Comments Add Comment

कोरोना भाइरस : संक्रमण रोक्न नेपालमा के-के गरिँदैछ ?

१२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले चीनबाट नेपाल आएका एक जना अमेरिकी नागरिकलाई कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल पठाएको छ ।

चीन ट्रान्जिट बनाएर नेपाल आएका उनलाई विमानमै ज्वरो आएकाले थप परीक्षणका लागि अस्पताल पठाइएको हो । विमानस्थल स्रोतले भन्यो, ‘चीनमा तीन घण्टामात्रै बिताएका रहेछन् । तर विमानस्थलमा स्क्रिनिङ गर्दा ज्वरो आएको पाइएपछि टेकु पठाएका हौं ।’

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेको छ, जहाँ शुक्रबारदेखि थर्मल स्क्यानर मेसिन जडान गरिएको  थियाे।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को समन्वयमा ल्याइएको यो मेसिन सञ्चालनमा आएपछि अब सबै विमानका यात्रुहरु अध्यागमनमा जानुअघि नै ज्वोरो नाप हुन्छ । यसअघि चीन, थाइल्याण्ड, जापान र कोरियाबाट आएका शंकास्पद यात्रुको मात्रै स्वास्थ्य परीक्षण हुन्थ्यो ।

विमानस्थल हेल्थ डेस्कमा कार्यरत एक कर्मचारीकाअनुसार थर्मल स्क्यानरले सबै हवाई यात्रुको फेस अटोमेटिक रूपमा डिटेक्ट गरी ज्वरो परीक्षण गर्छ । हेल्थ डेस्कका एक कर्मचारीले भने, ‘यो मेसिन आएपछि ५ सय जनासम्म यात्रुलाई एकै पटक स्क्रिनिङ गर्न मिल्छ ।’

चीनमा डिसेम्बर ३१ मा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण अहिले दर्जन बढी मुलुकमा फैलिसकेको छ भने चीनमा मात्रै ५६ जनाको ज्यान गइसकेको छ । २००० जना भन्दा बढीमा संक्रमण भएको पाइएको छ ।

प्रधानमन्त्रीको निर्देशन

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई आइतबार बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले आइतबार आकस्मिक रुपमा कोरोना भाइरसबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्ने निर्णय गरेको थियो । मन्त्रालयले वीर, शिक्षण, पाटन र निजामती अस्पताललाई ‘आइसोलेसन वार्ड’ बनाएर तीन दिनभित्र योजना पेस गर्न निर्देशन दिएको छ । त्यसैगरी, उपत्यका बाहिरका केन्द्रीय अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन भनिएको छ ।

सर्तक बसौं, आतंकित नबनौं

जनस्वास्थ्य वैज्ञानिक डाक्टर समीरमणि दीक्षितकाअनुसार, कोरोनाको संक्रमण छिटो सरिरहेको छ, तर रोगले मृत्यु निम्त्याउने क्षमता सार्स र मेर्सभन्दा निकै कम देखिन्छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा पनि रोग लागेका र मृत्यु भएकाको अनुपात ४ प्रतिशत भएको उल्लेख छ । यसको मतलब १०० जना संक्रमित भएकामा ४ जनाको मृत्यु हुनसक्छ । कोरोनालाई तुलनात्मक रुपमा कमजोर भाइरस भएको बताउँदै डाक्टर दीक्षित भन्छन्, ‘यो भाइरस लागेर मृत्यु हुनेहरु विशेषगरी दीर्घरोग लागेकाहरु र ७० वर्षमाथिका छन् । १५ दिनसम्म भाइरसको संक्रमण हुँदा पनि बाँच्नेहरु छन् ।’

विश्व स्वास्थ्य संगठनकाअनुसार, यसअघि सार्स र मेर्समा देखिएको मृत्युको अनुपात क्रमशः १५ प्रतिशत र करिब ४० प्रतिशत थियो । यसैगरी, इन्फ्लुएन्जा ए, एच ५ एन १ (एभियन  फ्लू) मा यो अनुपात करिब ६५ प्रतिशत थियो भने इन्फ्लुयन्जा ए, एच १ एन १ मा एक प्रतिशतभन्दा पनि कम । यो तथ्याकंले पनि अन्य दीर्घरोग नबोकेका मानिसहरु कोरोनाबाट धेरै डराउनु नपर्ने देखाउँछ ।

विश्वस्वास्थ्य संगठनको तथ्याकंलाई उदाहरण दिँदै दीक्षित भन्छन्, ‘हाल देखिएको कोरोना भाइरसलाई सार्स र मेर्सभन्दा कमजोर भन्न मिल्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले हेल्थ इमर्जेन्सी घोषणा गरेको छैन ।’

शक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग केन्द्रका डाक्टर शेरबहादुर पुन पनि अहिलेको स्थितिमा कोरोना भाइरससँग डराउनु नपर्ने बताउँछन् । अधिकांश अवस्थामा कोरोना भाइरसविरुद्ध मानव शरीरको आफ्नै जैविक प्रतिरोध क्षमता लड्नसक्छ । तर एचआईभी, डायबिटिज, मृगौलालगायतका दीर्घ रोग भएकाहरु तथा बाल र वृद्धहरुले विशेष सावधानी अपनाउनुपर्छ । ‘हामी चिकित्सकहरु परामर्श दिन र जाँच गर्न तयार छौं, विमानस्थलमा स्क्रिनिङ भइरहेको छ’, डाक्टर पुन भन्छन्, ‘कोरोना भाइरस लाग्नासाथ मृत्यु हुने पनि होइन । त्यसैले सर्तक बसौं, आतंकित नबनौं ।’

थप दुई जनामा संक्रमणको आशंका

नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित एक जना भेटिएका छन् । आज आइतबार थप दुई जनालाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।

अस्पताल स्रोतकाअनुसार कोरोनाको आशंका गरिएका पुरुष २८ वर्ष र महिला ४८ वर्षका छन् । टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनबाट फर्किएका थिए ।

ती महिला चीनमा आयोजित एक कार्यक्रमबाट फर्केकी थिइन् भने पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए । उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि कोरोना संक्रमण भए/नभएबारे यकिन हुने स्रोतले बताएको छ ।

यही हप्ताभित्र जनस्वास्थ्य प्रयोगशालामा परीक्षण

कोरोनाप्रति सतर्कता अपनाउन थालिएको भए पनि संकमण भए/नभएको पत्ता लगाउन भने कठिनाइ भइरहेको छ ।

गत वैशाखमा बर्डफ्लूको कारण एक युवाको मृत्यु हुदाँ स्वास्थ्य मन्त्रालयले एक महिनापछि मात्रै थाहा पाएको थियो । नेपालमा बर्डफ्लू परीक्षण गर्न किट नभएकै कारण युवकको मृत्युको कारण पत्ता लगाउन एक महिना कुर्नु परेको थियो । बर्डफ्लूको आशंकामा अस्पताल पुगेका ती युवकको नमूना हङकङ पठाइएको थियो । हङकङको ल्याबले बर्डफ्लू पुष्टि गरेपछि मात्रै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

यो पटक पनि त्यही समस्या दोहोरिएको छ । कोरोना संक्रमणको आशंकामा अस्पताल पुगेका बिरामी तीन दिन बसेर डिस्चार्ज भएपछि मात्र उनलाई संक्रमण भएको पुष्टि भयो । अब अस्पतालबाट बाहिर रहेका उनीबाट अरुलाई पनि संक्रमण फैलिएको हुनसक्ने चिन्ता बढेको छ ।

तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डाक्टर रुना झा भने आकस्मिक देखिने नयाँ भाइरस परीक्षण गर्ने किट सधैं उपलब्ध नहुने बताउँछिन् । उनका अनुसार, सरकारले यही साता कोरोना भाइरसको परीक्षण गर्न सकिने किट ल्याउने तयारी गरिरहेको छ । भन्छिन्, ‘विश्व स्वास्थ्य संगठनको पहलमा हामीले यही साताभित्र किट ल्याइसक्छौं, तर भेरिफाइ गर्न विदेशी ल्याबमा पनि पठाउनुपर्ने हुन्छ ।’

सीमा नाकामा पनि कडाइ

यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले चिनियाँ अधिकारीसँग कोरोना भाइरसको संकमणबारे छलफल गरेका छन् ।

नेपाल र चीनको सीमानाका टिम्मुरेमा भएको छलफलमा तीन वटा समझदारी भएको प्रजिअ भण्डारीले जानकारी दिए । उनकाअनुसार रसुवा नाकामा नेपाल र चीन दुवैतर्फबाट हेल्थ डेस्क स्थापना गरिएको छ । चीनबाट नेपाल आउने तथा नेपालबाट चीन जाने कोही पनि व्यक्तिमा भाइरसको शंका लागे दुवै पक्षले तुरुन्तै त्यहीँ रोक्ने र नजिक पर्ने अस्पताल पठाउने तय भएको छ ।

त्यसैगरी भाइरस संक्रमण बाक्लिँदै गयो भने सीमाका साथै राजमार्गमा अस्थायी चेक पोष्ट बनाएर चेकजाँच बाक्लो बनाउने सहमति पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment