Comments Add Comment

इपीएल : पृथु पोखरामा, अमृत भट्टराई काठमाडौंमा

काठमाडौं । पृथु बास्कोटाले एभरेष्ट प्रिमियर लिग (इपीएल) २०२० पोखरा राइनोजबाट खेल्ने भएका छन् ।  सहभागी फ्रेन्चाइजले खेलाडी रिलिज र रिटेन गर्दा पृथुलाई चितवन टाइगर्सले रिलिज गरेको थियो । उनै पृथुलाई पोखराले ७५ हजार रुपैयाँमा अनुबन्ध गरेको हो ।

यस्तै पोखराले रित गौतमलाई १ लाख २० हजार रुपैयाँमा अनुबन्ध गरेको छ भने विवेक कुमार यादवलाई ६० हजार र विपिन रावललाई ५० हजार रुपैयाँमा त्रिभ्याएको छ । चारै खेलाडी पहिलो चरणको बिडिङबाट पोखराले लिएको हो ।

यस्तै पहिलो चरणमा विराटनगर वारियर्सले तीन खेलाडीलाई लिएको छ । वारियर्सले अनिल खरेललाई १ लाख २७ हजार, विक्रम कुमार भुषाललाई १ लाख १७ हजार र सौरभ खनालाई १ लाख ७ हजार रुपैयाँमा अनुबन्ध गरेको छ ।

काठमाडौं किंग्स ११ ले पनि तीन खेलाडीलाई पहिलो चरणको बिडिङबाट लिएको छ । काठमाडौंले शेर मल्ललाई ८६ हजार  तथा अमृत भट्टराई र दिपेन्द्र रावतलाई समान ५१ हजार रुपैयाँमा अनुबन्ध गरेको छ ।

भैरहवा ग्लाडिएटर्सले विकास आग्रीलाई ५० हजार रुपैयाँमा अनुबन्ध गरेको छ । चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सले पहिलो चरणमा कुनै खेलाडी लिएन ।

दोस्रो चरणमा भैरहवाले हिमांशु दत्तलाई ५५ हजार रुपैयाँमा अन्बन्ध गर्दा चितवनले खडक बोहरालाई ५० हजार रुपैयाँमा अनुबन्ध गरेको छ । बाँकी चार टिमले दोस्रो चरणमा कुनै खेलाडी अनुबन्ध गरेन ।

त्यसअघि पोखरा र काठमाडौंसँगै विराटनगर सारियर्सले सर्वाधिक ३ खेलाडी रिलिज समेत गरेको छ । पोखराले राजेश पुलामी मगर, सौरभ खनाल र सुबेन्द्र पाण्डेलाई रिलिज गरेको हो । त्यसको सट्टा चार खेलाडी भित्र्याएको हो । पोखराले यसअघि नै सन्यास लिएका शक्ति गौचनको स्थानमा लोकेश बामलाई अनुबन्ध गरिसकेको छ ।

काठमाडौं किंग्स ११ ले सिद्धान्त लोहनी, विक्रम कुमार भुषाल र पुरन विश्वकर्मालाई रिलिज गरेको छ । विराटनगर वारियर्सले पुष्प थापा, विनोद लामा र रोविन क्षेत्रीलाई तथा भैरहवा ग्लाडिएटर्सले प्रकाश केसी र भुपेन्द्र थापा क्षेत्री तथा रिलिज गरेको छ ।

साविक विजेता ललित पुर प्याट्रिओट्सले भने कुनै खेलाडी रिलिज गरेको छैन । तर यसअघि नै स्टार स्पिनर सन्दीप लामिछाने ट्रेडमार्फत ललितपुरबाट काठमाडौंमा अनुबन्ध भएका छन् । यस पटक आयोजकले खेलाडी ट्रेडको नयाँ नियम समेत ल्याएको थियो । जसअनुसार काठमाडौंका सोमपाल कामी चितवन पुग्दा चितवनबाट दीपेन्द्र सिंह ऐरी काठमाडौं आएका छन् ।

यस्तै विदेशी खेलाडीको कोटामा ललितपुरले श्रीलंकन ओपनर उपुल थरंगालाई अनुबन्ध गरेको छ । भैरहवा ग्लाडिएटर्सले वेष्ट इन्डिजका ड्वाने स्मिथलाई अनुबन्ध गरेको छ । दक्षिण अफ्रिकाका पूर्व कप्तान हासिम अमलाले पनि इपीएल खेल्ने यसअघि नै सार्वजनिक भइसकेको छ । तर उनले कुन टिमबाट खेल्ने पक्का भएको छैन ।  इपीएप २०२० मार्च १४ देखि २८ तारिखसम्म कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment