Comments Add Comment

चितवन अदालतको फैसला : प्रहरीसँग विवाद गर्दैमा अभद्र व्यवहार हुँदैन

१४ माघ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारीसँग विवाद गरेकै कारण गायिका आस्था राउतमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा लाग्यो र प्रहरी हिरासतमा पुगिन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि चार दिन थुनामा राख्न अनुमति दियो । तर चौतर्फी आलोचना भएपछि भोलपल्टै प्रशासनले ४ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्‍यो ।

राउत छुटेकै दिन जिल्ला अदालत चितवनले एउटा मुद्दामा प्रहरीसँग विवाद गरेकै कारण अभद्र व्यवहारको मुद्दा लगाउन नहुने फैसला सुनाएको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासको फैसलामा भनिएको छ, ‘…कुनै पनि व्यक्तिलाई जाहेरी र शंकाकै भरमा बाटोघाटो, सार्वजनिक स्थान, वा व्यक्ति रहे बसेको जुनसुकै स्थानमा जहीँ तहीँ आशंकाको भरमा प्रहरीबाट गरिने सोधपुछ र सोधपुछको नाममा गरिने अशिष्ट व्यवहारको प्रतिक्रियास्वरुप व्यक्तिले आफ्नो सफाइस्वरुप व्यक्त गरेको आवेशपूर्ण अभिव्यक्तिलाई अभद्र व्यवहारको अर्थ गरी नागरिकलाई सजाय भागी गराउनु न्याय र कानूनको दृष्टिबाट मिल्ने देखिँदैन ।’

कुटपीटको घटनाबारे सार्वजनिक ठाउँमा सोधपुछ गर्दा नवलपरासीका अर्जुन मल्ल ठकुरीले ड्युटीमा खटिएको प्रहरीसँग वादविवाद गरी हातपात समेत गर्न खोजी प्रहरीको काममा बाधा सिर्जना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले अभद्र व्यवहारको प्रतिवेदन तयार पारेको थियो । तर अदालतले प्रहरीको काममा बाधा अवरोध पुर्‍याएको भए मुलुकी फौजदारी संहिताको दफा ८५ अनुसार कारबाही गर्नुपर्नेमा अभद्र व्यवहार लगाउनु उपयुक्त नहुने समेत आदेशमा उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस प्रहरीमाथि प्रश्न : जे गर्दा पनि अभद्र व्यवहार ?

मुलुकी फौजदारी संहिताको दफा ८५मा राष्ट्रसेवक कर्मचारीको काममा बाधा गर्न नहुने र, गरेमा एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ ।

यस्तो छ घटना

२४ मंसिरमा चितवनस्थित भरतपुर महानगरपालिका ३ कमलनगरमा अर्जुन मल्ल ठकुरीले गोरखाका टेकबहादुर श्रीमललाई कुटपिट गरेका थिए । घटना भएको पाँच दिनपछि प्रहरीले ठकुरीलाई भरतपुर–२ मा भेटेपछि कुटपिटबारे सोधपुछ गर्‍यो ।

त्यसक्रममा ठकुरीले प्रंहरीसँग वादविवाद गरी हातपात गर्न खोजेको र काममा अवरोध गरी अभद्र व्यवहार गरेको भन्दै प्रहरी सहायक निरीक्षक धर्मराज पौडेलले अभद्र ब्यवहारको प्रतिवेदन तयार पारेका थिए । त्यस प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ठकुरीविरुद्ध जिल्ला अदालतमा अभद्र व्यवहार मुद्दा दायर गरेको थियो ।

तर अदालतले, आशंकाको भरमा प्रहरीले जहाँसुकै सोधपुछ गर्ने र त्यस क्रममा व्यक्तिले दिएको प्रतिक्रियालाई अभद्र व्यवहार भन्नु उपयुक्त नहुने फैसला सुनाएको छ ।

‘सार्वजनिक स्थानमा प्रहरीबाट मुद्दाको विषयलाई लिएर गरिएको सोधपुछका क्रममा प्रतिवादीले प्रतिक्रियास्वरुप व्यक्त गरेको आक्रोशपूर्ण अभिव्यक्तिले प्रहरीलाई पदीय कर्तव्य पालना गर्न अवरोध पु¥याएको भन्ने अवस्था पनि देखिएन’ फैसलामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment