Comments Add Comment

उपाधि होडबाट बाहिरियो थ्रीस्टार

प्रशिक्षक भन्छन् - अब सुपर सिक्सका लागि खेल्छौं

बल खोस्न सं‌घर्ष गर्दै मछिन्द्र (सेतो) र थ्रीस्टारका खेलाडी ।

१३ माघ, काठमाडौं । मछिन्द्र क्लबसँग पराजित भएसँगै थ्रीस्टार क्लब शहीद स्मारक ए डिभिजन लिगको उपाधि होडबाट बाहिरिएको छ । सोमबार थ्रीस्टार मछिन्‍द्रसँग २-० ले पराजित भयो ।

मछिन्‍द्रको जीतमा रेजिन सुब्बाले ३७ औं र विशाल राई बी ले ९० औं मिनेटमा गोल गरे । हारपछि थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले आफूहरु उपाधि होडबाट बाहिरिएको बताए । हारपछि चौथो स्थानमा रहेको थ्रीस्टारले पहिलो स्थानमा रहेको मछिन्द्र भन्दा ५ अंक पछि परेको छ । १४ अंकमात्र जोडेको उसले अब ४ खेलमात्र खेल्‍न बाँकी छ ।

‘गेम राम्रो खेलेको हो दुबै टिमले । तर हाम्रो गेम अनुसारको स्कोर भएन । मुभ मछिन्द्रले पनि बनाएन । स्कोर मात्रै निस्कियो’ केसीले भने  ‘टिमको प्रदर्शन बाट खुसी छु । अब टाइटलबाट बाहिर भयौं ।’

केसीले अब अबको दिनमा यस्तै प्रदर्शन गर्न सके राम्रो नतिजा आउने र अब सुपर सिक्सका लागि खेल्ने बताए । ‘यही प्रदर्शनले अब सुपर सिक्सको लागि खेल्छौ । यही प्रदर्शन भए अबका दिनमा राम्रो हुन्छ ।’

जीतपछि शीर्ष स्थानमा पुगेको मछिन्द्रले ९ खेलबाट १९ अंक जोडेको छ । उसले भन्दा एक खेल कम खेलेको त्रिभुवन आर्मीको १७ र मनाङ मर्स्याङ्दीको १६ अंक छ ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले सोचेजस्तो प्रदर्शन भएकोले जित हात पारेको बताए । ‘सोचेजस्तो प्रदर्शन भयो । जित्ने भनेर आएका थियौ । जित्यौं । अहिलेसम्मको खेलकै राम्रो प्रदर्शन भयो ।’

३ अंक प्राप्त गरेपछि कटुवाल खुशी देखिए । उनले फिट खेलाडीलाई नै प्राथमिकता दिएर खेलाएको बताए ।  ‘जो फिटमा छ त्यसलाई स्थान दिएका हौं, त्यही भएर बिराज (महर्जन) बेन्चमा भएको हो ।’ प्रशिक्षक कटुवालले विराजको सट्टा विजय धिमाललाई खेलाएका थिए । विजय राम्रो खेलाडी भएको र अनुसाशित भएर समेत उनले बताए ।

कटुवालले आजको जितले उपाधि रेसमा कायम रहेको बताए ।

 ए डिभिजन छाडेर अभिषेक माल्दिभ्सतिर

मछिन्द्रले यस सिजन उपाधि जित्ने लक्ष्यसाथ नाम चलेका खेलाडी भेला पारेको थियो । पहिलो खेलपछि नै मिडफिल्डर हेमन गुरुङ अष्ट्रेलिया लागे । यो क्रम नवौं चरणमा दोहोरिएको छ। राष्ट्रिय टिमका समेत फरवार्ड रहेका अभिषेक रिजाल नेपालमा ए डिभिजन छाडेर माल्दिभ्समा बी डिभिजन लिग खेल्न गएका छन् । थ्रीस्टार विरुद्धको खेलअघि उनी त्यता गएका हुन् ।

अभिषेककै आग्रहमा क्लबले उनलाई छाडेको बताए । ‘एक महिनाको कन्ट्र्याकमा गएको हो । उसले आग्रह गरेकोले क्लबले रिलिज दिएको हो । निकै लामो डिसिजनपछि क्लबले पनि बुझेर  रिलिज दिएका हौं’ कटुवालले भने ।

गत सिजन नेपाल पुलिसबाट ए डिभिजन लिग खेलेका अभिषेक यस सिजन मछिन्द्रबाट लिग खेलेका हुन् । उनी एएफसी कप खेल्ने मनाङ मर्स्याङ्दी क्लबसमेत पुगेका थिए । यस सिजन ८ खेल खेल्दा पनि उनले गोल गर्न सकेका थिएनन् ।

लिगअघि नेपालमै भएको १३ औं सागमा नेपाल यू २३ टिमले स्वर्ण जित्दा अभिषेकले कप्तान सुजल श्रेष्ठसंगै सर्वाधिक ३ गोल गरेका थिए । तर लिगमा भने उनले त्यो प्रदर्शन दोहोर्‍याउन सकेनन् । उपाधि जित्ने लक्ष्य राखेको मछिन्द्रलाई अभिषेक नहुँदा असर भने पर्ने प्रशिक्षक कटवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment