
१२ माघ, बुटवल । मानव सेवा आश्रमको प्रदेश स्तरीय भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन आश्रमले बुटवलमा महायज्ञ गर्ने भएको छ ।
यही माघ २० गतेदेखि २७ गतेसम्म सुख्खानगरको भाटभटेनी चोकमा महायज्ञ सञ्चालन गर्न लागेको आश्रमले जनाएको छ ।
आठ दिनसम्म चल्ने महायज्ञबाट सात करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ । भवन निर्माणका लागि बुटवल उपमहानगरपालिका-७ हिलपार्क परिसरमा चारकठ््ठा जग्गा व्यवस्थापन भइसकेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।
दुई सय जना सहयोगापेक्षी बेसहारालाई सेवा दिन मिल्ने गरी कम्तीमा ५० कोठासहितको सुविधासम्पन्न चारतले भवन बनाउने तयारी आश्रमको छ ।
बुटवल उपमहानगरपालिका बेसहारा र सहयोगापेक्षी सडकमानवमुक्त घोषणा भइसकेको सन्दर्भमा सेवाको स्थायित्वका लागि भवन निर्माण र आश्रतिहरुको भरणपोषणका लागि अक्षयकोष पनि स्थापना गर्ने महायज्ञको उद्देश्य रहेको उनले बताए ।
लिफ्ट सुविधासहित बन्ने उक्त भवन अपांग र बालमैत्री हुने छ । प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा २५ लाख रुपैयाँ दिएको छ ।
भवन बनाउन ११ करोड रुपैयां लागत लाग्ने तर आर्थिक श्रोत नभएकाले रकम संकलन गर्न महायज्ञ आयोजना गरिएको महायज्ञका मूल संयोजक लोकनाथ भुसालले बताए ।
अन्य महायज्ञ भन्दा मानवीय सेवा र परोपकारी भावनाले आयोजना गरिएकाले सबै क्षेत्रबाट सहयोग आउने अपेक्षा गरिएको संयोजक भुसालले बताए । ‘घर-परिवारको संरक्षण र अभिभावकत्व अभावमा सडकमा बस्न बाध्य बेसहारा, अशक्त, अपांगहरुको मानवोचित व्यववस्थापनको पवित्र उद्देश्यले महायज्ञ गर्न लागेका हौं,’ आश्रमका अध्यक्ष अधिकारीले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘देशभित्र र विदेशमा बस्ने नेपालीबाट फराकिलो छाती बनाएर सहयोग जुट्ने हाम्रो विश्वास छ ।’
महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित,गुरुहरूको सामूहिक उपस्थिति,राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शनलगायतका कार्यक्रमहरु रहने छन् ।
महायज्ञ सम्पन्न गर्न लोकनाथ भुसालको संयोजकत्वमा एक हजार एक सय एघार सदस्यीय मूल समिति र २८ वटा उपसमितिहरु गठन गरी तयारीका कामहरु अगाडि बढाएको मूल आयोजक समितिका सचिव गुनाराम घिमिरेले बताए ।
महायज्ञमा दान गर्ने दानवीरलाई महायज्ञमै सम्मान,फोटोसहितको विवरण स्मारिकामा प्रकाशन र भवनको शिलालेख, ताम्रपत्रमा नाम लेखिने र अभिनन्दन गरिने सचिव घिमिरले बताए ।
०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका दुईहजार तीन सय बढी बेसहारा सडक मानवको उद्धार गरी मानवोचित व्यवस्थापन गराइसकेको छ ।
आश्रमले सातवटै प्रदेशमा गरी १४ जिल्लामा उन्नाइस वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ । बुटवलमा आश्रमले भाडाको घरमा १३० जना बेसहारालाई व्यवस्थापन गर्दै आएको र पाँच सय बढी सडक मानवको उद्धार गरेको आश्रमकी प्रदेश संयोजक सुशीला केसीले बताइन् ।
प्रतिक्रिया 4