Comments Add Comment

‘निष्पक्ष भूमिका नै सभामुख सापकोटाको चुनौती’

१२ माघ, काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासामु व्यवस्थापिकालाई निष्पक्ष बनाउने चुनौती रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभाले सापकोटालाई सभामुख चयन गरेपछि बाहिर पत्रकारलाई प्रतिक्रिया दिँदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना विषयमा भएका आलोचनालाई ध्यान दिएर संसद अगाडि बढाउन सापकोटालाई आग्रह गरे । नेताहरुमा आलोचना सहने बानी नरहेको बताउँदै उनले सापकोटालाई आफ्नो योग्यता र क्षमता पुष्टि गर्ने समय आएको र यसको सदुपयोग गर्न आग्रह गरे ।

‘प्रतिपक्षका केही आशंका छन् । ती आशंका पनि उहाँले पदीय जिम्मेवारी सम्हाल्ने क्रममा नै ध्यानमा राख्नुहुनेछ र समाजमा देखिएका सामाजिक सञ्जालमा देखिएका कुराहरुलाई उहाँले ध्यान दिनुहुनेछ’ नेपाललले भने ‘हाम्रो बानी आलोचना नसहने छ । त्यो कुरामा उहाँले ध्यान पुर्‍याउनुपर्छ ।’

नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालले सभामुख चयन भएपछि संसदमा नयाँ विधेयक पारित हुने र संविधान राम्ररी कार्यान्वयनको दिशातिर जाने बताए । तीन दशकसम्म शिक्षण पेशा अंगाल्नुभएका व्यक्ति सभामुखमा निर्वाचित भएको बताउदै नेता खनालले ३ पटक संसद, २ पटक मन्त्री बनिसकेको व्यक्तिले सभामुख राम्ररी चलाउन सक्ने बताए ।

‘सांसद हुने योग्यता नै सभामुख हुने योग्यता हो । यसमाथि तीन दशक शिक्षक भएर आउनुभयो । तीन पटक निर्वाचित भएर आउनुभयो । २ पटक मन्त्री हुनुभएको छ । यति लामो अनुभव भएको मान्छेले पनि सभामुख चलाउन सकेन भने कसले चलाउँछ’ नेता खनालले प्रश्न गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले निष्पक्ष रुपमा सदन सञ्चालन गर्ने चुनौती सभामुख सापकोटासामु रहेको बताए । सापकोटाले चाहेको खण्डमा निष्पक्ष रुपमा सदन सञ्चालन हुने उल्लेख गर्दै भट्टराईले लामो समय शिक्षण पेशमा रहेका सापकोटा बौद्धिक व्यक्तित्व भएको धारणा राखे ।

जनयुद्धमा परिवारले निकै त्याग र बलिदान गरेकाले पनि सभामुखका लागि सापकोटा उपयुक्त पात्र भएको भट्टराईको भनाइ छ । ‘निष्पक्ष रुपमा सभालाई कसरी अगाडि बढाउनुहुन्छ भन्ने मुख्य चुनौती हो । उहाँले चाहनुभयो भने सक्नुहुन्छ’ भट्टराईले भने ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सभामुख चयन भएपछि ठीक ढंगले संसद सञ्चालन हुनेमा आशा व्यक्त गरे । सभामुखले संसद प्रतिपक्षी दलको हुन्छ भन्ने विषय बुझ्न सक्ने पनि उनले बतनाए । ‘सत्तापक्षको सरकार हुन्छ भने प्रतिपक्षको संसद हुन्छ भन्ने विषयलाई उहाँले बुझ्नुहुन्छ भन्ने अपेक्षा छ । प्रतिपक्ष दललाई जनताका समस्या राख्न दिने र सरकारलाई संसदप्रति उत्तरदायी बनाउने कामममा सहयोग हुने अपेक्षा लिएका छौं’ उनले भने ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदको नेता सर्वसम्मत हुनु राम्रो भएको बताए । सभामुख कुनै एक पार्टीको प्रतिनिधि नभएर संसदको प्रतिनिधि भएर काम गर्नुपर्ने सुझाव उनले सुझाव दिए । ‘सभामुख भएपछि कुनै एक पार्टीको मात्रै प्रतिनिधि नभएर संसदकै प्रतिनिधिको रुपमा गाम्भीर्यताको रुपमा निष्पक्षता साथ निर्भिकताका समथ भूमिका खेल्लुपर्छ भन्ने आश लिएका छौ’, उनले भने ।

यो पनि पढ्नुहोस तटस्थ भएर संसदको गरिमा कायम राख्छु : सभामुख सापकोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment