राजनीतिक दलबाट हुनुपर्ने प्रावधान भएकाले उपसभामुख भने नेकपाबाहेकका दलबाट चयन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment